पश्चिमा मुलुकमा खरिद गरेका केही धातुका कलावस्तु मसँग पनि छन्, प्रस्तरका बाहेक। अहिले तिनलाई म आफैँ राख्नेछु। पछि मेरा सन्ततिले फिर्ता गर्लान्।
सन् १९६५ मा पहिलोपटक नेपाल आएका उल्रिख भोन शोइडरले ५५ वर्षको अवधिमा संकलन गरेका प्रस्तर मूर्तिका तस्वीर तथा अभिलेखको संग्रह ‘नेप्लिज स्टोन स्कल्प्चर’ हिन्दू र बुद्धिस्ट भाग गरी दुई पुस्तक प्रकाशित छन्। पेशाले आर्किटेक्चर इन्जिनियर उल्रिकले यसअघि नेपालबाहेक चीन (तिब्बत), श्रीलंका, कम्बोडियालगायत देशबाट हराएका मूर्तिबारे आधा दर्जन पुस्तक लेखिसकेका छन्।
मूर्ति फिर्ताको अभियानमा उनका पुस्तकहरूलाई पनि प्रमाणको रूपमा अध्ययन गरिन्छ। नेपालसँगै अन्य देशमा भइरहेको मूर्ति फिर्ताको अभियानलाई उनी सकारात्मक मान्छन्। तर, फेला परेका मूर्ति फिर्ता गर्नको लागि आवश्यक पर्ने व्यवस्थित प्रणालीमा उनी समस्या देख्छन्। सोही विषयमा उकालोका लागि प्रबिता श्रेष्ठले भोनसँग गरेको कुराकानीः
चोरिएका मूर्ति फिर्ता हुन थालेको छ। मूर्ति फिर्ताका लागि भइरहेका प्रयास पर्याप्त छन्?
मेरो पुस्ताका अंग्रेजले नेपाल मात्र नभई भारत, कम्बोडिया, थाइल्यान्ड, श्रीलंका, तिब्बत (चीन) लगायत देशहरूमा रहेका लाखौँका अमूल्य मूर्तिहरू रित्याएका छन्। यसरी रित्याइएका मूर्ति पश्चिमी मुलुकमा मात्र नभई चीन, जापान, भारत, कोरियालगायतका देशमा पुर्याइएका छन्। त्यस समय हामी पश्चिमाले आफैँलाई सर्वोच्च स्थानमा राखेका थियौँ। हामीले पूर्व र पूर्वका मानिस, यहाँका कलाकृतिलाई सम्मान दिएनौँ। जसकारण कैयन् कलावस्तु चोरीपैठारी तथा अन्य माध्यमबाट विदेश पुगे।
मूर्ति चोरी हुँदा कतिपय मानिसहरूमा अझै पनि सम्वेदना नदेखिनु अचम्मको विषय हो। उदाहरणको लागि, कुनै एक स्थानको गणेशको मूर्ति हराएको छ। हराएको मूर्तिको सट्टा नयाँ राख्दा हुन्छ भन्ने तर्क सुनिन्छ। कसैको लागि त्यो एउटा ढुंगाको मूर्ति मात्र होला, तर सयौँ वर्षदेखि सोही स्थानका रहेको मूर्तिलाई वर्षौदेखि देख्दै र पुज्दै आएकाहरूको लागि आस्था हो, इज्जत हो।

अहिले पश्चिमले आफ्नो साख गुमाउँदैछ। पश्चिम मात्र सर्वोत्तम होइन भन्ने साबित भएको छ। कतिपय संकलकहरूले आफूसँग भएका मूर्तिहरू स्वेच्छाले फिर्ता पनि गरिरहेका छन्। मूर्ति फिर्ताको यो अभियानप्रति सकारात्मक छु, तर मेरो विचारमा मूर्ति फिर्ताका लागि प्रहरी निकाय वा कानूनी प्रक्रियामा केही समस्या देख्छु। हामीले सम्बन्धित व्यक्ति (संकलक)हरूको विश्वास जितेर फिर्ता ल्याउने प्रयास अझ प्रभावकारी हुन्छ।
उनीहरूलाई स्वःस्फूर्त रूपमा मूर्ति फिर्ता गर्न उत्प्रेरित गर्नु पर्छ। पक्कै पनि मन्दिर, चोकमा हुनु पर्ने मूर्ति उनीहरूको बैठक कक्षमा शोभा दिँदैन। ती मूर्ति नेपाल फिर्ता हुनुपर्छ, यसका लागि हतारिनु हुँदैन।
मूर्ति फिर्ताको अभियानलाई अन्तर्राष्ट्रिय जगतले कसरी हेरिरहेको छ?
