Friday, July 05, 2024

-->

उत्तर प्रदेशको धार्मिक भेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

उत्तरी भारतमा एउटा हिन्दू धार्मिक भेलामा मंगलबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

उत्तर प्रदेशको धार्मिक भेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो
तस्वीर : एपी

उत्तरी भारतमा एउटा हिन्दू धार्मिक भेलामा मंगलबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ। अन्य धेरै घाइते भएको सरकारी अधिकारीले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको हाथरस शहरनजिकै आयोजित धार्मिक प्रवचनमा ठूलो भीड जम्मा भएको थियो। मानिसहरू प्रवचन स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीसँगै मानिसहरूको भागदौड शुरू भएको बताइएको छ।प्रसारित भिडियोमा भागाभागपछि कार्यक्रमका लागि निर्माण गरिएको अस्थायी टेन्टसहितका संरचना भत्किएको देखिन्छ। धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को लढेर र केही मानिसले भागदौडका क्रममा सडक किनारका नालीमा खसेर ज्यान गुमाएका थिए। 

उत्तर प्रदेशका वरिष्ठ प्रहरी अधिकारी शलभ माथुरले १०५ जनाको मृत्यु भएको र ८४ जना घाइते रहेको पुष्टि गरेको एपी न्युजले उल्लेख गरेको छ।

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला छन्। धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए।

शहरको शव गृहबाहिर कैयौँ व्यक्तिहरूले आफन्तजनहरूबारे जानकारी लिइरहेका थिए। “जब प्रवचन सकियो, सबै मानिस बाहिर भाग्न थाले”, शकुन्तला मात्र नाम बताउने एक महिलाले प्रेस ट्रस्ट अफ इन्डियालाई भनिन्, “मानिसहरू सडक किनारको नालीमा खसे, उनीहरू एकमाथि अर्को खस्न थाले र कुल्चिएर मृत्यु भयो।”

प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘दुःखद घटना’मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई ६ सय डलर क्षतिपूर्तिको घोषणा गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त गरेकी छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका आफन्तजनप्रति ‘समवेदना’ व्यक्त गरेको उनको कार्यालयले बताएको छ। 

भारतमा प्रमुख धार्मिक चाडपर्वका बेला पूजास्थलमा यस्ता घातक घटना दोहोरिने गरेका छन्। भारतमा धार्मिक समारोहमा  कमजोर भीड व्यवस्थापन र सुरक्षा त्रुटिका कारण यस्ता घातक घटना हुने गरेका हुन्।

सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोट हुँदा कम्तिमा ११२ जनाको मृत्यु भएको थियो। विस्फोटबाट कङ्क्रिटका भवनहरू भत्केका थिए र हजारौँ मानिस एकत्रित भएका केरला राज्यको एउटा हिन्दू मन्दिर परिसरमा आगो लागेको थियो । 

सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिरनजिकै पुलमा भागदौड मच्चिँदा ११५ श्रद्धालुको मृत्यु भएको थियो। उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो। 

सन् २००८ मा उत्तरी शहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा २२४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए।


सम्बन्धित सामग्री