बीपीको अन्तर्राष्ट्रिय लोकप्रियताबाट राजा महेन्द्रदेखि भारतीय प्रधानमन्त्री नेहरूसमेत सशंकित थिए। सोही कारण राजा महेन्द्रले २०१७ पुस १ गते उनलाई बन्दी बनाई लोकतान्त्रिक प्रणालीकै अपहरण गरे।
पहिलो विश्वयुद्धको त्रासदीपूर्ण कालखण्डबीच (१९७१ भदौ २४) जन्मिएर शीतयुद्ध उत्कर्षमा पुगेको घडीमा ४२ वर्षपहिले आजकै दिन अर्थात् २०३९ साउन ६ गते देहावसान भएका कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबारे आज पनि बहस र विमर्श चलिरहेको छ। आज नेपाली कांग्रेसले विभिन्न कार्यक्रम आयोजना गर्ने छ भने राजनीतिक र बौद्धिक वृत्तमा पनि बीपीको विचार, योगदान र भूमिकाबारे विवेचना र विमर्श हुनेछ।
कांग्रेस, एमालेले पार्टीका संस्थापक तथा वैचारिक नेताहरूको जन्मजयन्ती तथा स्मृतिदिवस श्रद्धापूर्वक स्मरण गर्दै आएका छन्, जुन स्वाभाविक हो। कांग्रेसले बीपी, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरू तथा एमालेले पुष्पलाल श्रेष्ठ, मदन भण्डारीलगायत नेताको जन्मजयन्ती तथा स्मृतिदिवस मनाउँदै आएका छन्।
तर यस्ता स्मृतिदिवस सिर्जनशीलभन्दा पनि पुण्य तिथिको अवसरमा गरिने श्राद्ध र कर्मकाण्डी दिवसका रूपमा रूपान्तरित हुँदै गएको देखिन्छ। यस्ता परम्परागत र कर्मकाण्डी दिवसलाई नै विनिर्माण गरी सिर्जनशील, प्रेरणादायी र आत्मसमीक्षा गर्ने दिवसका रूपमा पुनर्परिभाषित गर्न आवश्यक छ। गत वर्ष साहित्य महोत्सव तथा आज पुस्तकालय उद्घाटन गरेर कर्मकाण्डी र परम्परागत शैली र कार्यक्रमलाई कांग्रेसले विनिर्माण गर्न खोजेको देखिन्छ, जुन सकारात्मक छ। तर यो पर्याप्त छैन।
बीपीको स्मृति किन?
निरंकुश राणाशासन र अधिनायकवादी राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापनाका लागि पाँच दशकभन्दा लामो संघर्षपूर्ण इतिहास भएका बीपी नयाँ पुस्ताका लागि मिथकजस्तै छन्। राजनीतिक सिद्धान्त, विचार, दृष्टिकोण, ऐतिहासिक भूमिका र योगदानका दृष्टिले बीपी आजपर्यन्त जीवित छन्, सान्दर्भिक छन्। त्यसैले बीपीलाई श्रद्धापूर्वक स्मरण गरिन्छ।
यद्यपि, २००७ सालको जनक्रान्तिबाट प्रजातन्त्र स्थापना भएपछि मोहनशमशेर नेतृत्वको अन्तरिम सरकारमा ९ महिना गृहमन्त्री तथा २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ हासिल गरेपछि १८ महिना प्रधानमन्त्री भएका बीपी केवल २७ महिना सत्तामा थिए। तर बीपीबारे हुँदै आएका अध्ययन/अनुसन्धान, विवेचना/आलोचना तथा बहस/विमर्शको आलोकमा विश्लेषण गर्दा अहिले पनि सैद्धान्तिक तथा वैचारिक दृष्टिले नेपाली राजनीतिको केन्द्रविन्दुमा बीपी नै रहेको पुष्टि हुन्छ।