यो अभियान नेपालमा मात्र नभई भारत, थाइल्यान्ड, अफ्गानिस्तान र विशेषतः कम्बोडियामा पनि भइरहेको छ। अधिकांशले मूर्ति फिर्ताको अभियानलाई मन पराएका छन्। किनकि, ती कलावस्तु जसको थियो, उनीहरूको वास्तविक स्थानमै जाँदैछन्।
हाल युरोप र अमेरिकाका संग्रहालयहरूमा नयाँ नियम लागू भएको छ। उक्त कलावस्तु संग्रहालयसम्म कसरी आइपुग्यो भनी खरिद अथवा प्रदर्शनी अगावै गहन अध्ययन, अनुसन्धान गरेको हुनुपर्छ। मेरोजस्तै अन्य पुस्तकमा पनि अभिलेख राखिएको हुनसक्छ। वैध–अवैध पुष्टि नभई प्रदर्शनी तथा अक्सन हाउसमा समेत राख्न नपाउने व्यवस्था छ।
युरोप र अमेरिकाले त्यस्ता कलाकृति मात्र लिन्छन्, जुन कुनै पुस्तकमा अभिलेखीकरण भएको छैन वा कुनै संग्रहमा किटानी छैन। अवैध नभएको मूर्ति र कलावस्तु मात्र संग्रहालयले राख्छन्। उनीहरूसँग भएको मूर्ति प्रायः २०–३० वर्षअघि देखिका छन्।
मेरो विचारमा सबै मूर्ति फिर्ता हुनुपर्छ भन्ने पनि छैन। यस्ता कलाकृतिलाई सम्बन्धित संग्रहालय र सम्बन्धित देशको संस्कृति मन्त्रालयसँग सम्झौता गरी ‘लोन’को रूपमा राख्ने व्यवस्था पनि गर्न सकिन्छ। संग्रहालयले उक्त कलावस्तु सम्बन्धित देशबाट ‘लोन’को रूपमा रहेको उल्लेख गर्ने व्यवस्था उचित हुन्छ। यसो हुँदा संग्रहालयको विश्वसनीयता पनि बढ्ने तथा सम्बन्धित देशको कलाकृति विश्वभरका मानिसले अवलोकन पनि गर्न पाउने छन्। तर यो मेरो व्यक्तिगत धारणा हो।
फेरि, यस्ता कलावस्तु संकलन गरेका संकलक तथा संग्रहालय सबैलाई अपराधीको रूपमा हेर्न मिल्दैन। किनकि, यस्ता संकलकले प्रायः डिलर र अक्सन हाउसबाट किनेका हुन्छन्। उनीहरूलाई यस्ता कलाकृतिको पृष्ठभूमि ज्ञात नहुनसक्छ।
यसकारण पनि मूर्ति फिर्ताको यो अभियानलाई मैत्रीपूर्ण रूपमा सल्ट्याउनु पर्छ। कसैलाई हस्तक्षेप गरेर भन्दा पनि मित्रवत् व्यवहारबाट आउनु पर्छ।
मूर्ति फिर्ताका यस्ता प्रयासले भविष्यमा मूर्ति चोरी रोकिएला?
प्रस्तरका मूर्ति चोरी गर्ने क्रम धेरै कम भएको छ। फाट्टफुट्ट चोरीका घटना सुनिन्छ। मैले लेखेका पुस्तक तत्कालै मूर्ति फिर्ताको दबाब नभई अभिलेखीकरणको लागि हो। मैले पुस्तकको परिचयमा मूर्ति चोरी तथा फिर्ताको विषयमा एक शब्द पनि लेखेको छैन।

मेरो लागि यस्ता कलावस्तुको अभिलेखीकरण पहिलो प्राथमिकता हो, जसले १० देखि ५० वर्षमा मूर्ति फिर्ता गराउन सक्छ। अक्सन हाउस र संग्रहालयले पनि यस्ता पुस्तकमा रहेको अभिलेखीकरणका वस्तु खरिद र प्रदर्शनीमा राख्ने छैनन्। यसले स्वतः अवैध मूर्ति चोरी र पैठारीमा रोक लगाउन सघाउँछ।
यसो हुँदा, ती कलावस्तु सम्बन्धित व्यक्ति, संग्रहालयको पुस्तामा हस्तान्तरण हुने सिवाय अन्य विकल्प रहँदैन। त्यसैले अर्को पुस्ताले फिर्ता गर्न पनि सक्छन्। पश्चिमा मूलुकमा खरिद गरेका केही धातुका कलावस्तु मसँग पनि छन्, प्रस्तरका बाहेक। अहिले तिनलाई म आफैँ राख्नेछु। पछि मेरा सन्ततीले फिर्ता गर्लान्।
यद्यपि, नेपाली संस्कृति र परम्पराप्रतिको मेरो प्रगाढ माया, रुचि छ। मेरो तर्फबाट नेपालको लागि मेरो पुस्तक उपहार हो, जसले सम्भवतः मूर्ति चोरीमा रोक लगाउला।
तपाईंका पुस्तक विश्वका विभिन्न कुनामा रहेका विशेषतः नेपाली प्रस्तरका मूर्तिहरूको पहिचानमा महत्त्वपूर्ण स्रोत हुन्। धातु तथा चित्रकलाका सन्दर्भमा भने यस्ता पुस्तक छैनन्?
