बाजा खलका अगुवा स्वर्गीय तरिबाबु देशारलाई गुँलापर्वमा बुकि (स्तोत्र) पाठ गर्ने अन्तिम इच्छा थियो। उनका समकालीन साथी र युवाले यो सालको गुँलापर्वमा बुकि–बाजाले चापागाउँ (वादे) लाई गुल्जार बनाएका छन्।
ललितपुर– चापागाउँका स्थानीय सुदीप देशार (३४) को दैनिकीमा तीन सातायता परिवर्तन आएको छ। उनी बिहान ४ बजे उठिसक्छन्। मुख धोएर आफूले बजाउने धाँ (बाजा) सहित चापागाउँस्थित विहारमा पुग्छन्। त्यहाँ उनका साथीभाइ तथा गुरु पर्खिरहेका हुन्छन्।
सबै जना जम्मा भएपछि उनीहरू विहारबाट बुकि पाठ गर्दै बाजा बजाएर गाउँ परिक्रमा शुरू गर्छन्। चापागाउँमा रहेका १५ चैत्य र चार गणेश मन्दिरसहित इष्टदेवी बज्रबाराहीको परिक्रमा सम्पन्न हुँदा बिहानको साढे ६ बजे बजिसकेको हुन्छ।
यसरी बाजा बजाएर स्तोत्र पाठ गर्ने समूहलाई स्थानीयले आदरसम्मानका साथ चिया, नास्ता र टिकाटालो गर्छन्। युवापुस्ताको यस्तो जागरूकताले उनीहरूलाई पुलकित तुल्याएको छ।
“कहिलेकाहीँ ६–७ घरबाटै चियानास्ताको सत्कार लिएर घर फर्कंदा समय लाग्छ। फेरि अफिस जाने तयारी पनि गर्नैपर्यो,” पेसाले ल्याब टेक्निसियन सुदीप भन्छन्। बिहान सबेरै उठेर आफ्नो परम्परालाई निरन्तरता दिने क्रियामा लाग्न पाउनु आफ्नो सौभाग्य भएको उनी ठान्छन्।
साउन शुक्ल प्रतिपदा तिथि (यसपालि साउन २१ गते) बाट शुरू भएको गुँलापर्वमा उनीसहित १८ जनाको टोली चापागाउँका विभिन्न चैत्य र मठमन्दिरमा बाजासहित परिक्रममा गरिरहेका छन्। उनीहरूको समूहको नाम ‘वादे बुकि–धाँ खल’ हो। बौद्धधर्मी नेवार समुदायले एक महिनासम्म मनाउने यस वर्षको गुँलापर्व भदौ १७ गते समापन हुँदैछ।
चापागाउँमै जन्मेर तीन दशक बिताइसकेका सुदीपले हरेक वर्ष गुँलापर्वमा स्थानीयको सहभागिता पातलिँदै गएको देखेका छन्। बाल्यकालमा उनका बाजेहरू समूह बनाएर गाउँका चैत्य र मठ पूरै घुम्थे। सोही लस्करको अघिपछि लाग्थे उनी। तर केही वर्षयता जीवित रहेका दुई जना बाजेहरूले मात्रै त्यो परम्परालाई धानिरहेको देखेपछि उनले आफैलाई प्रश्न गर्न थाले।
“जीवनको उत्तरार्द्धमा पनि बाजेहरूले यति उत्साह प्रदर्शन गरिरहनुभएको छ, हामी चाहिँ कहिलेसम्म हेरेर मात्रै बस्ने?” उनलाई लाग्यो, “अब हामीले पनि उहाँहरूलाई साथ दिनुपर्छ”
यद्यपि त्यस्तो सोच्ने आफू एक्लो नभएको उनले त्यतिबेला थाहा पाए जब गाउँका बालबालिका, केटाकेटी, महिला, युवासमेत २० जनाको समूह चापागाउँका ज्येष्ठ नागरिक तरिबाबु देशारको घरमा बाजा सिक्न पुगे। त्यो भावना गाउँका धेरैको साझा रहेछ भन्ने उनले महसुस गरे।
गत असोजदेखि चार महिनासम्म बाजाको प्रशिक्षण पाएको त्यो समूहले गत माघमा विधिवत् रूपले ‘लह् ल्यागु’ अर्थात् बाजा हस्तान्तरण उत्सव मनायो। त्यसबेला पनि बाजासहित चापागाउँ परिक्रममा गरेको युवा टोली कुनै बेला चिन्ताको विषय बनेको बाजा परम्परा संरक्षण गर्न अब आफै सक्षम भएको छ।
सुदीपजस्ता २० जनाले बाजा सिकेका थिए। तीमध्ये दुई जनाले कारणवश सिक्न नसकेको र बाँकी १८ जना सँगै बाजा बजाउन प्रशिक्षित भएको उनीहरूका गुरु अष्टबहादुर देशार बताउँछन्। समूहमा ४ वर्षे बालकदेखि ४० वर्षका युवासम्मको सहभागिता छ।
