तोरकीन: मुस्ताङ चियाउने आँखीझ्याल

उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरता, मौलिक समाज र संस्कृतिको विगतलाई टेकेर खस्किँदो वर्तमान र शून्य भविष्यको समेत ´ब्लुप्रीन्ट` कोर्न लेखकले मुस्ताङको मिजासलाई आफ्नो ´क्यानभास` बनाएका छन्।

हामीले सुदूर उत्तरतर्फ नियाल्दै आएका हिमालहरू क्रमशः पीठ पछाडि पर्न थाल्छन्। हिमालयको सेतो पर्खाल हाम्रो उत्तरी सीमा हो भन्ने सामान्य ज्ञान मुस्ताङको पठारमा छिरेपछि गलत ठहरिन्छ। हिमाललाई पछाडि छोडेर पनि कयौँ दिन हिँड्न पुग्ने हिमाली माटो मुस्ताङले ओगटेको छ। त्यसैले त हिमाल पारिको जिल्ला भनेर चिनियो मुस्ताङ। अझ त्यसमा पनि उपल्लो मुस्ताङले भौगोलिक सुन्दरता, साहसिक यात्रा र गुफा सभ्यताको छुट्टै चर्चा बोकिबसेको छ। र, पनि त्यहाँको जीवन र समाज बुझ्न सिकाउने सन्दर्भ सामाग्री निकै दुर्लभ छन्। त्यहाँको समाजसँग समाहित र समानुभूत भएर पढ्न सकिने सिर्जनात्मक लेखन, साहित्यिक दस्ताबेज वा आख्यानजन्य संरचना थिएनन् नै भन्दा पनि हुन्छ। यस्तोमा आख्यानकार क्षितिज समर्पण आफ्नो पहिलो आख्यानको घर-घडेरी निर्माण गर्न लेखकीय अठोटको ´रुकस्याक` बोकेर मुस्ताङ उकालो लाग्छन्।

कृति प्रकाशनका हिसाबले क्षितिज समर्पण
नव-आख्यानकार हुन्। पहिलो उपन्यासका लागि मुस्ताङको चराङ पुगेर जग खन्न  थाल्छन्। यो आफैमा सुखद हो। आञ्जलिक हिसाबले क्षितिजको मूल थलो पनि होइन मुस्ताङ, भाषिक, सामाजिक र संस्कारगत हिसाबले क्षितिज मुस्ताङमा भिजेको मान्छे होइन। मुस्ताङको समाज अध्ययन गर्न क्षितिजले कहीँ कतैबाट विशेष वृत्ति प्राप्त गरेको वा त्यो थलोमा लामो समय बसेको पनि सायद होवोइनन्। र, पनि मुस्ताङको अक्षुण्ण  विषयलाई आफ्नो आख्यानको आधार बनाउनु लेखक क्षितिजको ´समर्पण र साहस` दुवै हो। 

तोरकीनको शक्ति
तोरकिन समातेपछि पाठकलाई अड्याइराख्ने केही मूलभूत कुरा छन्, जस्तो: हिमाली अनि थोरै जनसंख्या भएको जिल्ला। त्यो पनि उपल्लो मुस्ताङको त्यो ठाउँ, जो पछिल्लो समय आन्तरिक पर्यटकका लागि समेत मनमोहक गन्तव्य बन्दै छ। प्राकृतिक सौन्दर्यको लोभलाग्दो ´मुस्ताङ्गी सुगन्धले` पाठकलाई उपन्यासतर्फ आकर्षण गराउने दरिलो कारण बन्न सक्छ। आख्यानको भावभूमि नौलो छ, पात्रहरू मौलिक छन्। खासमा उपल्लो मुस्ताङ  प्रकृतिको कालिगडीमा कुँदिएको आफैमा सुन्दर चित्र हो।

प्रख्यात फ्रान्सेली फोटोग्राफर एवम् फिल्मकर्मी एरिक भ्यालीले नेपालको हिमाली (खासगरी डोल्पा) समाज र जीवनबारे भनेका छन्, "वास्तवमै हिमालका मान्छेले सक्कली जीवन बाँचेका छन्, तर अब बाटो, विकास र फरक अवसरका लागि गाउँ छोडेर हिँड्ने चलनले हिमाली जीवन पनि खण्डित हुँदैछ।" भ्यालीको उक्त सामाजिक अवलोकन उपल्लो डोल्पाको हकमा मात्र होइन, डोल्पासँग सटेको मुस्ताङमा पनि उत्तिकै सादृश्य ठहरिन्छ।

