साहित्यको सानोतिनो दिल्ली यात्रा

सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।

यो शीर्षक मैले एउटा लेख लेख्ने सल्लाहको रूपमा पाएको हुँ। यो शीर्षकले एकाध कुरा उजागर गर्‍यो। पहिलो मेरो दिल्ली यात्राको प्रकृति। म दिल्लीको सानै मात्र यात्रा गर्छु। धेरै पटक गरेँ। प्रचण्ड गर्मीमा गरेँ। यसपालि ९ देखि १२ नोभेम्बर २०२५ मा सार्क उर्फ फोसवाल साहित्य सम्मेलनमा भाग लिन दिल्ली गएँ। यस्तै दिल्ली महानगर धुवाँले आच्छादित भएका बेलामा भ्रमण गरेँ।

सिमलाको चिसो फुइँकी सोझै दिल्ली झरेको बेला पनि भ्रमण गरें। सार्क वा फोस्वालकी अध्यक्ष अजीत कौरलाई भेट्नुअघि पनि दिल्लीमा साहित्य सम्मेलनहरूमा गएँ। नाटकका अधिवेशनहरूमा गएँ। ‘नेसनल स्कूल अफ ड्रामा’का कार्यक्रममा गएँ। सुनील पोखरेल, अनुप बराल, बिमल सुवेदीहरूले यहीँ पढेका थिए। अजीत कौर अहिले ९१ वर्षकी भइन्। तिनलाई पहिलेदेखि अजीत दिदी भन्ने गरेको छु। तीसँगको सम्बन्धका दशकौँ बिते। 

यसपालि दिल्ली जानुअघि निकै सोचेँ। दिल्लीको धूम्रवेष्ठित कलेवरभित्र केही श्वासप्रश्वासको एलर्जी भएको मानिस जाँदा अलिक समस्या हुने हो कि। अनि लाग्यो काठमाडौँको आवोहवामा केही तालिम पाएकै छु। तर त्यहाँ पुग्नेबित्तिकै एउटा समाचार प्रसारण भयो। पुरानो दिल्लीको एक पर्यटक झुम्मिने थलोमा एउटा आत्मघातीको कारमा विस्फोट भयो। १० जनजाति मानिसको मृत्यु भयो, आतंकित बनायो इत्यादि। त्यसका अनेकौँ व्याख्या निस्के। अनि हामीलाई खासै दिल्ली घुम्ने चाहना भएन। तै पनि हाम्रो समूहका साहित्यकारहरू कोही–कोही घुम्न निस्के।

म चाहिँ अभय श्रेष्ठ र रितुराज सुवेदीसँग जवाहरलाल नेहरु विश्वविद्यालय–जेएनयु जान सकेँ। त्यहाँ पिएचडी गरिरहेका नेपाली अनि एक बांग्लादेशकी विद्यार्थीसँग भेट्यौँ र कुराकानी गर्‍यौँ। फ्याकल्टीका हेडसँग पनि भेट गर्‍यौँ। धेरै वर्षपछि जाँदा पनि विश्वविद्यालयका रुखपात जमिन उस्तै देखेँ। दलालहरू पसेर विश्वविद्यालयको जगा खाएर निर्माण गरेका रहेनछन्। यस्तै हुनुपर्ने हो। विद्यार्थीले अनुसन्धानका कुरा सुनाए। 

अजीत दिदीलाई चिन्नुभन्दा पहिले पनि नेपाली कवि र लेखकसँग साहित्यिक कार्यक्रमहरूमा दिल्ली गएको थिएँ। समय सम्झिने एउटा सन्दर्भ छ। कवि माधव घिमिरे, मोहन कोइराला, तुलसी दिवस, ताना शर्मा, कमलमणि दीक्षित, देवकुमारी थापा, भुवन ढुंगाना र अरू केहीले भाग लिएको एउटा साहित्यिक सम्मेलनको सम्झना छ। इन्डिया नेसनल सेन्टर, दिल्लीमा भएको कार्यक्रम थियो त्यो। कवि माधव घिमिरेलाई भारतीय महिला साहित्यकारले ‘कविजी तपाईंको उमेर कति भयो?’ भनेर सोधे। कवि ८१ बर्षका थिए त्यो बेला। उनले सहजै उत्तर दिए, “मै अस्सी बरसका हो गया हुँ।”