लोकतन्त्र स्थापनाका लागि आजीवन सम्झौताहीन संघर्ष गरेका उनी भिजनरी र लोकप्रिय थिए। अन्तर्राष्ट्रिय जगत्मा समेत स्थापित उनले असाधारण राजनीतिक उचाइ हासिल गरेका थिए। कांग्रेसका नेता/कार्यकर्ताले मात्रै होइन, राजनीतिक तथा सैद्धान्तिक दृष्टिले असहमत तथा प्रतिस्पर्धी पार्टीसमेत बीपीप्रति श्रद्धा व्यक्त गर्दै उनको राजनीतिक योगदान, उचाइ र बौद्धिकताको प्रशंसा गर्दै आइरहेका छन्। समकालीन नेपाली राजनीतिमा सबैभन्दा बढी बहस, विमर्श र विवेचना तथा श्रद्धापूर्वक स्मरण गरिने हालसम्मका नेतामध्ये बीपी अग्रपंक्तिमा छन्।
यद्यपि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेपछि बीपीका सिद्धान्त, विचार र नीति कति सान्दर्भिक छन् भन्ने प्रश्नवाचक बहस पनि नभएका होइनन्। तर बीपीलाई नबुझ्ने या आंशिक रूपमा बुझ्ने या जडतामा बुझ्नेले गर्ने असान्दर्भिक प्रश्न हुन् ती। बीपीका विचार केवल आज मात्रै होइन, भविष्यमा पनि सान्दर्भिक रहनेछन् र नेपाली राजनीतिलाई मार्गनिर्देशन गरिरहने छन्। किनभने बीपीका विचार दूरदर्शी र कालजयी छन्।
स्मृतिदिवस र जन्मजयन्ती गरी कांग्रेसले वर्षमा दुई पटक कर्मकाण्डी रूपमा बीपीको नाम गायत्री मन्त्रझैँ जप्दै आएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा मात्रै होइन, कांग्रेस पार्टी स्थापना गरी लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेका बीपीजस्तो श्रद्धेय, सैद्धान्तिक र वैचारिक नेताको स्मरण गर्नु स्वाभाविक हो।
बीपीका आदर्श, सिद्धान्त, विचार र नीतिबारे अध्ययन/अनुसन्धान, चिन्तन/मनन, बहस/विमर्श गर्नु सान्दर्भिक छ। बीपीबाट अभिप्रेरित हुनु आवश्यक छ र बीपीलाई आत्मसात् गर्नु अपरिहार्य छ। तर, बीपीलाई श्रद्धा गरौँ तर श्राद्ध नगरौँ। बीपीको स्मरण गरौँ, स्मृतिमा सीमित नगरौँ। बीपीलाई आत्मसात् गरौँ तर गायत्री मन्त्रझैँ जप नगरौँ। तर समकालीन नेपाली विमर्श र कांग्रेसको आन्तरिक अवयवमा यस्तो संस्कार दुर्लभ हुँदैगएको देखिन्छ।
बीपीको वैचारिक विरासत
निरंकुश राणाशासन अन्त्य गरी लोकतन्त्र स्थापना गर्ने उद्देश्यले बीपीको नेतृत्वमा २००३ सालमा कांग्रेसको स्थापना भएको थियो। कांग्रेस पार्टीको स्थापना मात्रै होइन, यसको विचार र सिद्धान्तको प्रतिपादन बीपीले नै गरेका हुन्। वास्तवमा कांग्रेसको वैचारिक प्रणेता र सिद्धान्तकार बीपी नै हुन्। राष्ट्रियताको संवर्द्धन, सार्वभौमसत्तासम्पन्न जनता, नैसर्गिक नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, लोकतान्त्रिक प्रणाली, बहुलवादी तथा उदारवादी समाज, लोकतान्त्रिक समाजवादमार्फत समतामूलक समाज स्थापना बीपीका प्रमुख आदर्श तथा सिद्धान्त हुन्।
राजनीतिक तथा सामाजिक चेतनाको स्तर न्यून भएको कन्जरभेटिभ समाज भए पनि बीपी समयको गति र जनताको भावना बुझ्ने दूरदर्शी नेता थिए। बीपीकै वैचारिक नेतृत्वका कारण कांग्रेस लोकतन्त्रवादी, क्रान्तिकारी, उदारवादी, प्रगतिशील र जनताप्रति उत्तरदायी पार्टीको रूपमा स्थापित भएको थियो। त्यसैले नेपालमा लोकतन्त्र, बहुदलवाद, उदारवाद, संविधानवाद र सार्वभौमसत्तासम्पन्न जनताको जग बीपीकै विचारको कारणले बसेको हो।
राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बीपीले कांग्रेसका मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित गरे। बीपीको सिद्धान्तको केन्द्रमा जनता र लोकतन्त्र थिए। स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमान र समुन्नतिलाई सर्वोच्च प्राथमिकता दिँदै लोकतान्त्रिक प्रणालीका आधारभूत सिद्धान्तका रूपमा उनले व्याख्या गरेका थिए।
जुन प्रणालीले जनताको सार्वभौमिकता, स्वतन्त्रता र लोकतान्त्रिक अधिकारलाई संरक्षण गरी आर्थिक/सामाजिक रूपान्तरण गर्न सक्दैन, त्यो प्रणाली लोकतान्त्रिक हुन सक्दैन र जनताको प्रणाली पनि हुन सक्दैन भन्ने स्पष्ट दृष्टिकोण थियो उनमा। त्यसैले बीपीका विचार र सिद्धान्त लोकतान्त्रिक, जनतामुखी, अधिकारमैत्री र उदारवादी मूल्य/मान्यताबाट निस्सृत थिए।
बीपीको अभीष्ट केवल सत्ता परिवर्तन मात्रै थिएन, लोकतान्त्रिक प्रणालीमार्फत समतामूलक समाज स्थापना गर्नु थियो। बीपीका लागि लोकतन्त्र केवल शासन पद्धति थिएन, जीवन पद्धति थियो। वास्तवमा लोकतान्त्रिक प्रणाली स्थापनाका साथै नेपाली समाजको उदारीकरण र आधुनिकीकरणका लागि वैचारिक दृष्टिले बीपीले ऐतिहासिक र युगान्तकारी भूमिका निर्वाह गरेका छन्।
बहुआयामिक बीपी राजनीतिक सिद्धान्तकार, भिजनरी र बौद्धिक मात्रै होइन, क्रान्तिकारी र क्यारिस्म्याटिक नेतासमेत थिए। त्यसैले स्थापना भएको पाँच वर्षमै कांग्रेसले १०४ वर्ष लामो राणाशासन अन्त्य गरी सात सालमा प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो भने २०१५ सालको निर्वाचनमा दुई तिहाइ जनमत हासिल गरेको थियो। बीपीको भिजन, लोकप्रियता, क्रान्तिकारिता र करिस्माका कारण नै उक्त ऐतिहासिक सफलता हासिल भएको वास्तविकता घामझैँ छर्लंग छ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक तथा भूराजनीतिक परिवेशको ठोस विश्लेषण गरी उपयुक्त नीति र रणनीति अख्तियार गर्न सक्ने बीपीको विशिष्ट क्षमता थियो। बीपी पहिलो नेपाली अन्तर्राष्ट्रियस्तरको नेता थिए। बीपीको अन्तर्राष्ट्रिय प्रतिष्ठा र लोकप्रियताबाट राजा महेन्द्र मात्र होइन, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूसमेत सशंकित थिए। त्यसैले बीपीको लोकप्रियता र सफलताबाट त्रसित भएर राजा महेन्द्रले २०१७ पुस १ गते उनलाई बन्दी बनाई लोकतान्त्रिक प्रणालीकै अपहरण गरेका थिए।
यदि आफ्नो आदर्श, सिद्धान्त र संकल्पमा सम्झौता गरेको भए बीपी आजीवन प्रधानमन्त्री हुनसक्थे। तर उनले कहिल्यै त्यसो गरेनन्। आदर्श, सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर सत्ताको सती जाने समकालीन राजनीतिक पार्टी र नेताको सत्तामुखी चरित्रप्रति वितृष्णा भएका जनतालाई बीपी मिथकजस्तै पनि लाग्न सक्छ। तर यो मिथक होइन, वास्तविकता हो।
