Saturday, June 29, 2024

-->

कतारमा दुर्घटना: तोकियो क्षतिपूर्ति टुंगिएन प्रक्रिया, ह्विलचेयर फेर्न छैन पैसा

काम गर्दागर्दै डेढ टन सामानको बन्डलले थिचिएर अपांगता भएका डिल्लीलाई कतारको श्रम मन्त्रालयले झन्डै ५ लाख रियाल दिनुपर्ने सिफारिस गरे पनि त्यहाँको अदालती प्रक्रिया नटुंगिदा चार वर्षसम्म रकम पाएका छैनन्।

कतारमा दुर्घटना तोकियो क्षतिपूर्ति टुंगिएन प्रक्रिया ह्विलचेयर फेर्न छैन पैसा

झापा (गौरादह)- २०२० जुलाई ४। झापाका डिल्ली उप्रेती (२७) ले जीवनमा कहिल्यै नभुल्ने मिति हो यो।

उनले कतारको सनैयास्थित जे. प्लास्टिक उद्योगमा त्यो दिनको काम भर्खरै शुरू गरेका थिए। उनीसहित कम्पनीका सबै श्रमिक काममा तल्लीन हुँदै थिए। एकाएक माथिल्लो तलाबाट झरेको डेढ टन सामानको बन्डलले उप्रेतीलाई थिच्यो। उनी थचक्कै भए। उनको मेरुदण्ड मात्रै भाँचिएन, कम्मरमुनिको भाग पुरै जड बन्यो। 

त्यसपछि लगातार एक वर्षभन्दा बढी समय उपचारका लागि स्थानीय हमाद अस्पताल धाइरहे। दुई वर्षजति सनैयास्थित त्यही प्लास्टिक उद्योगको क्याम्पमा ओछ्यान परे। ‘स्पाइनल कर्ड एन्ज्युरी’ (एससीआई) र ‘पोली–ट्रमा’ सहित शारीरिक अशक्तताका विभिन्न तहगत परीक्षणपछि उनको कम्मरमुनिको भाग आजीवन हलचल गर्न नसक्ने रिपोर्ट आयो।

त्यस रिपोर्टका आधारमा कतारको स्वास्थ्य मन्त्रालयले २६७ प्रतिशत क्षतिपूर्ति रकम पाउने सिफारिसपत्र दियो। डिल्ली त्यही कागज बोकेर घर फिरे। कतारको श्रम नियमअनुसार १ प्रतिशत क्षतिपूर्ति रकम बराबर २ हजार रियाल हुन्छ। उनलाई क्षतिपूर्ति तोकिएको समयमा १ रियाल बराबर करिब ३२ रूपैयाँ थियो।

कतारकै श्रम मामिला मन्त्रालयले पनि उनको दुर्घटना र क्षतिपूर्तिका लागि झन्डै ५ लाख रियाल दिनुपर्ने सिफारिस गरेको छ। तर कतारको अदालती प्रकृया नटुंगिएकाले उनले रकम हात पारेका छैनन्।

गौरादहस्थित घरमा आमा गीता र डिल्ली।

कतारबाट करिब एक वर्षअघि फर्किएका डिल्ली झापाको गौरादह नगरपालिका–१ मिलचोकस्थित घरमा छन्। उनको क्षतिपूर्ति र न्यायको प्रकृयामा दोहास्थित नेपाली दूतावासले सहयोग गर्दै आएको छ।    

“कतार गएको दुई वर्ष भएकाले घर फर्कने तयारीमा थिएँ। घरफिर्तीको मिति र हवाई टिकटको टुंगो हुनै लागेको थियो। ममाथि दिनदशा आइहाल्यो,” ह्विलचेयरमा बसिरहेका डिल्लीले उकालोसँग भने, “कम्पनीमा मासिक १ हजार रियाल तलब र अरू सेवासुविधा थियो। दुर्घटनामा परेपछि उपचार र अरु खर्चबर्चको विपद् आयो, दोहास्थित नेपाली दूतावासमा सम्पर्क गरेर भरथेग पाएको थिएँ।”

