विश्वकप छनोट : यूएईविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्तले खेल गुमाउने

अभ्यासको क्रममा घुँडामा चोट लागेपछि अनुभवी डिफेन्डर अनन्त तामाङले यूएईविरुद्ध खेल गुमाउने एन्फाले जनाएको छ।

काठमाडौँ– फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो लेगमा यूएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो। 

टोलीमा अनुभवी डिफेन्डर अनन्त तामाङ भने हुने छैनन्। अभ्यासको क्रममा घुँडामा चोट लागेपछि उनले यूएईविरुद्ध खेल गुमाउने एन्फाले जनाएको छ।

टोलीमा गोलरक्षक किरणकुमार लिम्बु, दीप कार्की र अविषेक बराल रहेका छन्। डिफेन्डरमा शनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आषिश चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ रहेका छन्।

यस्तै, लाकेन लिम्बू, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्दाम्बे र निशान हमालले मिडफिल्ड सम्हाल्ने छन्। यस्तै, अन्जन विष्ट, आयुश घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सन्जीव विष्ट र राजेश परियारले फरवर्ड लाइन सम्हाल्ने छन्।

नेपालले कात्तिक ३० गते यूएईको घरेलु मैदानमा खेल्ने छ। यस्तै, मंसिर ५ गते नेपालले आफ्नो घरेलु मैदानमा यमनसँग पहिलो लेग खेल्ने छ।