मनाङमा हराए हिमालका हिउँ र ताल, भेटिँदै माछा

मनाङमा कात्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन। वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन्।

मनाङ– हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित छन्। उनी भन्छन्, “विगतमा मानिस र जंगलका बोटबिरुवा फरक भएको देखिन्थ्यो। तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ।”

उनी अगाडि भन्छन्, “हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो। अहिले बगर बनेको छ। ताल नै छैन। त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन। आँखैअगाडि ताल सुक्यो, हिमाल हरायो।” पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउँछन्। 

उनी भन्छन्, “किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ। समयमा हिमपात हुनै छाड्यो। यसले यहाँ धेरै असर गरेको छ। समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन्। हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ।” उनलाई बिस्तारै मनाङको स्थानीयस्तरको व्यवसाय पूर्ण रूपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उनी बताउँछन्। याङदुङ भन्छन्, “हिमाली भेगमा पानी भनेकै हिउँ हो। हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखा पर्ने भएको छ।” 

जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ। जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रूपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्नेछन्। 

नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउँछन्। उनी भन्छन्, “पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौँ। अहिले लार्के पिक हराएको छ।” 

“मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ। तर त्यो लार्के पिक अहिले छैन”, गुरुङ थपे, “२०४३ सालसम्म लार्के पिक थियो। अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । यसबारे सरकारले अध्ययन नै गरेको छैन। यस्ता विषयलाई सरकारले गम्भीर रूपमा लिन सक्नुपर्ने हो।” 

पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो। “हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने। हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ”, गुरुङ भन्छन्, “उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ। बेलाबेलामा विपद् खेप्नुपरेको छ। तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्नसमेत सकिरहेका छैनौँ।”

पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताउँछन्। अरू क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उनको भनाइ छ। उनी भन्छन्, “यहीँको गङ्गापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो। हामीले देखेका यी हिमनदी (ग्लेसियर) माथि सरेका छन्। यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ?” नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्छन्, “ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो। कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म परेको हिउँ लामो समय रहन्थ्यो। आजभोलि आरीघोप्टे पानी पो पर्छ। गएको वर्ष त हिउँ देख्न पनि पाइन्न भन्दा भन्दै बेमौसममा हिउँ पर्‍यो। त्यो पनि पर्याप्त परेन।” 

खेतबारीमा पहिले भएका जीवकीरा हराएको र नयाँ प्रजातिका कीरा देखिन थालेका उनी बताउँछन्। “यहाँका डाँडाहरूमा भेटिने हाब्रे पनि लोप भएका छन्। डोना तालको बाटोबाट गोठमा जाँदा ४०–५० वटा हाब्रे भेट्थ्यौँ। एउटै रूखमा ५–७ वटा हुन्थ्यो । १० वर्षअगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो। आजभोलि खोज्दा पनि देखिदैन”, उनी भन्छन्। 

हिमाली जिल्लामा विपद्
विसं २०७८ मा मनसुनको शुरूआतमै विपद् आइलाग्यो। मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पुर्‍यायो। मर्स्याङ्दी किनारका बस्ती खण्डहर भए। विसं २०७८ जेठ १४ र असार १ गते अनावृष्टि भयो। अनावृष्टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो। जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन। मर्स्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन्। विगतमा हिउँ पर्ने स्थानमा नै अहिले वर्षा हुन थालेको छ। यसले पनि यहाँका स्थानीयमा त्रास छ। 

मर्स्याङ्दीमा यस्तो ठूलो र क्षति पुर्‍याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका स्थानीय बताउँछन्। “नदी किनारमै झुप्प परेर बसेको बस्ती सखाप पर्छ भनेर नै सोचिएन। एक्कासि बाढी आउँदा हाम्रा जिजुबाजेको पालादेखि बसेको बस्ती सखाप भयो। हामीभन्दा पनि ज्येष्ठ व्यक्तित्वले समेत यस्ता बाढी आएको कसैले नदेखेको र नभोगेको प्रलय तालगाउँबासीले भोग्यौँ,” नासों गाउँपालिका–१ का वडाध्यक्ष मिनराशी गुरुङ भन्छन्, “अलिअलि जानेका मान्छेले जलवायु परिवर्तनको असर भनिरहेका छन्। परम्परागत बुझाइअनुसार कली बहुलाएको भन्ने पनि गरिन्छ।”