डिल्लीको घरमा आमा गीता मात्रै छिन्। पाँच कठ्ठा जमिनमा लगाउने धानको कमाइबाट उनीहरूको खानपिनको गर्जो टर्छ।

गौरादहस्थित डिल्लीको घर।

उनले हमाद अस्पतालबाट डिस्चार्ज हुँदा पाएको ह्विलचेयर अहिलेसम्म प्रयोग गरिरहेका छन्। त्यसैको भरमा घरका कोठा भित्र–बाहिर गर्छन्, अन्त जाने उपाय छैन। आधा घन्टाभन्दा बढी लगातार ह्विलचेयरमा बस्दा वा केही घन्टा सुत्दा कम्मरभन्दा तल्लो भागमा असह्य पीडा हुने उनी बताउँछन्। निकै असहज भएको अवस्थामा भाडाको गाडी बोलाएर दमक अस्पताल जाने गर्छन्।

डिल्लीले मोरङको सिजुवास्थित सरस्वती माविबाट २०६८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। घरको कमजोर आर्थिक अवस्था भरथेगका लागि उनी केही उद्यम गर्ने सोच्दै थिए। त्यही बेला हृदयघातबाट ४४ वर्षकै उमेरमा बुवा राजेन्द्रबहादुरको निधन भयो। त्यसपछि आर्थिक समस्या झन् बढ्दै गएपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए। 

उनकी आमा गीता गाउँमै खैनी, चुरोटलगायतको सानो खुद्रा पसल थापेर र थोरै भएको जमिन खनजोत गरेर बसेकी छन्। कतारमा कमाइ गरेर पठाइरहेको छोरो एक्कासि दुर्घटनामा परेको सुन्दा उनलाई भाउन्न भएको थियो। छोरो ह्विलचेयरमा फर्कने भएपछि त्यसलाई गुडाउन मिल्ने गरी उनले थप १५ लाख रूपैयाँ ऋण खोजेर ‘स्लोप–प्यासेज’ भएको प्यानल कोठा थपेर घर मर्मत गरिन्।

अस्पतालको त्यही पुरानो ह्विलचेयर लिएर कतारस्थित झापा सम्पर्क मञ्चले काटिदिएको घरफिर्ती टिकटमा रित्तो हात डिल्ली गौरादह आइपुगे। यता स्वदेशमा नियमानुसार वैदेशिक रोजगार बोर्ड, जीवन बिमासहितबाट पाउने सहयोग रकमको प्रकृया भने टुंगो लागेको छ।

कतारको दोहास्थित अधिकारीका अनुसार डिल्लीका हकमा क्षतिपूर्ति निर्धारणसहितका प्रकृयामा कागजी प्रमाणीकरण टुंगिए पनि अदालती आदेश आउन बाँकी छ। उक्त आदेशपछि मात्र उनले रकम पाउने छन्।

ह्विलचेयरकै भरमा दिन बिताउनुपर्ने भएपछि डिल्ली अलिक सजिलो बाटोघाटो वा हिँडडुल सुविधा भएको ठाउँमा डेरा बस्न सके जीवनयापन सहज हुने कल्पनामा छन्। घरअगाडिको बाटो असारे झरीका कारण हिलाम्मे हुँदा उनी बाहिर निस्कन सक्दैनन्। 

आमा गीता छोराका लागि अलि गतिलो ह्लिचेयरको आशामा छिन्। त्यस्तो ह्लिचेयर भए कच्ची बाटोमा पनि डोर्‍याउन मिल्ने उनको अपेक्षा छ। “अब जीवन यत्तिकै बित्छ भन्ने थाहा भैसकेको छ,” केहीबेर अघिसम्म चुपचाप कुरा सुनिरहेकी गीता छोराको छेउमा आएर बोलिन्, “ठूलो क्षतिपूर्ति वा न्यायको कुरा हुँदै जाला, बरु अहिलेका निम्ति घरबाहिर कच्ची बाटोमा पनि डोर्‍याउन मिल्ने अलिक गतिलो ह्विलचेयर कतै पाइन्थ्यो कि! काठमाडौँतिर पो होला कि!”


सम्बन्धित सामग्री