हिजो उपल्लो मुस्ताङ पुग्न कैयौँ दिनको पैदल यात्रा वा घोडसवार बाहेक विकल्प थिएन। उपल्लो मुस्ताङ पुग्न दुरूह थियो, तर पुगिसक्दा `सक्कली जीवन` बाँचेको एउटा छुट्टै संसार पुगेको प्रतीत हुन्थ्यो। अझ, खासगरी तिब्बती सांस्कृतिक प्रभावको जीवन्त  प्रतिछाया खोज्नुपर्दा उपल्लो मुस्ताङ नै पुग्नुपर्ने चर्चा पढे/सुनेको हो। तर अहिले मुस्ताङ ´हिमाल पारी`को होइन ´हिमाल वारी`झैँ सुगम बन्दैछ। मुस्ताङको सौन्दर्य र समाज भेट्न पैदल वा घोडसवार गर्नु पर्दैन। सडकले मुस्ताङको मेरुदण्ड छिचोलेर कोरला नाकाको नेटो काटेको छ। घुमघामको मौसमी महिनामा मुस्ताङ पर्यटक र सवारीको लावालस्करमा ढाकिएको हुन्छ। यो सबै यान्त्रिक कुरा हो, यस्तो विकास र पर्यटकीय हरियालीले मुस्ताङलाई खुल्ला त बनायो, तर मुस्ताङको ´रैथानेपन`  शनैः शनैः क्षीण बनाउँदै छ।

उपल्लो मुस्ताङको अतुलनीय प्राकृतिक सुन्दरता, मौलिक समाज र संस्कृतिको विगतलाई टेकेर खस्किँदो वर्तमान र शून्य भविष्यको समेत ´ब्लुप्रीन्ट` कोर्न लेखक क्षितिजले मुस्ताङको मिजासलाई आफ्नो ´क्यानभास` बनाएका छन्। 

मूलतः नामग्याल-छुक्की अनि छेवाङ कुन्साङ दुई पुस्ते जीवनको प्रेम कहानीलाई मियो बनाएर पर्वतीय जीवन, समाज, संस्कार र सुस्केराहरूको सोलोडोलो बहिखाता लेख्न कोसिस गरेको छ उपन्यासले। कथाले चराङको ठिटो नामग्याल र सुर्खाङकि  सुन्दरी छुक्कीलाई गहुँ काट्ने खेताला बनाएर कागबेनी ओराल्छ। मौन संवादमै उनीहरूको प्रेम हुन्छ, विवाह हुन्छ, छोरा पाउँछन्। यहाँसम्म आख्यान स्थिर तरिकाले बुनिएको छ। नामग्याल र छुक्की तोरकीन उपन्यासमा प्रथम पुस्ते प्रेमी हुन्। यी दुई भुईँ मान्छेको सुख, दुःख र सरल सपनामार्फत चराङ र समग्र मुस्ताङको सामाजिक जीवनको न्यारेसन सुरु हुन्छ। र, अनेक उतारचढावको घोडामा काठी ओछ्याएर आख्यानको केन्द्रीय चरित्रमा सवार हुनुपर्ने ´अभागी` पात्रको नाम हो छेवाङ। उपन्यासमा जे जति संघर्ष देखाउनु थियो, जे जति समाज देखाउनु थियो, अनि समाजसँग जोडिएका जे जति धार्मिक, सांस्कृतिक चलन र मिथक भन्नू पर्ने थियो, ती सबै छेवाङको बालापनदेखि बुढ्यौली सम्मको जीवन, भोगाइ  र प्रारब्धसँग जोडिएर आउँछन्।