अर्थनीतिबारे बीपीको विचार
दोस्रो विश्वयुद्धपछि औपनिवेशिकताबाट स्वतन्त्रता हासिल गरेका, अविकसित, द्वन्द्वग्रस्त, औपनिवेशिकताविरुद्ध संघर्ष गरिरहेका तेस्रो विश्वमा समाजवाद लोकप्रिय अवधारणा थियो। समाजवादको विश्वव्यापी लहर तथा बीपीको विचारबाट दीक्षित कांग्रेस स्थापनाकालदेखि नै समाजवादी दर्शनबाट अभिप्रेरित भयो। बीपीको प्रस्तावअनुसार नै २०१२ को वीरगन्ज महाधिवेशनले समाजवादलाई कांग्रेसको मार्गनिर्देशक सिद्धान्तको रूपमा अंगीकार गरेको थियो।
वीरगन्ज महाधिवेशनलाई सम्बोधन गर्दै बीपीले समाजवादको परिभाषा गरेका थिए, “केवल आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन। व्यक्ति नै समाजवादको जीवित तत्त्व हो। आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित तत्त्व व्यक्तिलाई सुखी बनाउनु हो। त्यसो हुनाले प्रजातन्त्र समाजवादको अभिन्न अंग हो।”
महाधिवेशनले समाजवादी नीति अंगीकार गर्नासाथ नवनिर्वाचित सभापति सुवर्णशमशेरले मञ्चबाटै आफ्नो नाममा बारा र पर्सामा रहेको करिब एक हजार बिघा जमिन सुकुमबासीलाई वितरण गर्ने घोषणा गरेका थिए।
लोकतन्त्रले राजनीतिक स्वतन्त्रता र समाजवादले आर्थिक समानता प्रत्याभूत गर्ने बीपीको दृढविश्वास थियो। बीपीका अनुसार सामन्तवादको अन्त्य गरी आर्थिक विकास र सामाजिक रूपान्तरणमार्फत समतामूलक समाज स्थापना नै समाजवादको प्रमुख उद्देश्य हो।
२०१६ सालमा प्रधानमन्त्री भएपछि बीपीले समाजवादी नीति र कार्यक्रममार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापना गर्न निष्ठापूर्वक अधिकतम प्रयास गरेका थिए। बीपीले प्रधानमन्त्री र मन्त्रीहरूको तलब कटौती गरी आफ्नो कार्यकाल प्रारम्भ गरेका थिए।
तत्कालीन अर्थतन्त्र भूमि र कृषिमा आधारित थियो। तर जमिनजति राजा/महाराजा, शासक, सामन्त र जमिनदारको नियन्त्रणमा थियो। त्यसैले ‘जमिन भनेको जोत्नेको हुन्छ’ भन्दै बीपीले बिर्ता तथा जमिनदारी प्रथा उन्मूलन गरी भूमिको हदबन्दी तथा पुनर्वितरण गर्ने क्रान्तिकारी भूमिसुधार नीति लागू गरेका थिए। जेठमा प्रधानमन्त्री भएका बीपीले असोजमा भूमिसुधारसम्बन्धी विधेयक नै पारित गरेका थिए।
लोकतान्त्रिक समाजवाद मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गरे पनि बीपीका फुटकर अन्तर्वार्ता, लेख, विचारबाहेक लोकतान्त्रिक समाजवाद र कांग्रेसको आर्थिक नीतिबारे विस्तृत र एकीकृत दस्ताबेज छैन। गरिबी निवारण, आर्थिक विकास, समानता एवं सामाजिक न्यायको दर्शनबाट बीपी अभिप्रेरित भएको देखिन्छ।