पछि मैले भने, “कविजी त्यस्तो ढाँटेर जवाफ दिने?” कविजीले भने, “तपाईंहरूले सोध्दा एकासी नै भन्छु। महिलाहरूले सोध्दा एक वर्ष घटाएको हुँ।” एक वर्षले त्यस्तो तलमाथि पार्न सक्छु भन्ने विश्वास भएका नै सायद १०० वर्ष बाँच्ने ऊर्जा बोकेर हिँड्छन् क्यारे। यो खालि मेरो दिल्ली यात्रा कहिलेदेखि गरेछु भन्ने सम्झनाको टिपोटको लागि मात्र लेखेको हुँ।

अजीत कौर एक पन्जावी कथाकार र निबन्धकार हुन्। निबन्धमा उनको जीवनी विषय हुन्छ। अनि घटना र विचार हुन्छन्। तिनका पन्जाबी, हिन्दी र अंग्रेजीमा कृति निस्केका छन्। धेरैवटा छन्। यो लेखमा तिनको विषयमा नलेखौँ। ती एक धेरै सिर्जनशील र साहसी महिला हुन्। तिनको लेखनीमा यो विषय मुखरित हुन्छ। यसपालिको ६६औँ फोस्वाल सम्मेलनमा उनको निमन्त्रणामा एक वर्षको अन्तरपछि नेपाली लेखक कविहरूसँगै भाग लिन गएँ।

अजीत दिदी ९१ वर्षकी अनि केही रोगहरूसँग लडिरहेको अवस्थामा त्यो सम्मेलनको उद्घाटनमा बसेकी थिइन्। तिनका दुईवटी छोरी हुन्। एउटी पेरिसमा अध्ययनरत हुँदा उतै दिवंगत भइन्। भित्र सिकिस्त बिमारी छोरीलाई पर्खिनु पर्दा पेरिसको जाडोमा बाहिरै रात बिताएको मार्मिक बयान लेखेकी छन् दिदीले। अर्की छोरी अर्पणा कौर विख्यात चित्रकार हुन्। तिनले बनाएको गान्धार शैलीको बुद्धको पेन्टिङ सार्क बाहिर ठमेलमा एउटा आइकन जस्तो बसेको छ। उद्घाटन भाषणमा यो समय सन्दर्भलाई सम्बोधन गरेर अजीत दिदीले बोलिन्।

छोटो तर गम्भीर विषय उठाइन् तिनले। उद्घाटनमा राजदूत शंकर शर्माको बोल्ने लेखेको थियो। ती आएनन्। हाम्रा राजदूतहरूमा अनिश्चितताको भावना छ क्यारे। त्यस्तो हुन दिनु हुँदैन। मेरा नजिकका विद्यार्थी राजदूत छन्। करियर डिप्लोम्याटमा पाकिस्तानकी राजदूत रीता धिताल र बांग्लादेशका राजदूत घनश्याम भण्डारी मेरा विद्यार्थी हुन्। अर्को किसिमले राजदूत भएका दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ र अस्ट्रेलियामामा चित्रलेखा यादव नियुक्त छन्। 

अजीत दिदीका विषय झन्डै ३० वर्षदेखि कस्ता हुँदै आएका छन् भन्ने कुरा मैले वोध गरेर आएको छु। अनेकौँ सम्झना छन्। पहिले पहिलेका विषयमा उनले साहित्यिकका कर्मलाई यो क्षेत्रको राजनीतिले सिर्जना गरेर समाधान गर्न नसकेका विषय उठाएकी छन्। दक्षिण एशियामा राजनीतिको मूल चरित्र ब्रिटिस उपनिवेशबाट मुक्ति अनि त्यसपछिका राज्य रचनाहरूमा देखियो। त्यो परिवर्तन सहज थियो पनि थिएन पनि। लाखौँ नरनारीको ज्यान गयो। राज्य विभाजन भएर रचना भए। एक सदात हसन मन्टो नामका कथाकारका कथामा त्यो चित्र भेटिन्छ।

