Friday, June 28, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ: एनटीसीको एमडीमा ‘आफ्ना’लाई तान्न मापदण्ड हेरफेर, पाथीभरामा केबलकारले निम्त्यायो भिडन्त

यो साता उकालोमा पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त, गृहमन्त्री र महान्यायाधिवक्ता जोडिएका मुद्दाको उकुसमुकुस, अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा? सहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ एनटीसीको एमडीमा ‘आफ्ना’लाई तान्न मापदण्ड हेरफेर पाथीभरामा केबलकारले निम्त्यायो भिडन्त

राजधानी काठमाडौँ लगायत देशका विभिन्न भूभागमा तापक्रम बढ्ने क्रम जारी रहँदा पूर्वबाट मनसुन समयअगावै नेपाल भित्रिएको खबरले भौतिक शीतलता प्रदान नगरे पनि मनोवैज्ञानिक राहत दिएको छ। तापक्रम घटेन, तर सप्ताह शुरू हुँदै गर्दा निरन्तर उकालो लाग्दै गरेको सुनको मूल्य भने प्रतितोला चार हजार रुपैयाँले घटेको थियो।

त्यसैगरी केही समयदेखि सदन तताइरहेको ‘सहकारी’ मुद्दाले हल्का मन्दी लिन खोजिरहँदा सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई विपक्षी बनाइएको मुद्दामा रुपन्देही जिल्ला अदालतमा दायर मुद्दाको मिसिल झिकाउन आदेश दिएसँगै सहकारी ठगी प्रकरणमा नयाँ तरंग थपिएको छ। सर्वोच्चले गत सोमबार बुटवलको सुप्रिम सहकारीको बचत रकममा भएको ठगीविरूद्ध जिल्ला अदालतमा दायर मुद्दाको मिसिल झिकाउन आदेश दिएको थियो। सर्वोच्चले अग्राधिकार दिएको सहकारी ठगी प्रकरणको मुद्दालाई लिएर गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेल मात्र होइन, सत्ता गठबन्धनकै भविष्यबारेसमेत विभिन्न अड्कलबाजी गर्न थालिएको छ।

सुनदेखि शरणार्थी तस्करी, सार्वजनिकदेखि निजी क्षेत्रका जग्गा ‘स्क्याम’ र भ्रष्टाचारका अनेक खबरले तरंगित भइरहने सामाजिक/मिडिया स्पेसले पछिल्लो समय सहकारी मुद्दासँगै समानान्तर चलिरहेको चिया ‘काण्ड’को विकासक्रम नियालिरहेको छ–चिया अर्थात् गिरीबन्धु टी–एस्टेट प्रकरण। उकालोले पछिल्लो समय निरन्तर यस विषय सम्बन्धित सामग्री प्रकाशित गरिरहेको छ। चियाबगानका लागि दर्ता छुट दिइएको झापास्थित गिरीबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टा गर्न सरकारले स्वीकृति दिए पनि सर्वोच्च अदालतले उल्ट्याइदिएपछि यसका प्रमुख सञ्चालक छत्रबहादुर गिरी चर्चामा छन्। बिर्तामोडस्थित गिरीबन्धुको ३४४ बिघा जमिन सट्टापट्टा गरेर उक्त स्थानमा स्मार्ट–सिटी बनाउने योजना असफल भएपछि उनी झापादेखि काठमाडौँसम्मका सानाठूला उद्यमीबाट उठाइएको करोडौँ रुपैयाँ फिर्ता गर्नुपर्ने दबाबमा छन्। पछिल्लो समय दीपक मल्होत्रासँग यस प्रकरणको सन्दर्भमा वार्तालाप गरेपछि उकालोले सञ्चारमाध्यमको सम्पर्कमा विरलै आउने गिरीसँसग छोटो कुराकानी गरेको थियो उक्त वार्तालापमा गिरीले सरकारले उनीहरूलाई फसाएको दाबी गरेका थिए भने राज्यले चाहे गिरीबन्धु लगेर क्षतिपूर्ति दिनसक्ने बताएका थिए।

राजधानी सहकारीमय हुने क्रम उकालो–ओरालो लागिरहँदा करिब १९३ किमी पूर्वस्थित सर्लाहीतिर अर्को खबर विकासित हुँदै थियो। बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा अनियमितता गरेको आरोपमा नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर भएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल निलम्बित अवस्थामा रहेका थापासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो। यसअघि थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले मुद्दा दायर गरेपछि उनी पदबाट निलम्बित छन्।