सोही समूहकी रेवती देशार क्याम्पसमा पढ्छिन्। पढ्न जानु नपर्ने समय मिलाएर उनले बाजा सिक्ने गरेकी छन्। महिलालाई बाजा बजाउन वर्जित नभएको उनी बताउँछिन्। यद्यपि समूहकी श्रेया देशारलाई देख्दा उनी छोरीको भूमिकामा हुँदा बाजा सिक्न जति सजिलो हुन्छ त्यति बुहारी हुँदा नहुने हो कि भन्ने अनुमान गर्छिन्। घरको कामकाज मिलाएर आउने–जाने गर्नुपर्दाको श्रेयाको हतारोलाई रेवतीले नजिकबाट नियालेकी छन्।

गृहिणी श्रेया घरको कामकाज र व्यवहार मिलाएर बाजा बजाउन पुग्छिन्। बाजा बजाउन जान थालेसँगै चापागाँउमा आफ्नो नाम कहलिएको उनी बताउँछन्।
“बाजा बजाउनुपर्छ, जाऊ भनेर घरपरिवारबाट पनि हौसला मिल्यो। सोचेजस्तै गरी प्रशिक्षण पनि लिएँ,” श्रेया भन्छिन्, “समूहमा सामेल भएर यसरी बाजागाजा बजाउन पाउँदा खुशी लागेको छ।” बाजा बजाउने समयमा पर्ने घरायसी काम परिवारका अन्य सदस्यले गर्ने गरेको उनले बताइन्।
कक्षा ३ मा पढ्ने केभिन देशार सानो आकारको धाँ (धिमे आकारको सानो बाजा) बजाउँछन्। उनीसँगै दुई बालिका पनि यसमा सहभागी छन्। गएको गाईजात्रा मट्या र रोपाइँजात्रामा गुरु राम देशार र अष्टबहादुर देशारसँगै, सुदीप, रेवती, श्रेया, केभिन लगायतको नयाँ पुस्ताको टोली देख्दा सांस्कृतिक पुस्तान्तरणको अनुभूतिले चापागाउँवासी हर्षित भएका थिए।
एक महिनाको गुँलापर्वमा बिहान दैनिक बाजासहित निस्कनुपर्छ। यद्यपि सबैले सधैँ भाग लिन अनिवार्य छैन। भ्याएसम्म सबै सहभागी हुने र नसक्दा अनिवार्य नहुने खुकुलो व्यवस्था गरिएको श्रेया बताउँछिन्। नियम मान्ने बाध्यताभन्दा पनि इच्छा र चाहनाले डोर्याएको उक्त समूहका हरेक सदस्यको अनुभूति छ।
वादेमा गुन्जिएको बुकि
चापागाँउको मौलिक अथवा वास्तविक नाम ‘वादे’ हो। वर्षौंपछि वादेमा पाको पुस्तासँगै युवाले पनि एकसाथ ‘बुकि धाँ’ बाजा गुन्जाएका हुन्।

बुकि पाठ गर्दै बाजा बजाउने मुख्य पर्व नै गुँलापर्व भएको ‘वादे बुकि–धाँ खल’का कजि (अध्यक्ष) ज्ञानबहादुर देशार बताउँछन्। साउन शुक्लपक्ष औँसीको रातमा नाट्यश्वरको पूजा गरी साउन प्रतिपदा (पारु) को दिनबाट एक महिनाको लागि गुँलापर्व शुरू हुन्छ। वर्षायाम रोगव्याधी आउने समय भएकाले पनि बाजाको ध्वनीले रोगव्याध हट्ने जनविश्वास स्थानीयमा रहेको कजि देशार बताउँछन्।
गुँलापर्वको एक महिनाभरि आफ्नो टोल छिमेकमा रहेको चैत्य, मठमन्दिर र विहारको परिक्रम गरिन्छ। यस महिना स्वयम्भूमा पनि यसखालका विभिन्न समूहले बाजासहित परिक्रममा गर्छन्। यसलाई शान्ति बाजा पनि भनिन्छ। परापूर्वकालमा रोागव्याधी फैलिएपछि सोही बाजा बजाएर शान्त पारेको कारण यसलाई ‘शान्ति बाजा’ पनि भनिने कजि देशारले उकालोलाई बताए।
यस बाजामा धाँ (ढोलजस्तै आकारको बाजा), भुसाँ (झ्याली), ताँ (सानो हाते झ्याली) र न्येकुं (अर्नाको सिङबाट बनेको बाजा) समाविष्ट हुन्छन्। बाजाभित्रको न्येकुं बाजा अन्य जात्रामा नभए पनि खासै फरक पर्दैन, तर गुँलापर्वमा भने यो बाजा अनिवार्य चाहिन्छ। त्यसबाहेक कात्तिकमा मनाइने मरस्ती जात्रा, गाईजात्रा तथा रोपाइँजात्रामा पनि बाजाको महत्व उत्तिकै रहेको कजि देशार बताउँछन्।