अत्यन्त मार्मिक चित्रण गर्छन् ती। अनि उपन्यासकार खुशवन्त सिंहको उपन्यास ‘ट्रेन टु पाकिस्तान’ र पाकिस्तानी लेखकका उपन्यास र कवितामा देखिन्छ त्यो। कमलेश्वर भन्ने भारतीय उपन्यासकारले लेखेको उपन्यास ‘कितने पाकिस्तान’मा त्यो विषय एक रूपक र इतिहासको एउटा लय भएर आएको छ। तीसँग मेरो राम्रो सम्बन्ध थियो। यसको जस अजीत दिदीलाई छ। पछि बांग्लादेशको रचना भएपछि पनि बंगाली भाषामा अनेकौँ कृतिका रचना भएका छन्। ठूलो विषय हो। कहीँ अघि पनि लेखेको छु।

यो विषयको संवेदनशीलता ठूलो छ। धेरै लेखिएका छन् किताबहरू। कथा, उपन्यास अनि कविता छन्। अजीत दिदीका सार्क साहित्य वा फोस्वाल सम्मेलनमा भाग लिँदाका केही अनुभव छन्। एकाध यहाँ सुनाउन चाहन्छु। त्यसपछि यसपालिको दिल्ली फोस्वाल सम्मेलनका केही कुरा लेख्छु। केही संस्मरण यस्ता छन्। सन् २००४ मार्च महिनामा अजीत दिदी र पाकिस्तानकी कवि किस्वर नाहिदको सल्लाहमा पाकिस्तानको लाहोरमा सार्क सम्मेलन भयो। मेरी मित्र हुन् किश्वर नाहीद। कुनै सम्पर्क छैन अहिले। तिनका कविता बेलायतको पेन्गुइनले निकालेको छ। जोडदार कवि हुन्।

ती जस्तै अर्की मित्र कवि फमिदा रियाज हुन्। तीसँग धेरैपछि अजीत दिदीले गरेको आग्राको एउटा फोस्वाल सम्मेलनमा भेट भयो। ती शोक विव्हल थिइन्। उनका एक मात्र छोरा २२ वर्षको उमेरमा बितेछन्। केही समयपछि थाहा पाएँ, फमिदाको २०१८मा अवसान भएछ। दुःख लाग्यो। अनि अजीत दिदीकै सार्क साहित्य सम्मेलन वा फोस्वालमा भेटेका पाकिस्तानका प्रख्यात उर्दू कवि अहमद फराज हुन्। ती धेरै राम्रा कवि हुन्। यिनले काठमाडौँमा पनि कविता पाठ गरेका थिए। कार्यक्रम हामीले आयोजना गरेका थियौँ। सार्क सम्मेलन गरेका थियौँ। अजीत दिदी नै मुख्य थिइन्। फराजको २००८ मा नै मृत्यु भयो।  त्यस्तै जीवन्त कवि किश्वर नाहीद अहिले ८५ वर्षमा पनि सक्रिय छिन् भन्ने थाहा पाएको छु।

त्यसो त बांग्लादेश र श्रीलंकाका कविहरूको विषयमा धेरै लेख्न सकिन्छ। मैले यी पाकिस्तानी कविहरूको विषयमा मात्रै लेखेको एउटै कारण छ। अजीत कौर दिदीले धेरै प्रयत्न गरेर पाकिस्तानी लेखकहरूलाई भारत आउने भिसा मिलाएकी थिइन्। धेरै जना आउँथे। मैले केही मेरा मित्रहरूको मात्र नाम लेखेँ यहाँ। उनीहरू आउने क्रम केही वर्ष चल्यो। पछि भारत र पाकिस्तानको झगडा बढेपछि बन्द गरिएको हो। अफगानी कवि आउन नसकेको त थाहा भएकै कुरा हो। यसपालि पनि यी दुई देशका साहित्यकार आएका थिएनन्।

