नेप्से परिसूचकमा झिनो अंकको गिरावट, ४ अर्ब ४८ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको हो।

यस दिन ३२४ कम्पनीको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार ९ पटक खरिदबिक्री हुँदा चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।

मंगलबारको कारोबारमा बैंकिङ ०.५८, होटल तथा पर्यटन ०.६२, लगानी ०.०४, जीवन बिमा ०.५७ र लघुवित्त समूह ०.०६ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। विकास बैंक ०.१७, वित्त ०.२७, जलविद्युत् ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, म्युचुअल फन्ड ०.२५, निर्जीवन बिमा ०.२६ र व्यापार समूहको उपसूचक ०.७५ प्रतिशतले बढेको छ।

यस दिनको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, मबिलुङ इनर्जी, बुँगल हाइड्रो र श्रीनगर एग्रिटेक इन्ड्रस्टिजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। सबैभन्दा धेरै गुमाउनेमा भने ग्रिन भेन्चर्सको शेयर मूल्य ९.८५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै युनियन हाइड्रोपावरको ३१ करोड ८१ लाख ३५ हजार ४७९ रुपैयाँ बराबरको ६ लाख ३४ हजार ३१९ कित्ता शेयर किनबेच भएको छ।