अन्तर्राष्ट्रिय रूपमा प्रचलित तथा प्रयुक्त समाजवादका विभिन्न मोडेलको अन्धानुकरण होइन, नेपालका लागि उपयुक्त मौलिक मोडेल विकसित गर्नुपर्ने धारणा बीपीको थियो। समाजवादबारे थप अध्ययन गरेर नेपालका लागि उपयुक्त र स्पष्ट नीति र योजनासहितको ठोस दस्ताबेज प्रकाशित गर्ने आफ्नो चाहना अधुरो रहेकोप्रति बीपी स्वयंले आत्मवृत्तान्तमा पश्चात्ताप गरेका छन्।
लोकतान्त्रिक समाजवादबारे राजनीतिक जीवनको पूर्वार्द्ध र उत्तरार्द्धमा बीपीका विचार/दृष्टिकोण पनि फरक देखिएका छन्। जीवनको पूर्वार्द्धमा बीपीले आर्थिक वृद्धि, भूमिसुधार, उत्पादन र प्रगतिशील कर प्रणालीलाई विशेष जोड दिएका थिए। तर उत्तरार्द्धमा गान्धी र जर्मन दार्शनिक सुमाकरसँग बीपीको सैद्धान्तिक निकटता देखिन्छ।
यद्यपि बीपी समयानुकूल गतिशील नेता भएका कारण उनका दृष्टिकोण पनि गतिशील र परिवर्तनशील हुनु अस्वाभाविक भएन। बीपीको देहावसानपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय परिदृश्यमा राजनीतिक तथा आर्थिक दृष्टिले मौलिक परिवर्तन हुँदै आएको कारण लोकतान्त्रिक समाजवाद र अर्थनीतिबारे थप अध्ययन/अनुसन्धान, बहस र विमर्श गर्नुपर्ने घडी आएको छ।
लोकतान्त्रिक समाजवाद कि सामाजिक लोकतन्त्र?
लोकतान्त्रिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अंगीकार गरेको कांग्रेसले २०४८ पछि अवलम्बन गरेको उदार अर्थनीतिले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान गर्यो। यो नेपालको आर्थिक इतिहासको युगान्तकारी नीतिगत ‘डिपार्चर’ थियो। त्यही कारण नै राष्ट्रिय अर्थतन्त्र वृद्धि भयो। उच्च, मध्यम तथा निम्न मध्यम वर्ग लाभान्वित भए।
तर गरिब, विपन्न, किसान, मजदुर, समाजमा पिछडिएका तथा वञ्चितीकरणमा परेका सीमान्तकृत समुदायको अपेक्षाकृत उत्थान र विकास हुन नसकेको प्रश्न उठिरहेको छ। त्यसैले कांग्रेसको परिकल्पनाअनुसार समन्यायिक तथा समतामूलक समाज स्थापना गर्न हालसम्म अनुसरण गरेको अर्थनीति र विकास मोडेलले कति सकारात्मक योगदान गर्यो भन्ने प्रश्न अब अध्ययन, पुनरावलोकन र समीक्षाको विषय हो।
कांग्रेस पुँजीवादी पार्टी होइन, लोकतान्त्रिक समाजवादी भए पनि शास्त्रीय समाजवादी पनि होइन। त्यसो हुँदा कांग्रेसले हालसम्म अख्तियार गर्दै आएको आर्थिक तथा विकास नीतिको समीक्षा र पुनर्विचार गरी समयानुकूल उपयुक्त नीति अनुसरण गर्नु अपरिहार्य छ।
उदार अर्थनीतिका आधारभूत सिद्धान्त अनुसरण गरी समावेशी आर्थिक वृद्धि गर्दै वातावरणमैत्री दिगो विकास नीति अनुसरण गर्नु आजको आवश्यकता हो। त्यसैले परिवर्तित राजनीतिक, आर्थिक तथा सामाजिक परिवेशमा यही उदारवादी आलोकमा लोकतान्त्रिक समाजवादलाई समयानूकल पुनः परिभाषित गर्नु श्रेयस्कर हुनेछ।
सायद सोही वास्तविकता आत्मसात् गरेर होला, परिवर्तित सन्दर्भमा कांग्रेसलाई लोकतान्त्रिक समाजवादी (डेमोक्रेटिक सोसलिस्ट) भन्दा एक कदम अगाडि बढेर सामाजिक लोकतन्त्रवादी (सोसल डेमोक्रेटिक) पार्टीको रूपमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव महामन्त्री गगन थापाले गरेका छन्।