उनले तालगाउँका खोलामा बिस्तारै माछा भेटिन थालेको बताए। “यहाँका खोला नदीमा माछा नै पाइँदैन थियो। अहिले देखिन थालेको छ। यति चिसो पानीमा माछा हुर्किने परको कुरा, बाँच्दै बाँच्दैनथ्यो। पहिला पहिला हामीले माछा पाल्न प्रयास गरेका हौँ। तर ल्याएर हालिएको भुरा नै मरे,” उनले भने, “आजभोलि खोलामा माछा मज्जासँग खेलिरहेको देखिन्छ। अनौठै लाग्छ।”

चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ। तर, विगतमा ट्राउट माछा बाँच्नै नसक्ने भए पनि अहिले व्यावसायिक रूपमा पाल्न थालिएको उनले बताए। नासों गाउँपालिका–६ तिल्चेका होटल व्यवसायी गुणराज गुरुङ भन्छन्, “हिउँ पर्ने सिजन नै फेरिएको छ। हामीले उत्पादनमा जलवायु परिवर्तनको अनुभव गरिरहेका छौँ।” 

“पुस–माघमा बेस्सरी हिउँ पर्थ्यो। आजकल वैशाख, जेठमा पर्छ। यसको कारण के हो? झारपातमा पनि धेरै फरकपन आएको छ। नौलो नौलो झारपात देखिन थालेका छन्। हाम्रो ठाउँमा खुर्सानी र गोलभेँडा हुन्थेन। आजभोलि व्यावसायिक खेती हुन थालेको छ। भेडेखुर्सानी मजाले उत्पादन भइरहेको छ,” उनी भन्छन्।

यहाँ उत्पादन नै नहुने फलफूल तथा तरकारीको उत्पादन हुन थालेको उनी बताउँछन्। “प्याज, काँक्रो पनि उत्पादन हुन थालेको छ,” उनी भन्छन्, “यहाँको तापक्रममा पनि परिवर्तन आएको छ। विगतमा बाक्लो ज्याकेट र स्विटर लगाएर बस्ने हामी अहिले दिउँसोमा टिसर्ट लगाएर बस्छौँ,” गुणराज भन्छन्, “कारण के हो भन्ने त हामी गाउँलेलाई के थाहा? तर वर्षैपिच्छे दैनिकीमा ठूलो अन्तर भोगिरहेका छौँ।” हिउँ पर्ने स्थानमा अहिले झरी पर्न थालेको उनी सुनाउँछन्। 

दुई वर्षअघि तल्लो मनाङमा मात्रै होइन, जिल्लाको सुदूर उत्तरमा रहेका नार र फूमा पनि झरी पर्‍यो। हिउँ मात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे। अघिल्लो वर्षामा पानी पर्दा माटोको छाना चुहिन थाल्यो। केही घर बगायो पनि। “आम्मामा पहिलो पटक फूमा यत्रो ठूलो झरी पर्‍यो। गाउँलेको भागदौड नै चल्यो नि,” नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामा भन्छन्, “ग्लेसियर पग्लेर जमिन मरुभूमि जस्तो हुन थालेको छ। गाउँलेको जीवनमा धेरै संकट आइरहेको छ।” उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरू हराएको उनी बताउँछन्। 

नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ। सन् १९९४ मा नाप्दा तालको लम्बाइ एक हजार तीन सय मिटर थियो। सन् २०११ मा नाप्दा दुई हजार पाँच सय मिटर पुग्यो। अहिले नाप्यो भने अझै बढेको छ। “तालको लम्बाइ बढ्यो, चौडाइचाहिँ घटेको छ । कुन दिन के हुने हो भनेर चिन्ता बढेको छ,” नासों–५ का वडाध्यक्ष थुतेन लामा भन्छन्। अचेलका अव्यवस्थित विकासका कारण भू–क्षयका घटना बढेका उनी बताउँछन्। 