अर्कोतिर, ताप्लेजुङमा स्थानीयको विरोधका बाबजुद व्यवसायी चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माण थालेपछि भिडन्त निम्तिएको छ। प्रहरी तैनाथ गरेर वैशाख ३१ गते राति २ बजे रूख कटान थाल्दा स्थानीय प्रतिकार गर्न पुगेका थिए। सार्वजनिक सम्पत्तिका रूपमा रहेका देशका सार्वजनिक वन तथा संरक्षण क्षेत्रमा रहेका आकर्षक पर्यटकीय गन्तव्यमा ढकालले केबलकार र होटल निर्माणको अभियानै चलाइरहेका छन्। पाथीभरा क्षेत्रमा पनि सामुदायिक वन मासेर उनले केबलकार निर्माण थालेपछि स्थानीय आदिवासी प्रतिकारमा उत्रिएका हुन्। पाथीभरा मन्दिर सिम्बु पाथीभरा सामुदायिक वन क्षेत्रमा पर्छ।

यो हप्ता चर्चामा राखेको अर्को हेड्लाइन ‘नेपाल टेलिकमको एमडी नियुक्ति : मापदण्ड फेर्दै, ‘आफ्ना’लाई तान्दै’ रह्यो। यो रिपोर्टमा नेपाल टेलिकममा प्रबन्ध निर्देशक रहेका सुनील पौडेल गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एउटा मुद्दामा पक्राउ परेपछि माघदेखि रिक्त रहेको उक्त पदको वरिपरी भइरहेको राजनीतिबारे चर्चा गरिएको छ। टेलिकमको नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्तिका लागि मापदण्ड हेरफेरको क्रम फेरि दोहोरिएको छ। मापदण्ड फेरिएसँगै नयाँ एमडी नियुक्ति प्रक्रिया विवादित बनेको छ। करिब ९१ प्रतिशत नेपाल सरकारको स्वामित्व रहेको देशको प्रमुख दूरसञ्चार सेवाप्रदायक टेलिकम निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। टेलिकमको प्रबन्ध निर्देशक पदका लागि सरकारले जेठ २२ गते दरखास्त आह्वान गरेपछि मापदण्ड फेरिएको तथ्य सार्वजनिक भएको थियो।

यसैगरी भारतमा नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएसँगै बढेको हल्लाखल्ला उनले शपथग्रहण गरेसँगै केही मत्थर भएको छ। विभिन्न एक्जिटपोलले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पहिलेभन्दा शक्तिशाली हुने प्रक्षेपण गरे पनि मतदान गन्न शुरू भए सँगैका रुझानले अर्कै तस्वीर चित्रण गर्न थाल्यो र भाजपा पछिल्ला तीन निर्वाचनकै सबैभन्दा कमजोर स्थितिमा आइपुग्यो। दुईपटक बहुमत हासिल गरेको सर्वशक्तिमान दलले बहुमत गुमाउँदै गठबन्धनको भरपर्न परेसँगै सरकार गठनबारे अनेक चर्चा, अड्कल्बाजी भए। विपक्षीले एनडीए (सत्ता गठबन्धन)का सहयात्री दल तानेर सरकार गठन गर्ने, भाजपाकै सरकार बने पनि 'संघ फ्याक्टर'का कारण मोदी प्रधानमन्त्री नबन्नेसम्मका अन्दाज भए। अन्तत: विपक्षी गठबन्धनभन्दा एक्लै बढी सिट ल्याएको उक्त दलका ‘पोस्टरबोइ’ नरेन्द्र मोदीको शपथग्रहण सँगै सबै प्रकारका अनुमानकारितामा ब्रेक लागेको छ, हालका लागि।

अब हेरौँ यो साता उकालोमा प्रकाशित केही प्रमुख हेडलाइन।

समाज

दुर्घटना, सोती नरसंहार र भूकम्पमा परिवार गुमाएकी लक्ष्मीको अर्को पीडा
सवारी दुर्घटनामा श्रीमान् गुमाइन्, सोती हत्याकाण्डमा छोरा। वियोगैवियोगमाथि  विनाशकारी भूकम्प थपियो र घर भत्कियो, उनी घाइते भइन्। शोक र भूकम्पको घाउले लक्ष्मी सुनारलाई अझै पोलिरहेको छ।

अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा?
अमेरिकाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, प्रख्यात फुटबलर म्याराडोना, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला, बलिउड अभिनेता शाहरूख खानलाई पनि भिसा दिएको थिएन। किन अस्वीकार हुन्छ भिसा?