यद्यपि यो कांग्रेसको गम्भीर सैद्धान्तिक/वैचारिक बहसको विषय हो। तर समुन्नत नेपाल र समतामूलक समाज स्थापनाका लागि कांग्रेसले अख्तियार गर्ने उपयुक्त अर्थनीति र विकासको मोडेलबारे बहस/विमर्श गरी ठोस निष्कर्षमा पुग्ने उपयुक्त घडी पनि यही हो।
कुनै पनि राजनीतिक सिद्धान्त तथा विचार राष्ट्रिय/अन्तर्राष्ट्रिय समय र परिवेशअनुसार निरन्तर परिमार्जन, परिष्कृत र अद्यावधिक हुँदै जान्छन्। कुनै पनि पार्टीका आदर्श, सिद्धान्त, नीति, रणनीति र कार्यनीति हुन्छन्। आदर्श र सिद्धान्त सर्वकालिक र स्थायी हुन्छन्।
तर राजनीतिक परिस्थिति र शक्ति सन्तुलनअनुसार नीति, रणनीति र कार्यनीति परिवर्तन भइरहन्छन्। लोकतान्त्रिक र उदारवादी पार्टीको नीति र रणनीति त झन् गतिशील र परिवर्तनशील हुन्छन्। यदि सिद्धान्त वा विचार समयानुकूल गतिशील, परिवर्तनशील र अद्यावधिक भएनन् भने कुनै पार्टी सान्दर्भिक हुँदैन। त्यसैले सैद्धान्तिक/वैचारिक गतिशीलतामा नै कुनै पनि पार्टी तथा नेतृत्वको सान्दर्भिकता तथा भविष्य अन्तर्निहित हुन्छ।
यसैगरी कुनै पनि पार्टीको साध्य र साधन हुन्छन्। साध्य स्थायी हुन्छ भने साधन परिवर्तन भइरहन्छ। समुन्नत र समतामूलक समाज साध्य हो भने लोकतान्त्रिक समाजवाद साधन हो। परिवर्तित परिवेशमा समुन्नत र समतामूलक समाज स्थापना गर्ने साधन लोकतान्त्रिक समाजवादभन्दा सामाजिक लोकतन्त्र उपयुक्त हुन सक्छ। त्यसैले आसन्न १५औँ महाधिवेशनबाट यसबारे उपयुक्त र ठोस दृष्टिकोण तय गर्नु कांग्रेसकै दीर्घकालीन स्वास्थ्यको दृष्टिले लाभदायक हुने छ।
बीपीको विचार र लोकतान्त्रिक समाजवादबाट प्रशिक्षित र दीक्षित कांग्रेसजनहरूलाई गगनको प्रस्ताव अन्तर्विरोधपूर्ण पनि लाग्नसक्छ। तर बीपीको विचार, लोकतान्त्रिक समाजवाद र गगनको प्रस्ताव अन्तर्विरोधपूर्ण होइन, परिपूरक देखिन्छन्। गगनको प्रस्ताव बीपीकै उदारवादी दार्शनिक धरातल र वैचारिक विरासतको निरन्तरता हो।
समन्यायिक र समतामूलक समाज निर्माण गर्ने बीपीको सिद्धान्तको परिमार्जित, उन्नत र अद्यावधिक स्वरूप नै सामाजिक लोकतन्त्र हो। बीपी र गगन दुवैको विचार, सिद्धान्त वा दस्ताबेजमा सर्वोच्च प्राथमिकतामा छन्– नागरिक, स्वतन्त्रता, लोकतन्त्र, उदारवाद, समुन्नति र समन्यायिक समाज।
उदार लोकतन्त्र, उदार अर्थतन्त्र, समावेशी राष्ट्रियता, समन्यायिक समाज, मानव विकास, सामाजिक न्याय तथा नागरिकको स्वतन्त्रता, समानता र स्वाधीनतालाई मार्गनिर्देशक सिद्धान्तका रूपमा गगनले पुनः परिभाषित गरेका छन्। बीपीको वैचारिक विरासतलाई निरन्तरता दिँदै जनभावनाअनुसार थप सान्दर्भिक र समयसापेक्ष बनाउने उद्देश्यले व्याख्या र परिमार्जन गरी गगनले पूरक दस्ताबेज तयार गरेको देखिन्छ।