सन् १९८१ प्रकाशित धातु सम्बन्धी मेरो पुस्तक ‘हन्ड्रेड एट ब्रोन्ज स्कल्प्चर’बाहेक अभिलेखीकरण भएका अन्य पुस्तक छन् जस्तो लाग्दैन। ‘स्टोन स्कल्प्चर’भन्दा धेरै अघि आएको हो। यो पुस्तक पनि धातुसम्बन्धी हराएको मूर्तिको पहिचानमा प्रयोग हुन्छ।
चित्रकलाको विषयमा मसँग उत्तर छैन। यदि, नेपालका मन्दिरमा भएका चित्रकला र धातुको मूर्तिहरूको तस्वीर मात्र भए वा कसैले अभिलेख राखेको भए विश्वमा रहेका यस्ता कलावस्तु फिर्ता गर्नको लागि दाबी गर्न सकिन्थ्यो।
हामीसँग धातु र चित्रकलाको तस्वीर निकै कम छन्। यस्ता अभिलेख होलान् भन्ने लाग्दैन। यसकारण धातुका धेरै मूर्ति फिर्ता आउँछन् भनेर भन्न सक्दिनँ। किनभने, नेपालसँग कानूनी आधार छैन। त्यसैले यसको लागि मैत्रीपूर्ण वातावरणको व्यवस्था हुनुपर्छ। उनीहरूलाई इच्छा लाग्यो भने फिर्ता गर्न सक्लान्, नत्र नगर्लान्।

नेपाल सरकार पनि यो विषयमा मौन देखिन्छ। मूर्ति फिर्ताकै लागि सम्बन्धित दूतावासमा निश्चित व्यक्ति तोकिनु पर्छ। पुरातत्व विभागजस्तो राज्यको अंगभन्दा पनि ‘लस्ट आर्ट अफ नेपाल’जस्ता निजी संस्थालाई जिम्मेवारी दिनुपर्छ। सरकारी संयन्त्रमा काम गरिरहेका मानिसहरूको पदबहाली अस्थिर भइरहन्छ। दीर्घकालीन समयसम्म यस्ता क्षेत्रमा काम गरिरहेकालाई काम गर्न दिँदा अझ प्रभावकारी हुन्छ।
अनेकन् प्रयासपछि फिर्ता प्रक्रियामा रहेका मूर्ति कुनै दूतावास आइपुग्छन्। तर, सामानलाई फिर्ता गर्न लाग्ने प्याकेजिङदेखि जहाजको रकम, बीमालगायत खर्च कसले बेहोर्नेसमेत निश्चित छैन। मूर्ति फिर्ता गर्न तयार संकलक रकम तिर्न सक्षम हुन्छन् भन्ने हुँदैन। यसको लागि त नेपाल सरकार जिम्मेवार हुनुपर्छ।
सबैभन्दा पहिले मूर्ति फिर्ता ल्याउनका लागि प्रक्रियागत व्यवस्थापन हुनुपर्छ। एउटा संस्था हुनुपर्छ, जसले मूर्ति फिर्ताबाहेक अन्य केही नहेरोस्। त्यसपछि बजेट तर्जुमा पनि हुनुपर्यो। मूर्ति फिर्तामा सहजीकरण नहुँदा ‘मूर्ति फिर्ता गर’ भन्नु मात्र उचित हुँदैन।
चोरिएका मूर्तिहरू अबको ५० वा १०० वर्षमा फिर्ता आउँछन्। तर हालको लागि जुन रूपमा फिर्ताको प्रक्रिया भइरहेको छ, त्यो बिस्तारै र मैत्रीपूर्ण रूपमा हुनुपर्छ।
मूर्ति फिर्ताका लागि सरकारले तत्काल गर्नुपर्ने काम के–के हुन्?
मूर्ति संकलकहरूसँग नम्र र मैत्रीपूर्ण व्यवहारमा सहकार्यको लागि अनुरोध गर्नु ठीक हुन्छ। यस्तो हुँदा उनीहरू खुशी साथ फिर्ता गर्न राजी हुन्छन्, दबाबपूर्ण वातावरणमा होइन।
फिर्ता गर्न चाहनेले ‘कस्लाई फिर्ता गर्ने’ भन्ने निश्चित छैन। यसको लागि छुट्टै संस्था र बजेटको तर्जुमा हुनुपर्छ। धेरै विदेशी संकलकलाई अन्य देशका कलाकृति आफ्नो घरमा हुनु लाजमर्दो विषय हो। तीमध्ये धेरैलाई फिर्ता गर्न मन हुन्छ। तर, कसरी फिर्ता गर्ने उनीहरूलाई थाहा छैन। समन्वय कसलाई गर्ने भन्ने नै छैन।
त्यस्ता संकलनकर्ताले कसरी प्राचीन कलावस्तु फिर्ता गर्लान् त?
सहज छ, निजी संकलन तथा संग्रहालयहरूसँग संवाद गर्नुपर्छ। यो संवादबाट मात्र सम्भव छ। अहिलेको मूर्ति फिर्ताको अभियान खास व्यवस्थित छैन। यसमा निजी संकलनभन्दा पनि नेपाल सरकारले नै संवाद थाल्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