‘क्लोज्ड हौँ या ओपन, प्राइड परेडले लिबरेटेड महसुस गराउँछ’
साथीभाइ र समुदायमाझ आफ्नो लैंगिक पहिचान खुल्लाए पनि परिवारसँग यस विषयमा बहस गर्न नसकिरहेकाहरू परेडले व्यक्तिगत रूपमा ‘लिबरेटेड’ महसुस गराउने बताउँछन्।

नेपालको माग जलवायु वित्तमा सहज पहुँच, अनुदानसमेत खर्च नगर्दा क्षमतामै प्रश्न
जलवायु वित्तमा सहज पहुँचको विषय नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लगातार उठाउने गरेको छ तर जलवायुका नाममा आउने अनुदान रकम खर्च गर्न नसकेपछि सरकारको क्षमतामै प्रश्न उठ्न थालेको छ।

शहरमा गाईपालक कृषक, सघाउँदै ललितपुरको वडा कार्यालय (भिडियो कथा)
ललितपुर महानगर-१८ का किसानलाई दूध बिक्रीमा समस्या छैन, वरिपरिकै माग पुर्‍याउन मुस्किल छ। तर शहरी क्षेत्रमा गाई पाल्नै मुस्किल छ। यो समस्या बुझेर वडा कार्यालयले थालेको सहयोगबाट किसान खुशी छन्।

पदमार्ग र जैविक विविधता मासेर कञ्चनजंघा संरक्षण क्षेत्रभरि हाइड्रो
संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्‌मा, सिम्बुवा र काबेली नदीमा १३ वटा हाइड्रो निर्माण प्रक्रियामा छन्। कतिपय आयोजना कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तुको वासस्थानमा पर्छन्।

कला, साहित्य, सम्पदा

प्रदर्शनीमा पाटनक्षेत्रका उमामहेश्वर मूर्ति : कतै बेवारिसे, कतै राख्ने ठाउँ अतिक्रमित
पाटन क्षेत्रका उमामहेश्वरका मूर्ति र तिनको तस्वीर प्रदर्शनीमा राख्ने अध्येतामध्येकी एक रिझा कतै बेवास्थाले तथा कतै पूजा गर्दा अबिर दल्ने र सफा नगर्ने चलनले ती मूर्तिको अवस्था बिग्रिँदै गएको बताउँछिन्।

वाङले देखेको हिमाल
‘कुनै घरमा मान्छे बसेन वा आगो बलेन भने भँगेरा बस्दैन’ भनेर बुढापाकाले भनेको वाङ लामाले कयौँ पटक सुनेका थिए। गाउँ रित्तिदै जान थालेपछि भँगेरा पनि बसाइँ सरेका हुन् कि!

उमेर ९ दशक पार गरेकी भद्रकुमारीको लेखन आदत
सामान्यतः राति अरूको सुत्ने बेला हुँदा भद्रकुमारी घले उठ्छिन्। त्यसपछि शुरू हुन्छ लेखन यात्रा। उनको कलम रातभरि चलिरहन्छ। जब उज्यालोका किरण झर्छन् र मान्छेहरू कल्याङमल्याङ गर्छन्, उनको कलम बन्द हुन्छ।

जुद्धोदय स्कुलको जग्गामा सञ्चालित सटर काठमाडौँ महानगरले बन्द गरायो (तस्वीरहरू)
काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटीस्थित जुद्धादय माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू बन्द गराएको छ। महानगरको टोलीले सोमबार जुद्धादय माध्यमिक विद्यालयको भवन क्षेत्रमा निर्माण गरिएका सटरहरू बन्द गर्न लगाएको हो। जुद्धोदय पब्लिक स्कुलका तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले विद्यालयमा बालबालिका खेल्ने खेल मैदानसमेत नराखी १६ वर्षअघि विद्यालयको जग्गा व्यापारी एवं ठेकेदार मनोज मिश्रको कम्पनी ‘तरुण निर्माण सेवा प्रालि’लाई लिजमा दिएका थिए। जग्गाको लिज सम्झौता र त्यसमा निर्मित कम्प्लेक्सलाई काठमाडौँ महानगरको छानबिन समितिले गैरकानूनी ठहर गरेको छ। 