“रोपाइँ जात्रामा बाजाको धुन शुरू भएसँगै त्यसैको तालमा धान रोप्न थालिन्छ,” उनले भने। बाजाको प्रशिक्षण गत असोजबाटै भए पनि बुकि भने पाठ गर्न मिलिरहेको थिएन। कारण, बाद्यवादनका अगुवा तरिबाबु देशारलाई बाजाको ज्ञान त थियो, तर स्तोत्रमा उनको खास दखल थिएन। आफ्नो जीवनको उत्तरार्द्धमा पनि सोही विषयलाई लिएर चिन्तित थिए उनी।
“बाजा त सिकाइयो, बुकि पनि कुनै जान्ने मानिसले फेरि स्तुती पाठ गरेर चालचलनमा ल्याइदिए आनन्द हुन्थ्यो,” तरिबाबुका छोरासमेत रहेका कजि ज्ञानबहादुर देशार बाबुले इच्छा जाहेर गरेको सम्झन्छन्।
सोही बुकि स्तोत्र हाल अभ्यासमा छ। एक महिनाको प्रशिक्षण स्तोत्र पुस्तक ९५ वर्षअघि लेखिएको उनीहरूको अनुमान छ। पूजाआराधनाका समयमा धेरै पटक पानी परेको कारण पुस्तकको ९० प्रतिशत अंश जीर्ण भइसकेको छ। यद्यपि केही पानाबाहेक अक्षर चिन्न सक्ने अवस्थामा हुँदा गुरु राम देशार र अष्टबहादुर देशारको सुझबुझका आधारमा स्तोत्रको पुनर्लेखन गरिएको छ।

गुरु अष्टबहादुर देशारलाई बुकि बाजाप्रतिको लगाव छुट्टै छ। बाल्यकालको एक घटना सुनाउँदै उनले भने, “बाजा बजाएपछि अरूले नलैजाऊन् भनेर हामी शिरानीमा राखेर सुत्थ्यौँ।” बाजासँगै स्तुती गरिने बुकि पनि पाठ गर्न पाएकोमा उनी प्रफुल्ल छन्।
बाजाको शुरूआतबारे यकिन र स्पष्ट अभिलेख नभेटिएको र जानकारी कसैलाई नभएको उनी बताउँछन्। यद्यपि बुकि बाजा देशार वंशले नै प्रचलनमा ल्याएको स्थानीयको विश्वास छ।
“देशार परिवारभित्रै ‘को’ वर्गअन्तर्गत ‘पाले’ भन्ने परिवारले यस बाजाको लागि गुठीले छुट्टयाएको केही आना जग्गा कमाइरहेका छन्। उनीहरूले तिरेको ‘कुत’बाट नै बाजा सञ्चालन र संरक्षणको काम हुँदै आएको छ।”
बाजा हस्तान्तरणको समयमा चापागाउँका स्थानीयले दिएको दानबाट करिब ३८ हजार रुपैयाँ जम्मा भएको थियो। परम्परालाई दीर्घकालीन र दीगो बनाउन कोष खडा गर्नुपर्ने चुनौती कजि देशारलाई छ। यसका लागि विभिन्न जात्रा, पर्वमा बाजा बजाउन निमन्त्रणा आएमा त्यसबाट पनि केही सहयोग पुग्ने उनको आशा छ। यसबाहेक चार वटा धाँ बाजा भने गोदावरी नगरपालिकाले सहयोग गरेको उनले बताए।
पहिलेका गुरु तरिबाबु देशारको निधनपछि उनको घरमा राखिएको बाजा अर्का स्थानीय राजन देशारको घरमा सारिएको छ।

कजि देशारले पिता तरिबाबु बित्नुअघि जीवनको अन्तिम समयमा उनले प्रकट गरेको चिन्ता सम्झिए, “बाजा शुरू गर्नुअघि स्तोत्र पाठ हुन्छ जसको बारेमा बालाई स्पष्ट ज्ञान थिएन। उहाँ गायनकै जान्ने अर्को मानिसबाट पाठ गराएर त्यो स्तोत्रको पनि अडियो रेकर्ड राख्न चाहनुहुन्थ्यो, अहिले आएर त्यो सपना पूरा भएको छ।”
९० प्रतिशत बिग्रिएको पुस्तकका हराएका, धसिएका, बिलाएका शब्दहरूबारे अनुमान र पहिले गाउँदाको स्मरणका आधारमा नयाँ पुस्तक निकालिएको छ। यसले तरिबाबु देशारको अपूरो इच्छालाई ढिलै भए पनि पूर्ण गर्न सकेकोमा बाजा खलका सबै सदस्य गौरव महसुस गर्दैछन्।
यो पनि : वादे बुकि धाँ बजाउने नयाँ पुस्ता थिएनन्, पुस्तान्तरण गरेरै अस्ताए तरिबाबु
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
