बाजुराको मार्तडीमा आगलागी, फर्निचर उद्योग र ग्यारेजमा क्षति

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ।

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार आगलागी भएको छ। आगलागीबाट ठूलो परिमाणमा धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार, आगलागी बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार सर्ट भएर शुरू भएको हो। आगलागी शुरू हुँदा पसलभित्र काठको काम चलिरहेको थियो।

आगलागीका कारण बडीमालिका–८ तल्लो जिउलामा सञ्चालित फर्निचर उद्योग र गाडीको ग्यारेजमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।

प्रहरी निरीक्षक जोशीका अनुसार, सुरक्षाकर्मी र स्थानीयको तत्कालको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। क्षतिको यकिन विवरण आइनसकेको उनले बताए।