चराङको छेवाङ र लोमान्थाङकी कुन्साङ बीचको प्रेम अंकुरणदेखि सम्बन्धमा पलायन सम्मको छेकवारभित्र क्षितिजले धेरै कुरा प्रत्यारोपण गरेका छन्। नामग्याल, छुक्की, छेवाङ, कुन्साङ, पेम्बालगायत विविध पात्रको संघर्ष कथा त आख्यानको ताना हुने नै भयो, योसँगै जन्म, विवाह र मृत्यु संस्कारका कुरा, लोमान्थाङको तिजी र मराङको फाग्नी, यार्तुङ, ठूज्यो, ह्यार्का र भाक्टाको चर्चा छ। त्यस समाजसँग साइनो राख्ने हरेक संस्कृति र संस्कारले आख्यानको पटकथामा कुनै न कुनै हिसाबले स्थान पाएका छन्। छेवाङ-कुन्साङको प्रेमलाई पल्लवित र पुष्पित गराउन लेखकले उपल्लो मुस्ताङका  सांस्कृतिक पर्वहरूलाई माध्यम बनाएका छन्। छेवाङ तिजीको मेला भर्न जाँदा अंकुराएको एकोहोरो प्रेमले फाग्नीमा टुङ्गो पुगेको छ। छेवाङ कुन्साङको प्रेम वर्णनको जुइनोमा जोडिएर तिजी र फाग्नी पर्वको सांस्कृतिक पक्षका साथै लामा गुरुले पेजा पल्टाएर वरबधुको जन्म कुण्डली छिलिङ्याएको र ह्यार्का हाल्ने, साइत हेर्ने रीति रिवाजको ´डिटेलिङ` रोचक तरिकाले अटाएको छ।

विभिन्न  ठाउँहरूको नाम कसरी रहन गएकोदेखि घार गुम्बा निर्माणका सन्दर्भमा गुरु रिम्पोछे पद्मसम्भव र राक्षससँग जोडिएको किम्बदन्ती, मुस्ताङमा थर व्यवस्थाको चलन, राजा जिग्मे र रानी सितोलको विवाह प्रसंग छन् पुस्तकमा। अनेकन् सन्दर्भको चाँजोपाँजो उपन्यासमा पढ्न पाउनुको अर्थ हो-उपन्यासमा नामग्याल, छुक्की, छेवाङ, कुन्साङ, पेम्बालगायत हिमाली पात्रको एकसरो जीवन कहानी र जिजीविषा मात्र छैन, उपल्लो मुस्ताङको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र मिथकीय पक्षलाई आख्यानमा एकाकार गराउने सन्दर्भमा लेखक क्षितिजको अध्ययन दायरा र सामग्री संकलनले छेउकुना भेटेको छ।

जनसंख्याको हिसाबले मुस्ताङ सानो जिल्ला हो। प्रशासनिक हिसाबले पुगनपुग पन्ध्र हजारको जनसांख्यिक आँकडा बोकेको मुस्ताङमा स्थायी बसोबास गर्नेको संख्या त्यसको आधा पनि छैन। पातलो आबादी भए पनि मुस्ताङलाई एउटै सामाजिक दृष्टिबाट पढ्न मिल्दैन। तल्लो मुस्ताङ (कागबेनी मुक्तिनाथसम्म) को भूगोल, समाज र सांस्कृतिक व्यवहार अध्ययन गरेको भरमा उपल्लो मुस्ताङ पढ्न सकिँदैन। सांस्कृतिक हिसाबले मात्र होइन, सामरिक हिसाबले पनि उपल्लो मुस्ताङ तिब्बतसँग अन्योन्याश्रित छ। मानव बस्तीको तीन हजार वर्ष पुरानो प्रामाणिक सभ्यता बोकेको मुस्ताङको सम्बन्ध तिब्बतसँग जति अटुट छ, त्यत्तिकै संवेदनशील पनि छ। मुस्ताङ तिब्बतको सीमावर्ती जिल्ला भएकाले चीनको चासो स्वाभाविक हुने नै भयो। अझ, खम्पा विद्रोहको नमिठो इतिहासले मुस्ताङलाई सर्वकालिक-संवेदनशील बनाएको छ। यस्तो हिमाली पठारमा पुगेका  लेखकले उपन्यासलाई सामरिक चासोको बाछिटा लाग्न नदिई शुद्ध सामाजिक र पर्यावरणीय धारमा अड्याएका छन्। यी विविध पक्षले तोरकीनलाई संयक र शक्तिशाली बनाएको छ।

तोरकीनको सीमा
मुस्ताङको भावभूमिमा लेखिएको तोरकीनको सीमाबारे टिप्पणी गर्नु अघि मुस्ताङकै  टुकुचेमा जन्मेका ख्यातीनाम कवि भूपी शेरचनको मेरो चोक शीर्षकको कवितांश जोडौँ–

साँघुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन, सब थोक छ।

तोरकीनमा पनि के छैन? सब थोक छ। मुस्ताङको पुछार लेते (लेते खोलाबारे शेरचनले कविता नै लेखेका छन्) मार्फ, टुकुचे ,जोमसोम हुँदै माथि कागबेनी, मुक्तिनाथ , छुसाङ, समरलेक, घमी घ्याकर, अझ माथि चराङ, मराङ, यारा, घारा, ढी, सुरखाङ, लोमाङ्थान, छोनुप, छोसेर, दामोदर कुण्ड सम्मका प्रत्येक थलो र समाज उपन्यासमा कतै न कतै अटाएका छन्। उपन्यासमा धेरै चिज हुल्न खोज्नुले पनि कहिलेकाहीँ  औपन्यासिक लयमा अतिक्रमण भए झैँ भने लाग्छ। क्षितिजले उपन्यास लेख्नु अघि गरेका हरेक सामाजिक अध्ययनलाई उपन्यासमा हरहिसाबले अटाउन खोज्दा आख्यानमा ´ज्ञानभार` ज्यादा भएको महसुस हुन्छ।

नामग्याल, जो मुस्किलले साक्षरसम्म होला, छेवाङ जो कक्षा छसम्म मात्र पढेको छ। ´भुईँ मान्छे`को भूमिकामा स्थापित नामग्यालले जब छोरा छेवाङलाई मुस्ताङको इतिहास र रिम्पोछे पद्मसम्भवको कहानी सुनाउनुपर्ने हुन्छ, उसलाई सबै जानकारी हुन्छ।  छेवाङले जब मुस्ताङवासीको जातथर तोक्ने कुराको इतिहास भन्नू पर्ने हुन्छ, बडो सिलसिलेवार तरिकाले भन्छ। त्यहाँनिर मेरो पाठक मनले ठान्छ–पात्र नामग्याल र छेवाङको अनुहारमा लेखक स्वयं बोल्दै छन् कि?

तोरकीन भित्रका विभिन्न खण्डमा कतिपय संवादलाई आञ्जलिक लवजमा न्यारेट गरिएको छ। उपल्लो मुस्ताङमा बोलिने भाषा तिब्बती भाषासँग मिल्छ। गैर मुस्ताङ्गीसँग कुरा गर्नु पर्दा हिज्जे मिलाई-नमिलाई नेपाली भाषामा कुरा गर्नु अलग्गै हो, अन्यथा स्थानीयले आफ्नो मातृभाषा ´ल्होवा`मै संवाद गर्छन्। तर उपन्यासमा लेखकले पात्रहरूलाई ´ल्होवा` भाषाको लवज टिपेर नेपाली भाषामा संवाद गराएका छन्।  ल्होवाभाषी सजातीय पात्रहरूको अन्तरसंवादमा नेपाली भाषामा बोलेको देखाउनु कता कता बनावटीझैँ लाग्छ। यद्यपि, ल्होवा भाषामा लेखक दक्ष नभएकाले उनको असहजता हामी अनुमान लगाउन सक्छौँ। यद्यपि, एक दुई ठाउँमा गीतलाई स्थानीय भाषामै राखेर त्यसको नेपाली भावानुवाद उपलब्ध छ। त्यसो हुँदा, लेखकले वार्तालापहरूलाई पनि ल्होवामै राखेर नेपालीमा त्यसको अनुवाद राख्न सक्थे भन्ने सुझाव हो।

छेवाङ-कुन्साङको सुन्दर प्रेम कहानी र समझदारीपूर्ण संघर्षले डोहोर्याएको तोरकीनको मूल कथामा ती जोडीको वियोगान्त प्रारब्ध उपन्यासको द्वन्द्वात्मक उत्कर्ष हो। उपन्यासको ´ट्विस्ट एन्ड टर्न` कस्तो रोज्ने लेखकको निजी हो। रिन्जिनसँग नक्कली विवाह गरेर कुन्साङ अमेरिका जानुले वियोगान्तको पूर्वसंकेत गर्छ। तर कुन्साङ अमेरिका जाने सन्दर्भ र त्यसपछिको कथा निर्माणमा ´बिहे-डिभोर्स-बिहेको' चक्रबाट अमेरिका जाने वा लैजाने परिपाटीको वर्णन गरेका छन्। त्यहाँनिर केही तथ्यगत सन्देह देखिन्छ। 

