पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ र पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

काठमाडौँ– विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। यसैगरी, अदालतले प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि एक लाख धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासले थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

तर, पोखरा विमानस्थलको मुद्दामा धरौटी माग भए पनि अधिकारी तत्काल रिहा हुने छैनन्। भक्तपुर नलिन्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा यसअघि नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाले उनी थुनामै रहने भएका हुन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको बिगो मागदाबी गरेको छ।