सार्क साहित्य सम्मेलन जाने नेपाली कविहरूको त सानो पुस्तिका नै लेख्न सकिन्छ। एउटा सानो उदाहरण छ। मैले त्यहाँ गइरहने कवि सविता गौतमका निम्ति उनले अनेक पटक पाठ गर्ने अंग्रेजी अनुवाद गरेका कविताको त संकलन नै निस्केको छ। यसको विमोचन सार्क साहित्य सम्मेलन दिल्लीमा गरेकी थिइन् उनले। नेपाली लेखकहरूको विशेषता के भने अजीत दिदीको सार्क साहित्य सम्मेलनमा नयाँनयाँ कवि लेखकहरू जाने गरेका छन्।

अहिले नेपालका संयोजक कवि भीष्म उप्रेती छन्। अनि अर्का जीवन्त र प्रयोगवादी कवि विधान आचार्य छन्। यी दुई जनाको सक्रियताको ठूलो योगदान छ। यसपालि पनि नेपालका सिर्जनशील कवि, लेखकहरूले भाग लिएका थिए। भीष्म उप्रेतीले कविताबाहेक कविता लेखनमाथि पत्र प्रस्तुत गरे। राइजिङ नेपालका रितुराज सुवेदीले सम्मेलनको विषय ‘दक्षिण एशियामा सांस्कृतिक सम्बन्ध’माथि पत्र प्रस्तुत गरे। विधान आचार्यले प्रयोगवादी कविता प्रस्तुत गरे। लक्ष्मी मालीले कविता सुनाइन् र सार्क साहित्य पुरस्कार पनि पाइन्। स्नेह सायमी, अभय श्रेष्ठ र दीनबन्धु शर्माले कविता र कथा सुनाए।

अनिता लामा, विश्वराम सिग्देल, जनु धिताल र धीर कुमार श्रेष्ठले कविता सुनाए। मैले पनि सुनाएँ। नाम छुटेजस्तो लाग्दैन। अहिलेको सम्मेलनमा गएका र पहिले जाने अनेकौँ नेपाली साहित्यकार सार्क साहित्य पुरस्कारले सम्मानित भएका छन्। यहाँ नाउँ लेखिएनन्। हामी यसलाई अजीत दिदीको भावनात्मक र प्रतीकात्मक कर्म भन्छौँ। अरू देशका कवि लेखकहरूले पनि फोस्वाल सार्क साहित्य पुरस्कार पाएका छन्। यसपालि पनि पाए।

मैले भन्न खोजेको कुराको ऐतिहासिक र नैतिक आधार छ। एक जना अभियन्ता नारी साहित्यकारले आफ्नो नितान्त प्रयासले यो संगठनको निर्माण गरेकी हुन्। यो सम्मान गर्ने विषयलाई अजीत दिदीले मसँगको कुराकानीमा भनेकी थिइन्, ‘दक्षिण एशियाली लेखकहरू समानता र सम्मानको भावनाले जोडिन्छन्।’ एक जना लेखकले देखेको यो दृष्टि यो क्षेत्रको सिर्जनात्मक सम्बन्धको एक मन्त्र हो।

यसको सन्देश राजनीतिमा असफल भएका र सधैँ समस्या बल्झाएर बसेका मानिसको निम्ति महत्त्वपूर्ण छ। तर उनीहरूका व्यवहारबाट थाहा हुन्छ उनीहरू सिर्जनात्मक सम्बन्धको धारणाबाट टाढा हुँदै गएका छन्। यस पटकको फोस्वाल सम्मेलनको किनोट भाषणमा विद्धान प्राध्यापक आशिष नन्दीले भने, अहिले यी राष्ट्रहरू एउटा खतरनाक अवस्थामा छन् अनि उनीहरू त्यही ‘प्रिकारियस ब्यालेन्स’लाई लिएर बसेका छन्। त्यसो त यस भेकमा मात्र होइन, अहिले विश्वकै चरित्र भएको छ यो कुरा। 