हिमाली क्षेत्रमा लामो समय अनुभव बटुलेका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रूप देखाएको बताउँछन्। “हामी हिमाली क्षेत्रको भ्रमण गर्दा हिजो जस्तो अवस्था थियो, आज त्यस्तो कहाँ पाउनु? माथिल्लो क्षेत्रको स्वभाव धेरै फेरिएको छ,” उनी भन्छन्, “जंगलमा पहिरो झर्ने, बाढी आउने भइरहेको छ। गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडो हुन थालेको छ।” सरकारले समयमै जलवायु परिवर्तनको नियन्त्रणको उपाय खोज्नुपर्ने उनको भनाइ छ। 

 

पर्याप्त हिउँ परेन
गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन। विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामा नै हिउँ परेन। गत वर्षको फागुन महिनाको मध्यसम्म हिमपात नै भएन। सो समयमा आंशिक मात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे बताउँछन्। “पहिले पहिलेको जस्तो गत वर्ष हिउँ नै पर्न सकेन”, उनले भने, “यस वर्ष शुरूआती हिमपात भयो। जाडो शुरू भएको छ। डाँडा माथिल्लो भागमा भने हिउँ परेको देखिन्छ, तर बजार क्षेत्रमा हिउँ पर्न सकेको छैन।”

गत वर्ष हिमपात बढी हुने क्षेत्र माथिल्लो मनाङमा आंशिक रूपमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका ओमबहादुर गुरुङले बताए। “विगतका वर्षमा हिउँले डाँडाकाँडा, भिरपाखा सेताम्मे भएर ढाकिएको हुन्थ्यो, गत वर्ष आंशिक रूपमा देख्न पनि मुस्किल भयो,” उनले भने। 

हिमपात नहुँदा यसले विशेष गरी कृषि क्षेत्रमा असर पर्‍यो, मनाङका कृषक चिन्तित भए। हिमाली जिल्लामा नै हिमपात नभएपछि यहाँका मानिस के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको ताचैका सोलबहादुर गुरुङ बताउँछन्। “मनाङको मुख्य उत्पादन भनेको फापर, करु, जौ, आलु, कोलो, स्याउ हो, हिमपात नहुँदा पानीको अभावले यी कृषि उपज उत्पादन हुन पर्याप्त पानीको मात्रा पुगेन र यस वर्ष उत्पादन राम्रो भएन”, उनले भने। 

मनाङमा कात्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन। वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन्। यसरी हिउँको पानी सिञ्चित भएर खेतीपाती गरिने स्थानमा हिमपात नहुँदा मनाङ लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषकको उत्पादन घट्ने क्रम बढ्दो छ। 

हिउँ चितुवाको संरक्षण 
हिउँ चितुवालाई हिमालको रानी मानिन्छ। यसले हिमाली क्षेत्रको वातावरणको सूचक पनि हो हिउँ चितुवा। अहिले हिमाली क्षेत्रमा नै लोपोन्मुख अवस्थामा पुगेका छन्। लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको हिउँ चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले बताए। उनले भने, “हिउँ चितुवाको भूमिकालाई मानवले बुझ्न आवश्यक रहेको छ।”

उनका अनुसार लोपोन्मुख हिउँ चितुवाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था रहेको छ। उनले भने, “अब हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आगमनलाई वृद्धि गर्नुपर्छ । हाम्रो मुख्य आयस्तर नै पर्यटन भएकाले यसको पनि उपयोग गर्नुपर्छ।” हिउँ चितुवा वृद्धिले वातावरण सन्तुलनको सन्देश जाने उनले बताए। हिउँ चितुवाको वृद्धिले वातावरण सन्तुलन छ भनेर बुझ्न सकिन्छ भने चितुवाको सङ्ख्या घट्नुले जलवायु परिवर्तन भएको स्पष्ट सन्देश दिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन्। उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको बताए। विश्वमा नेपाललाई हिउँ चितुवाको वासस्थानका रूपमा परिचित रहेको विज्ञ बताउँछन्। 