तस्वीर : काठमाडौँ महानगरको फेसबुक पेज

उकालो–संवाद

तलेजुको हार फर्काउन नेपालको गृहकार्य पूरा भैसकेको छ : एरिन एल. थोम्सन

‘यहाँ हजारौँको संख्यामा अझै पनि मठमन्दिर, मूर्तिहरू छन् जुन अवलोकन गर्दा अलौकिक आनन्द लाग्छ। तर तिनै सम्पदा निजी संग्रहकर्ताको घरमा पुगेपछि त्यसको अर्थ र महत्त्व त्यति रहँदैन। अहिले यस्तै स्थिति छ ।’

‘आर्थिक संकट अमेरिकाका विश्वविद्यालयलाई पनि छ’
रकेट उडाउँदा पनि अंग्रेजी विभागको मानिस आवश्यक पर्छ। वैज्ञानिकहरू नयाँ कुरा पत्ता लगाइरहेका हुन्छन्। त्यसबारे बाँकी संसारसँग ‘कम्युनिकेट’ गर्न पनि फरक विधाका मान्छे आवश्यक पर्छन्।

विचार-टिप्पणी

कोही किन राजदूत बनोस्...
नेपालमा राजनीतिक नेताहरूको गर्भे गोजीबाट निकालिएका अमुक पात्रहरू राजदूत बनेर जाने र रमिते हुँदै फर्कने ट्रेन्ड त अब ‘सनातनी’ भैसकेको छ। यसमा न प्रश्न छ, न जवाफ। 

स्थिर सरकार : वारि–पारिका कुरा
भारतको अभ्यासले भन्छ, एकाधचोटि पछारिएपछि पुराना दल सम्हालिएर टिक्न अभ्यास गरे सकिन्छ। तर स‌विधान संशोधन गरी चुनाव प्रणाली फेरे पनि हामी त्यसो गर्नेवाला छैनौँ।

माइला–माइलीहरू गाउँमा रोकिने छाँट छैन
व्यापक आप्रवासनको यस युगमा माइला–माइलीहरू लामो ‘माइलेज’को यात्रामा छन्। उनीहरूको रोकिने छाँट छैन। हामीहरू नै रोकिएका छौँ र?

नेपाल–भारत सम्बन्धमा ‘ब्लेम गेम’
सधैँ भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै जडवत शैलीमा बसिरहने हो भने आपसी सम्बन्धको घेरा अझ संकुचित भएर र अझ अनर्थकारी बनेर जाने निश्चित छ।

अर्थ 

गण्डकी प्रदेशको पाँच वर्षको बजेट : जसको शक्ति त्यहीँ विनियोजन (डेटा स्टोरी)
गण्डकी प्रदेश सरकारमा पछिल्लो पाँच वर्ष मुख्यमन्त्री वा अर्थमन्त्रीको कार्यभार अधिकांश तनहुँ जिल्लाका नेताले सम्हालेका छन् र स्थानीय तहलाई दिने अनुदान पनि त्यहीँ सबैभन्दा बढी गएको छ।

बजेटको मार भान्छामा, कुन–कुन तरकारी र खाद्यान्नमा पर्दैछ प्रभाव?
आगामी वर्षको बजेटमा करका दर हेरफेर हुँदा भान्सामा दैनिक उपभोग्य खाद्यान्न र तरकारी/फलफूलको समेत लागत बढ्ने देखिएको छ। बजेटले दाल उद्योगको कच्चा पदार्थ गेडागुडी/दलहन आयातमा पनि अग्रिम आयकर लगाएको छ।

स्वास्थ्य

प्रिन्याटल र पोस्टपार्टम डिप्रेसन: सामाजिक बुझाइ र अभ्यास
संसारका लगभग २८ करोड मान्छेलाई डिप्रेसन छ भने यो समस्या पुरुषको तुलनामा महिलालाई ५० प्रतिशत बढी छ। १० प्रतिशत गर्भवती तथा सुत्केरीमा डिप्रेसनको समस्या छ।

विदेश

कुवेतमा कामदार रहेको भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु, धेरैजसो भारतीय
मध्य गाजामा इजरायली हमला: २१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु
गाजाबाट ४ इजरायली बन्धकको उद्धार, ३७ हजार प्यालेस्टिनीले गुमाए ज्यान


सम्बन्धित सामग्री