अब प्रश्न क्षेत्रीय वा वैश्विक तहमै सोध्नु पर्छ, हामीलाई साहित्य, कला र संस्कृतिको उद्घोष र ‘फोकलोर’ले बचाउँछ त? यसको उत्तर सजिलो नहोला तर यसो भन्न सकिन्छ–– यी कुरामा अन्तर्निहित शक्तिले पक्कै बचाउँछ। यसले हाम्रा युद्धमुखी, हतियारमोहमा परेका मानसिकतालाई परिवर्तन गर्न सक्छ। यसको निम्ति प्रयास चाहिन्छ, आत्मवोध चाहिन्छ। तर हाम्रो क्षेत्रमा यो काम कसले गर्दै छ? उत्तर सजिलो छैन। एक जना ९१ वर्षकी लेखकको फोस्वालले गरेको लेखक/कवि जुटाउने कर्मको परम्परा धान्ने संस्था कुन हुनेछ भोलि? मैले गत लगभग ३० वर्षमा देखिआएको अनि यी साहित्यकार अजीत कौरलाई जानेको र सहकार्य गरेको अनुभवले भन्छ, यो क्षेत्रका नहुनुपर्ने राजनैतिक घटना, प्रतिस्पर्धा र निर्मित घृणाले समस्या सिर्जना गरिआएको छ। यी वयोवृद्ध साहित्यकारको सन्देश लिएर भन्दा संस्था र एकताको निर्माण अहम् वा इगोद्वारा होइन सरलता र प्रेम अनि विश्वासले गर्न सकिन्छ।

बांग्लादेश, भुटान, भारत, मालदिभ्स, नेपाल र श्रीलंका साहित्यकारहरू त्यही खोज्न र त्यसको स्थायी रचना गर्न यी वयोवृद्ध साहित्यकारलाई आमा भनेर सम्बोधन गर्दै (मैले दिदी भनिआएको छु) भेला भएको र आपसमा सम्मान र स्नेह गरिबसेको देखेर म किञ्चित भावुक भएँ। यस भेकको मुलुकका मिल्न सक्ने जति, राजनीतिको कारणले रोकिएका बाहेक अरू साहित्यकार आए त्यहाँ। अफगानिस्तानका पात्र्व नादेरी भन्ने १० वर्षअघि ६० वर्षजतिका लाग्ने कवि अनि सोमैया रामिस र जोहरा जहिर भन्ने दुईवटी युवतीका कविता सम्झिन्छु।

रामिस अनि जोहरा युरोपतिर उम्किएर जान सफल भए। पात्र्व नादेरी कहाँ छन् थाहा छैन। नादेरी र रामिसका कविताका केही अंशका अनुवादसहित राखेर मधुपर्कमा एउटा लेख प्रकाशित गरेँ। त्यो पनि १० बर्ष नाघिसकेछ। यो लेखकहरू भेटने क्रम अजीत दिदीको अवस्थासँग जोडिएको छ अहिलेसम्म। यो ‘पालाको सानोतिनो दिल्ली यात्रा’मा यही संवेदना, भावुकता र चिन्तनको कुरा जेएनयूका केही युवा अनुसन्धातालाई पनि भन्ने अवसर मिलेको थियो, सम्झनामा छ।

यी लेखक अजीत कौरकी छोरी र प्रसिद्ध कलाकार अर्पना कौरले बनाएको ठमेलको सार्कबाहिर राखेको गान्धार शैलीको बुद्धलाई जाभा कफी हाउसको बरन्डाबाट कफी खाएर हेर्दै मैले आफ्नो विश्वास मनमनै दोहोर्‍याएँ, हामी आशावादी छौँ अनि घृणा होइन प्रेम र सिर्जनामा विश्वास गर्छौं। अनि कवि सिद्धिचरण श्रेष्ठको कविता एक्लै कण्ठै बोलेँ–

चारू चिनारू पथमा जब फुल्छ 
जीवन महक यो अति खुल्छ 
विश्व उदधिको उठी लहर दुई 
गाह्रोसाह्रो जब धोइदिन्छ 
एक्लै हिँड्न मलाई मन लाग्छ।

काजी दाइ उर्फ सिद्धिचरण श्रेष्ठ भन्थे— सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नु पर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्। सार्क लेखकहरू र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत कौर दिदीको मनमा पनि काजी दाइले भनेजस्तै फूल फुल्दा हुन्। सार्क लेखक संघ फोस्वालमा हिजोदेखि आजसम्म सहभागी हुने सबैमा अभिवादन।