श्रीलंकामा चक्रवातबाट ७५ हजारभन्दा बढी घरमा क्षति, ‍पुनर्निर्माणमा ७ अर्ब डलर लाग्ने अनुमान

भारी वर्षाले सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा राहत पुर्‍याउन हेलिकोप्टर र विमान परिचालन गरिएको छ।

कोलम्बो– श्रीलंका सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ। देशमा हालै आएको विनाशकारी चक्रवातका कारण अहिलेसम्म कम्तीमा ६१८ जनाको ज्यान गएको पुष्टि भएको छ।

गत हप्ताको चक्रवातले २० लाखभन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन कुल जनसंख्याको करिब १० प्रतिशत हो। यसलाई यो शताब्दीकै सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ। विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का अनुसार, चक्रवातका कारण पहाडी क्षेत्रको जमिन अस्थिर बनेको छ।

भारी वर्षाले सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा राहत पुर्‍याउन हेलिकोप्टर र विमान परिचालन गरिएको छ। श्रीलंका एयर फोर्सले म्यानमारबाट प्राप्त राहत सामग्री वितरण शुरू गरेको छ। मृतक ६१८ मध्ये ४६४ जना मध्य-पहाडी चिया बगान क्षेत्रका रहेका छन् भने अझै २०९ जना बेपत्ता छन्।

विवरणअनुसार श्रीलंकाका ७५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ, जसमध्ये करिब पाँच हजार घर पूर्ण रूपमा नष्ट भएका छन्। सरकारले शुक्रबार ठूलो क्षतिपूर्ति योजना सार्वजनिक गरेको छ, जसले प्रभावित परिवारलाई घर पुनर्निर्माण र व्यवसाय पुनः सञ्चालनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

एक वरिष्ठ अधिकारीका अनुसार पुनर्निर्माणमा करिब सात अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकाको अनुरोधमा थप २०० लाख अमेरिकी डलर सहयोग दिने विषयमा विचार गरिरहेको छ। यो रकम सन् २०२३ मा स्वीकृत २.९ अर्ब डलरको चारवर्षे ऋण कार्यक्रमको अतिरिक्त हुनेछ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भने, “श्रीलंकाको अर्थतन्त्रमा सुधार आए पनि यस स्तरको प्रकोपको सामना एक्लै गर्न हामी पर्याप्त बलियो छैनौँ।”

सरकारले बाँचेकाहरूलाई सुरक्षित स्थानमा घर बनाउन सहयोग गर्ने र मृतक वा स्थायी अपांगता भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। यस्तै, केन्द्रीय बैंकले सबै बैंकलाई कर्जाको पुनः तालिकीकरण गर्न आदेश दिँदै नागरिकलाई आर्थिक राहत दिन निर्देशन दिएको छ।