राजनीतिको कालो बादल: कांग्रेसलाई जोखिम उच्च

ओली, देउवा र दाहालको पतनले नागरिकले आशाका किरण देख्न थालेका थिए। दलको नेतृत्वमा नयाँ पुस्ता आउने र उनीहरू सुधारिएसँगै देशमा सुशासनको वातावरण हाबी हुने जनविश्वास जागेको थियो।

कुशासनको बाक्लो कुहिरोभित्र फैलिएको भ्रष्टाचार, दण्डहीनता, जबाफदेहिताविहीन राज्य सञ्चालन प्रणाली तथा बनमारा घाँसझैँ फैलिएको नातावाद तथा कृपावाद आदिका कारणले गर्दा देशवासीमा चरम निराश फैलिएको थियो। भदौ २३ गते जेन–जीले कुशासनविरुद्ध गरेको आन्दोलनमा अपार जनसहभागिता रहनुमा व्याप्त निराशाले ठूलो भूमिका खेल्यो। आन्दोलनको भुमरीमा कुशासन-संवाहकमा रूपमा परिचित तीन पात्र—खड्गप्रसाद ओली, शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल परे। 

भदौ २४ गते राति आन्दोलन स्थगन भएसँगै यी तीनै नेताको सार्वजनिक जीवन सकिएको आकलन गरिएको थियो। आन्दोलनकारीले यी तीनलाई प्रजातन्त्र स्थापना पूर्वको डेरा-बासिन्दा तुल्याइदियो। साथै, तिनले प्रदर्शन गर्दै आएको अत्यन्त ढासापूर्ण र भद्दा जीवनशैलीको पनि अन्त हुने विश्वास धेरैले गरेका थिए। तिनको पतनले नागरिकले आशाका किरण देखिन थालेको थिए। दलको नेतृत्वमा नयाँ पुस्ता आउने र उनीहरू सुधारिएसँगै देशमा सुशासनको वातावरण हाबी हुने जनविश्वास जागेको थियो।     

तीनै जना पूर्व प्रधानमन्त्रीलाई आक्रोशित आन्दोलनकारीको आक्रमणबाट जोगाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्‍यो। सुरक्षाकर्मीको सौजन्यमा प्राप्त 'र्‍याबिट होल'बाट निस्केलगत्तै पुष्पकमल दाहाल तथा खड्गप्रसाद ओली पुरानै धन्दामा फर्किए। आन्दोलनकारीको संघातिक आक्रमणमा घाइते भएका देउवाको अवस्था भने तुलनात्मक रूपमा फरक थियो। तिनले आफ्नो अनुयायीलाई कार्यवाहक अध्यक्ष पद सुम्पिँदै उपचारका निम्ति सिंगापुर रमाना भए। यससँगै देउवाले राजनीतिबाट अवकाश लिएको अनुमान गरिएको थियो। सिंगापुरको औषधि उपचारबाट तङ्ग्रिएर फर्किएका देउवा पुनः सक्रिय राजनीतितर्फ उन्मुख देखिन्छन्। अलि ढिलै भए पनि, अन्य दुईजस्तै पुरानै धन्दामा सामेल हुन समय खेर नफाल्ने दाउमा छन् यिनी। 

प्रचण्डपथका प्रवर्तक दाहाल माओवादी दललाई विघटन गरेर सीमान्कृत हुँदै गरेका सामर्थकविहीन कम्युनिस्ट नेतालाई सँगालेर नेपाली कम्युनिस्ट पार्टी गठन गर्न लागि परे। तिनको यो प्रयासले 'सोम शर्माले लात्ता हानेर घैँटो फोरेको' प्राचीन कथा याद दिलाउँछ। दश दल सामेलीको उक्त दल तिनका निमित्त 'डूबतेको झील सहारा', नभए पनि पुनः 'म्याजिक नम्बर' हात पार्ने जादुको छडी हुन सक्छ।

