रोसिङटनको शतकमा पोखराको जित, कर्णाली ३४ रनले पराजित

पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा एडम रोसिङटनको शतकप्रेरित पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ। पोखराले कर्णालीलाई ३४ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ।

पोखरासँग पराजित भएसँगै कर्णाली एक खेलअगावै बाहिरिएको छ। कर्णालीले ६ खेलबाट २ अंक मात्रै जोडेको छ। विजयी पोखराले भने पाँच खेलबाट चार अंक पुर्‍याउँदै प्लेअफको सम्भावना कायम राखेको हो।

मंगलबार भएको दोस्रो खेलमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो।

कर्णालीका ओपनर मार्क वाटले अर्धशतकीय इनिङ्स खेले। उनले ३४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५९ रन बनाए। त्यस्तै, नजिबुल्लाह जद्रानले २४, पवन सराफले १९, प्रियांक पञ्चालले १६, सोमपाल कामीले १३ र दिपेन्द्र रावतले १० रन बनाउँदा अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पोखराका लागि घातक बलिङ गर्ने क्रममा धनञ्जय लक्षण र ऋषि धवनले समान ३/३ विकेट लिए। त्यस्तै, किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलका नाममा १/१ विकेट रह्यो।

त्यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनाएको थियो।

यो जारी सिजनको दोस्रो उच्च स्कोर हो। यसअघि विराटनगर किङ्सले पनि पोखराविरुद्ध २२० रन बनाएको थियो। यो एनपीएलमा हालसम्मको उच्च स्कोर हो।

पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे। यस्तै, जेसन रोयले ४६, धनञ्जय लक्षनले २३ र कुशल भुर्तेलले १८ रन जोडेका थिए।

कर्णालीका नन्दन यादव र मार्क वाटले १/१ विकेट लिए। यसअघि मंगलबार भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले पराजित गरेको थियो।