कांग्रेसलाई युवा वयमा फर्काउन देउवाको साथ र गगनको हात

२००७-२०१७ सालको कठिन परिस्थितिमा त्यति बेलाका कार्यकर्ता र शुभेच्छुकहरूको बीपीमाथि टिकेजस्तै भरोसा अहिलेका कांग्रेसजनको गगन थापामाथि अडिएको छ।

आन्तरिक उल्झनहरूलाई दाँज्दा नेपाली कांग्रेसको अहिलेको अवस्था धेरै हदसम्म २००७ सालको परिवर्तनपछिको समयसँग मिल्दोजुल्दो छ। जहाँ गुट-उपगुट प्रस्ट रूपमा सतहमा देखिन्छन्। अन्तर्द्वन्द्व उत्कर्षमा भेटिन्छ। अन्तर्यमा अनेकन् कारकहरू जेलिएका होलान्, तर खास कारक ‘नेतृत्व’ भएको बुझिन्छ।

एउटा फरक के भने त्यो बेला (बि सं. २००९ मा) पार्टी टुक्रियो, अहिले पार्टीमा फुटचाहिँ भइहालेको छैन। चुनावअघि महाधिवेशन गर्ने निर्णयले कांग्रेसलाई फुटको डिलैबाट फर्काएको अवश्य छ। तथापि, रक्षात्मक देखिएका संस्थापन भनिएका कतिपय ‘प्रभावशाली नेतागण’बाट महाधिवेशन सार्थक बनाउन भरोसायोग्य प्रयास नभइरहँदा फुटको संशय पूर्णतः हटिसकेको भने छैन।

चुनावअघि महाधिवेशन भन्ने पक्ष नीति र नेतृत्व बदलावमा प्रयत्नशील भइरहँदा अर्को पक्ष अर्थात् ‘प्रभावशाली नेतागण’ पार्टीभित्र आफ्नो बोलवाला कायमै राख्न सक्नुलाई प्रतिष्ठा ठानेर प्रतिक्रियात्मक भएका छन्। खासगरी, एउटा पक्षले आउँदो महाधिवेशनलाई आफ्नो वर्चस्वशाली अस्तित्व स्थापना र अर्को पक्षले अस्तित्व रक्षासँग जोडेका छन्।

चुनावको मुखैमा महाधिवेशन गर्दा पार्टी फुट्ने दलिल पेस गर्ने ‘प्रभावशाली नेतागण’ले तिनका दलिल पत्याउने चित्तबुझ्दो आधार प्रस्तुत गर्न सकेका छैनन्। त्यस कारण पार्टी फुट्ने भन्ने उनीहरूको रटान वास्तविक कम र स्वार्थ रक्षार्थ फ्याँकिएको ‘भयास्त्र’ ज्यादा हो भन्ने बुझ्दा अन्यथा नहोला।

आफूहरूको बहिर्गमनको सम्भाव्यतालाई उनीहरूले पार्टी फुटको अवस्थासँग जोडिदिएका छन्। अनि तमाम नेता कार्यकर्तालाई भयको भावमा डुबाएर आफू तैरिने मौकाको खोजीमा छन्। तर उनीहरूले के हेक्का राखेका छैनन् भने यसपालि उनीहरूको तैराइको चाह कांग्रेस डुबाउने बोझ बन्न सक्छ। कांग्रेसै डुबिहाल्यो भने ‘प्रभावशाली नेतागण’ मात्र कसरी तैरिएलान् र, खै?

अतः न कांग्रेस डुबोस्, न अप्रचलित ‘प्रभावशाली नेतागण’ डुबुन् भन्नका खातिर उपयुक्त उपाय भनेकै उनीहरूको स्वबहिर्गमन हो। स्वबहिर्गमन भए ‘ससम्मान’, नभए कांग्रेसको निस्वार्थ हित चाहने कार्यकर्ताहरूका मतबाट बहिर्गमन त अवश्यम्भावी छँदैछ।

फरक विचार समूहकै मिलनबाट फक्रिएको कांग्रेस गुटउपगुट, उतारचढाव र टुटफुट जस्ता अनेकन् अप्ठ्याराहरू पार गर्दै अहिलेको परिपक्व अवस्थासम्म आइपुगेको हो। २००९ साल र २०५९ साल नेपाली कांग्रेसका लागि बिर्सन लायक तर कहिल्यै नबिर्सिइने वर्ष मानिन्छन्, जब कांग्रेस फुटेको थियो। पहिलो फुटपछि बीपीप्रतिको भरोसाले कांग्रेसलाई बलियो बनायो। दोस्रो फुटपछि अनुभव र एहसासले एकतामा फर्कायो।