तीनमध्ये सबैभन्दा बढी संख्या तथा बढी रकमका भ्रष्टाचार प्रकरणमा मुछिएका खड्गप्रसाद 'युद्ध सरदार' (वार लोर्ड) को रूपमा प्रकट हुन अग्रसर भएका छन्। विगतमा तिनले प्रचण्डको वाईसीएलको मुकाबाला गर्न 'युथफोर्स' निर्माण गराएका थिए। अब जेनजीको मुकाबला गर्न तिनले 'नेसनल भोलेन्टरी फोर्स' गठन गरेका छन्। जेन–जी समूह तथा खडगप्रसादको भोलेन्टरी सदस्यहरूबीच यसबीचमा मुठभेडसमेत हुन थालेको छ।

देउवा भने 'आधुनिक सकुनी'को पहिचान स्थापित गरेका, विगतमा कांग्रेसभित्र सानो आकारको 'स्थापनाइतर गुट'का नेताको वैशाखी टेक्दै मैदानमा उत्रेका छन्। उपत्यकाकै कुनै गुप्तस्थलमा बसेर कुटिल चालबाजकले दिएको रायसल्लाह ग्रहण गर्दै छन्। अर्कोतर्फ, आफूलाई दलको अंशियार ठान्ने, तीन स्वर्गीय संस्थापक नेता पुत्रहरूको संरक्षणको अभिभाराको बोझले पनि तिनलाई गाल्दै छ। देउवा पुनः स्थापित हुन खोज्नुमा 'जोतिसे'को ६ पटक प्रधानमन्त्री हुने जोगको मोहजाल समेत कारक छ। दल अध्यक्ष कायम रहुन्जेल तिनी प्रधानमन्त्री पदको हकदार भइरहन्छ नै।

कुनै पनि युद्धको विजय तथा अपराजयको जस/अपजस कमान्डरलाई जाने गर्छ। नेपालमा व्याप्त भ्रष्टाचार, बेथिति तथा विकृतिको जिम्मा तीन प्रमुख दल नेता र तिनका मुखियालाई जान्छ। वर्तमान अवस्थाबाट देश गुज्रनुमा यी तीनको भूमिका निर्णायक छ। दुलोबाट यिनले टाउको निकालेर जतिसुकै म्याउँ म्याउँ गरे पनि यिनले नागरिकको विश्वास गुमाइसकेका छन्। आगामी निर्वाचनमा यिनै तीन हाबी भए भने तिनले नेतृत्व गरेको दलको पत्तासाफ हुने निश्चित छ। तिनको छनौटमा परेका अधिकांश उम्मेदवार मतदाताको रोजाइ पर्ने छैनन्। अधिकांशले निर्वाचनमा हार बेहोर्नुपर्ने अवस्थामा मात्र होइन, जमानत जफत हुने प्रबल सम्भावना छ।

अतः नेतृत्वबाट यी तीनलाई अलग्याउनु ती दलका नेता तथा कार्यकर्ताका निमित्त जीवन मरणको प्रश्न भएर सामुन्ने खडा हुँदै छ। पूर्वमाओवादी अध्यक्षको संयोजकत्वमा गठन हुँदै गरेको नेपाली कम्युनिस्ट पार्टीका विषयमा माथापच्चीस गर्नु समय खेर फाल्नुझैँ हो। त्यसो हुँदा ध्यान एमाले तथा नेकातर्फ केन्द्रित गरिँदा उपयुक्त देखिन्छ। दुवैले नेतृत्व गरेको दलका निमित्त खड्गप्रसाद र शेरबहादुर घाँडो सिद्ध भएका छन्। पार्टी सक्काउनका लागि यी दुई कारक बन्ने देखिँदै छ। तिनलाई विस्थापित गर्ने एकल र वैध उपाय दुई दलको महाधिवेशन नै हो। खड्गप्रसादलाई चुनौती दिने 'अनटेस्टेड' अर्को नेता एमालेमा छैन। उनलाई चुनौती दिएर जोखिम मोल्न तयार देखिँदैनन् एमालेभित्रका स्वछ छवि भएका नेताहरू। खड्गप्रसादलाई चुनौती दिनेले केकस्तो परिणाम भोग्नुपर्छ, विगतबाटै उनीहरूले पाठ सिकिसकेका छन्। तर हिजोका दिनसम्म ओलीको विश्वासिलो कमरेड ईश्वर पोखरले अहिले आएर ओलीसँग प्रतिस्पर्धा गर्न अग्रसर भएका छन्, तर ओलीलाई अपदस्थ गर्ने सामर्थ्य तिनको भएझैँ लाग्दैन। 