सन्दर्भमा आख्यानकार कृष्ण कुसुमको एउटा कथा  लिन्छु। दुई वर्षअघि प्रकाशित कथासंग्रह ´पार्श्वधुन`भित्र ´माया उर्फ पासो` शीर्षकको  कथा छ। उक्त कथाको सार छ- नक्कली बिहेको आडमा अमेरिका पुग्छ, उता पुगेर कागजपत्र सोझिएपछि पारपाचुके गर्छ अनि नेपाल आएर वास्तविक प्रेमिकासँग विवाह गर्छ। अमेरिका फर्कन्छ र श्रीमतीलाई अमेरिका झिकाउने तारतम्य गर्छ। तर उ अमेरिकी कानुनको नजरमा फर्जी बिहेको मुद्दामा पर्छ र अन्ततः जेल नै जान्छ। सो कथा सत्य घटनामा आधारित भएको बताएका थिए अमेरिका निवासी कुसुमले।

कतै नक्कली बिहे गरेर कुन्साङ अमेरिका पुग्नु, पारपाचुके गर्नु र फेरि नेपाल आएर अर्को नक्कली दुलाहालाई अमेरिका लगेर पैसा असुल गर्नु? अमेरिकी कानुनको कोणबाट त्यो कत्तिको तथ्यसंगत होला कुन्नि? हुन त लेखकले तिब्बती संस्कार र शरणार्थीप्रति अमेरिकाको नरम मिजासबारे हलुका संकेत गरेका छन्। कुन्साङलाई पनि तिब्बती संस्कारको लाभ मिलेको वा अपवाद पनि हुन सक्यो। मेरो चासोचाहिँ लेखकले अध्ययन गरेरै लेखे वा कल्पनाको उडान भरे भन्ने मात्र हो।

समग्रमा…
अनेक कालखण्डमा तन्किएको तोरकीनमा मूल पात्र छेवाङ-कुन्साङको समय रेखा छुट्याउन लेखकले एक ठाउँमा मात्र ´माइलस्टोन` संकेत छोडेका छन्–२०५८ जेठ १९ को दरबार हत्याकाण्ड। यही संकेतको सूत्र फुकाउँदा उपन्यासको समय आयतन झन्डै असी वर्षको हुन आउँछ। उपन्यासको मध्य भागसम्म लेखकले जसरी धीर तरिकाले कथा बुनेका छन्, त्यसको ठिक विपरीत मध्याह्नपछि र अन्त्यतिर कथा/ घटनाक्रमलाई असाध्यै छिटो छिटो दौडाएका छन्।

आञ्जलिक हिसाबले मुस्ताङसँग साइनो नभएका लेखकले आफ्नो पहिलो आख्यानमै ´हिडन ट्रेजर` मानिने उपल्लो मुस्ताङको सूक्ष्म सामाजिक जीवनलाई रोज्नुमा लेखकलाई 'ग्रेस मार्क' दिन सकिन्छ। आफ्नै लवज, लय र रफ्तारमा बाँचेको उपल्लो मुस्ताङमा पछिल्लो समय जोडिँदै गएको मोटर बाटो र बढ्दै गएको आधुनिक विकासले कत्तिको प्रभाव पारे होला? मुस्ताङ (उपल्लो) नियाल्न  यो उपन्यासले आँखीझ्यालको काम गर्छ।

तोरकीनको सुरुवातमा छेवाङले आफ्ना दिवंगत बाबु नामग्यालसँगै छ्याङ र रक्सी पिउँदै चराङ नछाड्ने वाचा गरेको ´हेलुसिनेसन` संवाद रोचक छ। उपन्यासको अन्त्यमा ´डेट फरवार्ड` (अग्र मिति) मा पुगेर बूढो छेवाङले महाकालसँग गरेको अन्तरसंवाद र आत्मापुकार पनि मन छुने खालको छ।

"पोखरी नै प्यासले छटपटाइरहेको दृश्य निकै हृदयविदारक देखिँदो रहेछ" 

"म अब कहाँ जाऊँ? घर जाऊँ कि घाट?"

वियोग र एक्लोपनले किंकर्तव्यविमूढ बनेको छेवाङका अन्तिम उद्गारहरू वास्तवमै उपन्यासको लागि  शक्तिशाली क्लाईमेक्स बनेको छ। तोरकीन भित्रको आख्यानात्मक र काल्पनिक मिठासका हिसाबले टोकस्ने ठाउँ छन्, राँटा छोडेका छन्, सम्पादन र शाब्दिक बोसो हटाउन सकिने ठाउँ प्रशस्त छन्। र, पनि लेखकले विषय रोज्ने क्रममा हिमाली भूगोल, हिमाली जीवन, समाज, संस्कृति र पर्यावरणलाई जसरी मूलधारमा ल्याउन र उज्यालो देखाउन खोजेका छन्, त्यसका लागि लेखकलाई शुभकामना र बधाई भन्नै पर्छ।