यति बेला कांग्रेस औपचारिक फुटमा त गएको छैन, तर महाधिवेशन कसै कसैको अस्तित्व जोगाइदिने लडाइँका रूपमा मात्र ‘उपयोग’  भयो भने त्यहाँसम्म नजाला भन्न पनि सकिन्न। त्यसैले कांग्रेसले आफ्नो अनुभव र सिकाइलाई मनन गरेर सुझबुझपूर्ण नेतृत्वमा परिपक्व पाइला चाल्नु मनासिब हुन्छ। 

विद्यमान परिस्थितिमा कांग्रेसबाट नेतृत्वदायी पाइला चाल्ने अधिक सामर्थ्य महामन्त्री गगन थापा राख्छन्। कारण २००७-२०१७ सालको कठिन परिस्थितिमा त्यति बेलाका कार्यकर्ता र शुभेच्छुकहरूको बीपीमाथि टिकेजस्तै भरोसा अहिलेका कांग्रेसजनको गगन थापामाथि अडिएको छ। 

गगन थापाले नेपाली कांग्रेस र चुनावपछि बन्ने सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मत पार्टीभित्र मात्र नभई बाहिर पनि व्यापक बनिरहेको छ। गगन थापाप्रति अभिव्यक्त यो भरोसा उनका लागि नेतृत्वको अवसर पक्कै हो। साथसाथै अवसरलाई नतिजामा बदल्न गरेको आशापूर्ण आह्वान पनि हो। जुन आह्वानलाई अन्जाममा पुर्‍याउन सक्ने ल्याकत भएको नेता यो बेला कांग्रेसमा गगन थापाबाहेक अरू देखिँदैनन्।

गगनको व्यक्तित्व पार्टीभित्र मात्र सीमित छैन। पार्टीमा आबद्ध नभएका युवा र नवयुवाका आशा अनि  पाका उमेर समूहका आडभरोसा बनेर दह्रोसँग उभिएका छन् उनी। लोकतान्त्रिक विचारधारा बोक्ने तर गैरकांग्रेसी तप्काबाट समेत उनले साथ समर्थन पाइरहेकै छन्। त्यसैले कांग्रेसका बुज्रुग नेताहरूले गगन थापाको आन्तरिक र बाह्य व्यापकता स्विकार्दै महाधिवेशनबाट पार्टी उठाउने र चुनावबाट देश उठाउने नेतृत्वदायी जिम्मेवारीमा गगन थापालाई अघि सार्नु वाञ्छनीय हुन्छ।

संस्थापनको पेलाई र फुटको पीडा कस्तो हुन्छ भन्नेबारे सामयिक राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा जत्तिको भुक्तभोगी सायदै कोही होलान्। आउँदा दिनमा त्यो किसिमको पेलाई र पीडा अरूले नब्योहोरुन् भन्नका खातिर देउवाले आफ्नो भोगाइलाई उत्तम उपजका रूपमा अर्थ्याउन् भन्ने आम नेता कार्यकर्ता  तथा शुभेच्छुकहरूको अपेक्षा र सुझाव छ। जसलाई सभापति देउवाले अभिभावकको रूपमा गम्भीरतापूर्वक मनन गर्नै पर्छ। 

भदौ २३ र २४ को घटनापछि बदलिएको राजनीतिक रुझान पनि देउवाले पक्कै मनन गरेको हुनुपर्छ। त्यसैले, उनी सम्भव भएसम्म सक्रिय राजनीतिबाट टाढिन चाहेजस्तो संकेत गरिसकेका छन्। तर, कांग्रेसभित्र आफ्नैसमेत संरक्षण र प्रवर्द्धनमा रोपिएका गल्ती कमजोरीका कारण जरो गाडेर मौलाएका विकृतिहरू उनकै लागि समेत चुनौती बनेर ठडिएका छन्। यद्यपि, आफैँले मौलाउन दिएका हुँदा ती विकृतिहरूलाई उखेल्ने उपायबारे पनि उनी नै ज्यादा वाकिफ होलान्।

सकारात्मक सोच्दा ‘प्रभावशाली नेतागण’सहित केन्द्रीय समितिका बहुमत सदस्यले चुनावअघि महाधिवेशन नगर्न लगाएको जोडबलले देउवा नगल्नुको अर्थ पनि त्यही होला। महाधिवेशन नगर्दा हुन सक्ने सम्भावित दुर्घटना दृष्टिगत गरी रोक्नका लागि बरु झनै दृढ भएर आए देउवा। कांग्रेस इतिहासमा देउवाको यो दृढता सम्भवतः उनको अनुभव र भोगाइको एउटा महत्त्वपूर्ण मिसाल साबित भएको छ। 

नेपाल विद्यार्थी संघ हुँदै राजनीति थाल्दा देउवा र त्यस बेलाको कांग्रेस उस्तै ऊर्जावान् युवा थिए। अहिले देउवा शारीरिक हिसाबले वृद्ध भइसकेका छन्। कांग्रेस पनि गतिशीलताका हिसाबले युवा महसुस हुँदैन। प्राकृतिक व्यक्तित्व देउवा फेरि युवा वयमा फर्कन सम्भव नहोला, तर कांग्रेस भने नवीनीकरण भई युवा वयमा फर्कने प्रबल सम्भावना छ।