गगनको दस्ताबेजले आधुनिक राष्ट्र-राज्यका मान्यतालाई पूर्ण रूपमा स्वीकार गर्दै उन्नत र उदार लोकतन्त्रको परिकल्पना गरेको छ। गगनद्वारा प्रस्तावित ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाअनुसार विगत निर्वाचनका घोषणापत्रहरू जारी भएको पृष्ठभूमिमा विश्लेषण गर्दा गगनका विचार, अवधारणा र दस्ताबेजलाई कांग्रेसले स्वामित्व ग्रहण गरेको देखिन्छ।
यद्यपि उदारवादी अर्थतन्त्र पनि समस्याविहीन र चुनौतीरहित छैन। तर अन्य अर्थतन्त्रको तुलनामा उदारवादी अर्थतन्त्र कम संकटग्रस्त र कम विवादित छ। गतिशील अर्थतन्त्र, उत्पादकत्व वृद्धि, उद्यमशील समाज, लगानीमैत्री वातावरण, रोजगारी, निजी सम्पत्ति उदारवादी अर्थतन्त्रका सकारात्मक पक्ष हुन्।
उदारवादी अर्थतन्त्रका समस्याको उदारवादी नीति, समावेशी आर्थिक वृद्धि, प्रगतिशील कर र रोजगारमूलक नीतिका आधारमा सुधार र परिवर्तन गर्दै जान सकिन्छ। त्यसैले उदारवादी अर्थतन्त्रका सकारात्मक अवसरबाट लाभान्वित हुँदै यसका अवाञ्छनीय पक्षलाई प्रभावकारी रूपमा नियमन गर्ने नीति अंगीकार गर्नु उपयुक्त हुने छ।
निष्कर्ष
उपरोक्त बृहत्तर क्यानभासमा विश्लेषण गर्दा बीपीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक छन्। पपुलिस्ट, घोर दक्षिणपन्थी, उग्रवामपन्थी पार्टी र प्रवृत्ति हाबी हुँदै गइरहेको घडीमा बीपीका विचार र बीपीको वैचारिक उत्तराधिकारी पार्टी कांग्रेसको सान्दर्भिकता अझै बढिरहेको छ।
तर बीपीका विचार र कांग्रेसका सिद्धान्तलाई परिवर्तित राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक, भूराजनीतिक, आर्थिक तथा सामाजिक परिस्थिति अनुकूल पुनर्व्याख्या, परिमार्जन र अद्यावधिक गर्दै सिर्जनात्मक रूपमा लागू गर्नु आजको आवश्यकता हो।
बीपी यथास्थितिवादी र जडसूत्रवादी थिएनन्। उनका विचार पनि यथास्थितिवादी र जडसूत्रवादी हुन सक्दैनन्। गतिशील बीपीका विचार र नीतिमा पनि गतिशीलता थियो। उदारवादी बीपीका गतिशील सिद्धान्तलाई कांग्रेसले आत्मसात् गर्न सकेन भने बीपीको विचारबाट मात्रै विचलित हुनेछैन, कांग्रेसको औचित्य र भविष्यमाथि नै प्रश्नचिह्न खडा हुने छ।
कांग्रेसलाई कन्जरभेटिभ र अनुदार होइन, थप लोकतन्त्रवादी, उदार र प्रगतिशील पार्टीकन रूपमा रूपान्तरण गर्नुपर्छ। प्रगतिशील र उदारवादी नीति अनुसरण गर्यो भने सैद्धान्तिक/वैचारिक आधारशिला थप सुदृढ हुने छ।
अहिले बीपीजस्तै भिजनरी, लोकप्रिय, ऊर्जाशील, जनमुखी र डेलिभरी गर्ने नेतृत्वको जनताले खोजी गरिरहेका छन्। के आसन्न १५औँ महाधिवेशनबाट जनताले खोजी गरेजस्तो नेतृत्व कांग्रेसले स्थापित गर्न सक्ला? आज हरेक कांग्रेसजनले गम्भीर रूपमा मनन र आत्मसमीक्षा गरी निष्कर्षमा पुग्नु पर्ने यक्षप्रश्न यही नै हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
