Monday, September 30, 2024

-->

विदेशबाट फर्काइएका कलावस्तुः राष्ट्रिय संग्रहालयको प्रदर्शनीमा, उद्गमस्थल फर्काउनै कठिन

नेपालबाट हराएका मूर्ति पछिल्लो दशक धमाधम फिर्ता भए पनि कतिपयलाई उद्गमस्थल पुर्‍याउन सकिएको छैन। राष्ट्रिय संग्रहालयमा राखिँदै आएका ५९ कलावस्तुको अहिले त्यहीँ अस्थायी रूपमा प्रदर्शनी गरिएको छ।

विदेशबाट फर्काइएका कलावस्तुः राष्ट्रिय संग्रहालयको प्रदर्शनीमा उद्गमस्थल फर्काउनै कठिन
तस्वीरहरू : प्रबिता/उकालो

काठमाडौँ– छाउनीस्थित राष्ट्रिय संग्रहालयको एउटा कोठालाई अस्थायी प्रदशर्नी कक्ष बनाइएको छ। कक्षको एक भागमा गत माघमा बेलायतबाट फर्किएको भैरवको एउटा मुकुण्डो राखिएको छ। यो मुकुण्डो भिमेश्वर–२, दोलखास्थित नोक्छे प्रधान गुठीको निजी सम्पत्ति हो। ६ महिनाअघि नेपाल फर्काइएको मुकुण्डो दोलखा लगिएको छैन। 

मुकुण्डो चाँडै उद्गम भूमि लैजाने तयारी भइरहेको संग्रहालय प्रमुख जयराम श्रेष्ठ बताउँछन्। उक्त मुकुण्डोसहित प्रस्तर, काष्ठ, धातु, ढलौटका अन्य ५८ मूर्ति, टुँडाललगायत कलावस्तु प्रदशर्नीमा छन्। यी सबै विदेशबाट फर्काइएका हुन्।

दशकौँअघि हराएका वा चोरिएका कलावस्तु नेपाल फर्काइँदा अस्थायी रूमा राष्ट्रिय संग्रहालयमा राखिने गरिएको छ। यी कलावस्तु आफ्नो उद्गम भूमिमा पुनर्स्थापना हुनुअघि कानूनी तथा सामाजिक प्रक्रिया पूर्ण नहुँदासम्म यहाँ राखिने संग्रहालय प्रमुख श्रेष्ठ बताउँछन्।

संग्रहालयका अवलोकनकर्ता सर्वसाधारण तथा सम्बन्धित गुठियारको ध्यानाकर्षणका लागि ती कलावस्तु अस्थायी प्रदर्शनीमा राखिएको हो। “डेढ वर्षअघि हामीले उक्त कक्षको अवधारणा ल्याएका थियौँ,” श्रेष्ठ भन्छन्, “छोटो समयका लागि खोलिएको कक्षलाई अवलोकनकर्ताबाट राम्रो प्रतिक्रिया आएपछि हालसम्म संचालन गरिरहेका हौँ।” 

प्रदर्शनी कक्ष २०८० फागुन १ गते खोलिएको हो। प्रदर्शनीमा अवैध तरिकाबाट देशबाहिर पुगेका मूर्ति कसरी, कस्तो परिस्थितिमा फिर्ता आउँछन्, फिर्ता प्रक्रिया कस्तो रहन्छ आदि जानकारीसमेत दिइन्छ। इच्छुक सम्बन्धित गुठियार, समुदाय, व्यक्ति, मठमन्दिरका अधिकारीले यी कलावस्तु उद्गमस्थल भएको प्रमाण जुटाएर पुनस्र्थापनका लागि लैजान सक्छन्।

“पहिले फोटो, लेख रचनामार्फत कलावस्तु उद्गम भूमिकै हो भन्ने प्रमाण हुनुपर्छ। त्यसका लागि वडा र सीडीओ कार्यालय हुँदैबाट पत्राचार हुनुपर्छ,” संग्रहालय प्रमुख श्रेष्ठ भन्छन्, “सम्बन्धित निकायमा आएको मागदाबीबारे पुरातत्व विभागले आवश्यक परेमा स्थलगत अध्ययन गर्छ।”

विभागको मूर्ति फिर्ताको लागि सिफारिस भएपछि कलावस्तु सुरक्षाको व्यवस्थाबारे निरीक्षण गर्ने र जानकारी लिने काम हुन्छ। त्यसपछि मात्र समुदायमा पुनर्स्थापनाका लागि पठाइन्छ।

पछिल्लो पटक गत वर्ष जेठ १९ मा दोलखाको कोर्छेमी परिवारलाई वज्रधरको मूर्ति हस्तान्तरण गरिएको थियो। दोलखाबाट चोरी भएको १६औँ शताब्दीको उक्त मूर्ति चीनको हङकङस्थित महावाणिज्यदूतावासबाट नेपाल फिर्ता ल्याइएको थियो। मूर्ति केही समय छाउनी संग्रहालयमा राखेर कोर्छेमी परिवारको प्रयासमा पुनः दोलखा लगिएको थियो।