नेपाली कांग्रेसको अवस्था एमालेको भन्दा अलि फरक छ। शेरबहादुरको अध्यक्ष पदमा रहने यो अन्तिम अवसर हो। आवधिक महाअधिवेशन होस् अथवा विशेष महाधिवेशन, जेसुकै भए पनि शेरबहादुरले अब अध्यक्ष पद छोड्नैपर्छ। देउवालाई राम्रोसँग थाहा छ कि सभापति पद गुम्दा तिनी दाह्रा तथा नंग्राविहीन 'बुढो शेर'मा परिणत हुनेछन्। तिनी हाबी भएको खण्डमा मात्रै भोलि सत्ता प्राप्तिका खातिर तिनले खड्गप्रसाद, अन्यथा पुष्पकमलको साथ पाउने हुन्। आफ्नो सत्ता कायम राख्न, पहिलेझैँ कांग्रेसजनलाई हँसिया हतौडा अथवा सूर्य चिन्हमा आफ्नो मत दिने आदेश जारी गराउन सक्छन् तिनले। तिनले निर्वाचनमा चयन गर्ने कांग्रेसी उम्मेदवारको भविष्यवाणी गर्न माथापच्चिस गर्नु पर्दैन। तर, शेरबहादुर र खड्गप्रसादले छानेका उम्मेदवारहरूमध्ये अधिकांशको जमानत जफत नभए पनि तिनले हार त बेहोर्ने देखिन्छ। 

शेरबहादुरद्वारा दललाई हुन सक्ने क्षतिबाट जोगाउन डा. शेखर कोइराला तथा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लागि परेका छन्। यी तीन नेताले १५ औँ महाधिवेशन समयमै गरिनु पर्ने माग गर्दै आएका हुन्। शेरबहादुर भने जसरी हुन्छ महाधिवेशन हुन नदिने 'तिकडम' चलाउँदै आएका थिए। जेन–जी आन्दोलन पछिका दिनमा तीव्र गतिमा विकास भएका तथा हुँदै गरेका राजनीतिक घटना नियालेर हेर्ने हो भने आउँदा दिन डा. कोइराला तथा दुवै महामन्त्रीको राजनीतिक भविष्यका निमित्त मात्र होइन, कांग्रेस दलकै निमित्त अत्यन्त जोखिमपूर्ण हुँदै गरेको देखा पर्दै छ।

नेपालमा कम्युनिस्ट दलहरूले निरन्तरता पाइराख्नुका धेरै कारण छन्, तर कांग्रेसलाई त्यस्तो सुविधा छैन। स्थापन तथा संगठित हुँदै गरेका अधिकांस दल लोकतन्त्रमा विश्वास राख्नेहरू नै छन्। उनीहरूको प्रतिस्पर्धा लोकतन्त्रमा विश्वास गर्ने तर लोकतान्त्रिक आचरण गुमाउँदै गरेको कांग्रेससँग नै हुने हो। अर्थात् कांग्रेस मतदाताले थुप्रै लोकतन्त्रवादी उम्मेदवारमध्ये एक छान्ने अवसर पाएका छन्।

त्यस कारणले गर्दा आउँदो चुनावमा नेकाको भोट विभाजित हुने प्रबल सम्भावनासमेत छ। योसमेत कारणले, पुनः आउँदो निर्वाचनमा समेत यस दलले 'लज्जास्पद हार' बेहोर्नु परेको खण्डमा नेकाको नियति भारतीय कांग्रेसको हुनेछ। अपूर्व रूपमा कांग्रेसका धेरै नेता तथा कार्यकर्ता अन्य लोकतान्त्रिक दलतर्फ आकर्षित हुनेछन्। अरू त अरू गगन थापाजस्ता प्रतिभाशाली नेतालाई पनि कांग्रेसविरोधी जनाधारले पाखा लगाउन सक्ने उच्च जोखिम देखिन्छ। नेपाली राजनीतिक धरातलमा मडारिँदै गरेको कालोबादल नेपाली कांग्रेसको भविष्यका निमित्त घातक सिद्ध हुने प्रचुर सम्भावना छ।

(उकोलोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)