जुन सम्भावना तब मात्र सार्थक हुन्छ, जब महाधिवेशनमा देउवा महानतम् मिसाल कायम गर्न दृढ भएर लाग्ने छन्। देउवा अहिले त्यो स्थानमा छन्, जहाँबाट पार्टीभित्र प्रस्ट सिंहावलोकन हुन्छ। उनले सबैलाई आफ्नै देख्ने गरी आँखा खोल्ने हो भने उनीहरूलाई आआफ्नो यथोचित स्थानमा राख्न पक्कै सक्षम हुन्छन्। अर्थात्, देउवाले अग्रसरता लिँदा कांग्रेसलाई फेरि एकाकार गर्ने र युवा वयमा फर्काउने गरी महाधिवेशनले मार्ग निर्दिष्ट गर्न सक्छ।

हाम्रो देश पनि अहिले युवामय छ। जनसांख्यिक लाभांश (सक्रिय उमेर समूह धेरै भएको अवस्था) को ३२ वर्षमध्ये करिब ६ वर्ष देशले गुमाइसकेको छ। बाँकी करिब २६ वर्ष छ, जुन हामीले उच्चतम उपयोग गर्न सक्नु पर्नेछ। त्यसो हुँदा, भोलिका दिनमा आश्रित जनसंख्या (१५ मुनि र ६५ माथिका) को अर्थात् बुढ्यौलीले छोएको देशको उचित ख्याल राख्न सकियोस्।

सक्रिय उमेर समूह ६० प्रतिशतभन्दा माथि भइरहँदा उनीहरूको सोच र गति दुवैमा ताल मिलाउन सक्ने अनि ती उमेर समूहको आपसमा मनसमेत मिलाउन सक्ने नेताका रूपमा सभापति देउवाले गगन थापालाई बुझे र अघि सारे भने त्यसले कांग्रेसलाई मात्र होइन, देशकै हित गर्छ। मन्त्रिपरिषद् सदस्य हुँदा होस् वा राजनीतिक कार्यकर्ताको भूमिकामा होस्, दुवैमा गगन थापाले आफूलाई सुझबुझपूर्ण र परिपक्व नेताका रूपमा प्रमाणित पनि गरिसकेका छन्।

भदौ २३ र २४ को घटनापछि पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति लामो समय अनिर्णयको बन्दी बनिरहँदा गगन थापाले पटक-पटक कांग्रेसको विचार मुखरित गरे। नेता कार्यकर्तालाई एकाकार हुन अग्रसरता लिए। शुभेच्छुकहरूमा छाएको निराशा चिरे। आम जनतामा आशा र भरोसा जगाउन प्रेरित गरे। अहिले स्वस्थ र सभ्य राजनीतिक अभ्याससहित सबै स्टेक होल्डरहरूमाझ समन्वयकारी पहलकदमी लिइरहेका छन्। समयको आवश्यकता बोध गर्न सक्ने यस्ता गुणहरू भएकैले गगन थापा कांग्रेससहित देशकै नेतृत्व गर्ने योग्यता राख्छन्।

सर्वसम्मत रूपमा युवा नेतृत्व चयन र नीति निर्माण देउवाको एकल इच्छामा मात्र सम्भव पक्कै छैन। आकांक्षी शेखर कोइराला र संस्थापन समूहका ‘प्रभावशाली नेतागण’ मध्येका आकांक्षीको सहमति पनि जरुरी हुन्छ। समय-परिस्थितिको संवेदनशीलताबारे आकांक्षीहरू जानकार नभएका होइनन्। कार्यकर्ता र जनताहरूको रुझान आफ्ना विरुद्ध छ भन्नेमा धेरै हदसम्म प्रस्ट पनि छन्। तथापि, ढिठ्याइँ छाड्न भने उनीहरू मानिरहेका छैनन्। आफैलाई सत्य आत्मसात् गराउन उनीहरूलाई हम्मे परिरहेको छ।

मन बुझाउन नसकिरहेका आकांक्षीहरूले यो बुझ्नु जरुरी छ कि पार्टी बनाउन वा देश बनाउन सधैँ पदमै पुगेर मात्र हुँदैन। कतिपय अवस्थामा पद त्याग वा आकांक्षा बदल्दा पदभन्दा माथि जनिन सकिन्छ। शेखर कोइराला र ‘प्रभावशाली नेतागण’ले यो कुरा बुझ्दा कसैको हार हुँदैन, सिंगो कांग्रेसको जित हुन्छ। जीर्ण पार्टी भयो भन्ने भाष्य बदल्दै कांग्रेसलाई युवा वयमा फर्काउन यो जित अपरिहार्य छ। 

(झा नेपाली कांग्रेसका नेता हुन्। उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)