अमेरिका, बेलायत, भारत, चीनलगायत विभिन्न देशबाट फिर्ता भएका करिब १३४ कलावस्तुमध्ये ५९ वटा प्रदशर्नीमा छन्। त्यस्तै, ६५ वटा संग्रहालयको भण्डारण कक्ष र तीन थान बौद्ध कलाशालामा र एउटा जुद्ध कलाशालामा छन्। बाँकी ६ वटा मूर्ति उद्गमस्थल फर्किएका छन्। 

व्रजधरको मूर्तिजस्तै पुनर्स्थापनामा रहेका कलावस्तुमा टंगालको हिटी (ढुंगेधारा)मा पुनर्स्थापना गरिएको उमामहेश्वरको मूर्ति, इटुमबहालबाट चोरी भएको गन्धर्वको काष्ठकला, यम्पी महाविहारको तोरण, इटुम्बहालमा मेट्रोपोलिटन म्युजियम अफ आर्टबाट फेला परेको सालभंजिका टुँडाल तथा ललितपुरको भिन्छे बहालबाट चोरी भएको बुद्धको मूर्ति आ–आफ्नो उद्गमस्थलमा फिर्ता भएका छन्।

पुनर्स्थापनाको संघारमा रहेका मूर्ति
प्रदर्शनी कक्षको मध्यमा रहेकामध्ये सबैभन्दा चर्चा हुने फर्पिङको सरस्वती मूर्ति हो। दुई दशकअघि फर्केको उक्त मूर्ति अझै पनि समुदायमा फिर्ता जान सकेको छैन। स्थानीय तह र समुदायको समन्वयमा रहेको जटिलताका कारण मूर्ति उद्गमस्थल लैजान नसकिएको श्रेष्ठ बताउँछन्। अहिले मूर्तिको रेप्लिका बनाएर पूजा भइरहेको कारण पनि फिर्ता लगिएको छैन। 

दोलखाको नोक्छे प्रधान गुठीको भैरवको मुकुण्डो फिर्ता हुने प्रयासमा छ। यसका लागि उक्त गुठीले प्रक्रिया थालेको छ। यद्यपि, मुकुण्डो राख्ने द्येय छेः निर्माणको क्रममा रहँदा समयको लागिरहेको छ।

कक्षको एक कुनामा बुंगमतीबाट हराएका बुद्ध र श्रीधर विष्णुको मूर्ति छन्। यी मूर्ति चाँडै पुनर्स्थापना हुने तयारीमा छन्। बुद्धको मूर्ति अमेरिकाका फिल्म निर्देशकको बैठक कक्षमा पहिचान भएको थियो। ती निर्देशकले त्यो मूर्ति स्वेच्छाले फिर्ता गरेका हुन्।

श्रीधर विष्णुको मूर्ति आउँदो साउनमा पुनर्स्थापनाको तरखरमा रहेको स्थानीय अनिल तुलाधर बताउँछन्। यद्यपि संरक्षणको सवाल गम्भीर रहेको उनको भनाइ छ।

“पुनर्स्थापना त गर्ने तर मूर्तिलाई कसरी राख्ने भन्ने प्राविधिक पक्षको सहज उत्तर कसरी होला भन्ने लागिरहन्छ?” तुलाधर भन्छन्, “बुद्धको मूर्ति पुनर्स्थापनामा समस्या छैन तर श्रीधर विष्णुको मूर्तिलाई चैत्यमा राख्न समस्या छ। सडक विस्तार हुँदा पहिलाको ठाउँ मिचियो।” पुरातत्व विभागका प्राविधिक टोली अथवा पुनर्स्थापनासम्बन्धी विज्ञ व्यक्ति खटेमा समुदायमा मूर्ति फिर्ता ल्याउन सहज हुने उनी बताउँछन्।

“मूर्ति पुनर्स्थापनाको लागि प्राविधिक आधार नहुँदा चैत्यलाई फोड्नुपर्छ, जसको लागि क्षमा पूजा गर्नुपर्ने हुन्छ,” उनी भन्छन्। यसका लागि काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टका प्रमुख रोहित रञ्जितकारले सल्लाह दिएको उनले बताए।

ट्रस्ट प्रमुख रञ्जितकार पनि फिर्ता भएका मूर्ति भण्डारमा राख्नुभन्दा संग्रहालय मातहत प्रदर्शनीमा राख्नु राम्रो भएको बताउँछन्। उनी भन्छन्, “अवलोकनले पनि नेपालबाट चोरी भएर फिर्ता भएका मूर्तिबारे जानकारी हुन्छ। छलफल, बहसको विषय बन्न थाल्छ।”

यद्यपि, छाउनी संग्रहालयसम्म सबै अवलोकनकर्ता पुग्नेमा आशंका भएको कारण अन्य संग्रहालयमा पनि निश्चित अवधिका लागि प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ।

मूर्ति फिर्ता आएपछि समुदाय वा सरोकारवाला निकायमा उत्साह नदेखिँदा पुनर्स्थापनामा समस्या भएको श्रेष्ठको भनाइ छ। “देशको पहिचानको रूमा रहेका यस्ता कलावस्तुमा अपनत्वको भावना सम्बन्धित समुदायमा हुनुपर्छ,” संग्रहालय प्रमुख श्रेष्ठले भने।


भिडियो कथा


सम्बन्धित सामग्री