वाइडबडी प्रकरण: अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा दियो पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

विशेष अदालतले उक्त मुद्दामा केहीलाई मात्र दोषी ठहर गरेको र धेरैलाई सफाइ दिएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदनको निवेदन दिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

विशेष अदालतको फैसलामा तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो। यद्यपि, अदालतले ११ जना आरोपीलाई भने दोषी ठहर गरेको थियो।

अख्तियारले उक्त फैसला त्रुटिपूर्ण रहेको जनाउँदै त्यसलाई बदर गरी सबै आरोपितलाई सजाय हुनुपर्ने मागसहित पुनरावेदनपत्र दर्ता गरेको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगले विसं २०८० चैत २२ गते आरोपपत्र दायर गरेको थियो भने गत मंसिर २० गते विशेष अदालतले फैसला सुनाएको थियो।

विमान खरिद प्रकरणमा पूर्वमन्त्री शाही, पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित २४ जना नेपाली, ६ विदेशी व्यक्ति र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध मुद्दा चलाइएको थियो। एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको थियो।