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेल भन्छन्, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ। हिमाली वातावरणको सूचक हिउँ चितुवा हो। जुन हिमालमा हिउँ चितुवाको राम्रो वासस्थान छ। त्यो हिमाली क्षेत्रको वातावरण सफा छ, स्वच्छ छ, हिमाली वातावरण सन्चो छ भनेर बुझिन्छ।” 

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन्। तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा रहने गरेको छ। मनाङमा करिब २५ रहेको आकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ। कार्यालयका अनुसार केही वर्षयता चितुवाको सङ्ख्या घटेको अनुमान गरिएको छ। यसले कम सङ्ख्या हुने भए पनि विश्वको वातावरण सन्तुलनमा भूमिका खेल्ने विज्ञहरूको भनाइ छ। 

हिमाल कालापत्थर
वर्षमा दुई पटक हिमपात हुने मनाङमा आजकल हिमपात मुस्किलले हुन्छ। हिमपात नभएपछि यहाँका हिमशृङ्खला कालापत्थरमा परिणत भएको देखिन्छ। पुसदेखि माघसम्म हिउँले ढाकिएर सेताम्मे देखिनुपर्ने हिमालमा हिउँ कम देखिन थालेको स्थानीय याङ्दुङ गुरुङ बताउँछन्। उनले भने, “पहिलेजस्तो हिमपात अहिले हुँदैन। हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्।” 

मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको उनले बताए। हिउँ कम पर्दा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, चलु फरेस्ट, हिम्लुङ, मनास्लु, निलगिरी, तिलिचो पिक, थोराङ पिकलगायत हिमालको रङ उडेझै फिक्का देखिन थालेका छन्। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए। उनले जंगली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको बताए। 

फेरिँदै व्यवसाय 
हिमाली क्षेत्रका किसान पनि परम्परागत पशुपालन व्यवसायलाई फेर्न बाध्य हुन थालेका छन्। पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै महत्त्व राख्ने गरेका मनाङको नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली बताउँछन्। व्यावसायिक रूपमा पशुपालनमा लागेका थकाली मौसम फेरिँदा पशुपालन घट्न थालेको उनी बताउँछन्। “पहिला याक, चौँरी गन्न नसक्ने गरी पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि फ्याट्टै भन्न सकिन्छ, वातावरणमा आएको परिवर्तनले चरणका खर्क माथि सरेका छन्”, उनले भन्छन्। पहिले करिब एक सय याक, चौँरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको थकालीले बताए।

थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) पालिएको छ। याक, चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उनले बताए। “पशुपालक किसान आजभोलि लेकका खर्कतर्फ जान चाहँदैनन्। खर्कमा याक, चौँरी पाल्न सकिँदैन। पहिला ६०/७० याक, चौँरी पालेको थिएँ, अहिले ४०/५० झोपा पाल्न थालेको छु”, व्यवसायी थकालीले भने। 

ढुवानी र ऊनका कपडा लोप हुँदै
विकट तथा हिमाली जिल्लामा पशुपालनका रूपमा रहेको याक, चौँरी, घोडा, खच्चर ढुवानीका प्रमुख साधन हुन्। मोटरेबल सडक निर्माण भएसँगै ढुवानीका प्रमुख साधन नै फेरिएको छ। विगतमा जिल्लामा सामान ढुवानीका लागि नै याक, चौँरीको प्रयोग गरिन्थ्यो। गणना गर्न नसकिने याक चौँरीलाई भारी बोकाएर एक स्थानबाट अर्को स्थानमा सामान ल्याउने लैजाने गरिन्थ्यो। तर, अहिले मनाङमा यस्तो गरिन्थ्यो भन्ने कुरा कथा मात्रै बनेका छन्। 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामा भन्छन्, “हामीले मनाङमा स्थलमार्गको ट्र्याक नबन्दै गर्दा याक, चौँरीमार्फत सामग्री ढुवानी गरेको देखिन्थ्यो। तर, यो अहिले पूर्ण रूपमा हराएको छ। अहिले त हामीलाई पनि कथा भनेको जस्तो लाग्छ ।” “तल्लो मनाङबाट माथिल्लो मनाङ याकचौँरीमार्फत नै सामान ढुवानी हुन्थ्यो,” उनले भने। अहिले सडक र पशु