Monday, September 30, 2024

-->

ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

विपत्तिका कारण महाकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति बेहोर्नुपरेको छ। राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए।

ललितपुरको दक्षिणी भेग सडक विद्युत् र सञ्चार सम्पर्कविहीन
वर्षाका कारण ललितपुर महानगरको नख्खु दोभानस्थित बागमती करिडोर क्षेत्रमा जलमग्न अवस्था। तस्वीरः हरि परियार/रासस

ललितपुर– बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन्।

विपत्तिका कारण महाकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति बेहोर्नुपरेको छ। राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए।

“लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्का पोल ढलेका छन्। उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छैन”, उनले भने।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा सवारीसाधन प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताए। “माल्टामा दुई र आश्राङमा दुई वटा घर बगाएको छ, गिम्दीमा झोलुंगे पुल बगाएको छ, कतिपय स्थानमा खानेपानीको पाइप नष्ट भएका छन्, भट्टेडाँडामा एउटा गोठ पुरिएर पाँच वटा दुहुना भैँसी पुरिएको जानकारी आएको छ”, उनले भने।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ भन्दा बढी घर पूर्ण रूपमा क्षति भएका जानकारी दिए। बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चार सम्पर्क, विद्युत् र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गरे।


सम्बन्धित सामग्री