बागलुङमा तीन वटा क्षेत्र हुँदासम्म केसी क्षेत्र नं. २ मा उम्मेदवार बन्थे। यसअघिका दुई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नबनेका उनी कांग्रेसको मतले जित्ने विश्वासमा यसपटक क्षेत्र नं. १ तिर सरेका छन्।
पोखरा– बागलुङलाई कुनै बेला राष्ट्रिय जनमोर्चाको ‘पकड क्षेत्र’ मानिन्थ्यो। प्युठान, अर्घाखाँची, डोटीलगायत जिल्लामा पनि जनमोर्चाको प्रभाव थियो। तर, देशभरबाट खुम्चिँदै गएको जनमोर्चा अहिले बागलुङ र प्युठानमा सीमित भएको छ।
यी दुई जिल्लामा पनि अब जनमोर्चा एकल प्रतिस्पर्धाबाट जित्न सक्ने अवस्था छैन। तर, ‘निर्णायक मत’ भने छ। जनमोर्चा जता मिल्यो त्यही गठबन्धन बलियो हुने अवस्था छ।
२०७४ सालको निर्वाचनमा जनमोर्चा वाम गठबन्धनमा थियो। बागलुङमा प्रदेशसभातर्फ उम्मेदवार उठाएर प्रतिनिधिसभातर्फ एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन जनाएको थियो। प्युठानमा भने प्रतिनिधिसभातर्फ उम्मेदवार बनेकी जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विजय हासिल गरेकी थिइन्।
यसपटक जनमोर्चा सत्ता गठबन्धनमा छ। उसले प्रतिनिधिसभातर्फ प्युठान र बागलुङ–१ मा उम्मेदवार बनाएको छ। प्युठानमा उपाध्यक्ष पौडेल नै उम्मेदवार छिन् भने बागलुङ–१ बाट अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार छन्।

बागलुङ–१ केसीका लागि नयाँ निर्वाचन क्षेत्र हो। बागलुङमा तीन वटा निर्वाचन क्षेत्र हुँदासम्म केसी क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने गरेका थिए। २०७० सालसम्म बागलुङमा तीन वटा निर्वाचन क्षेत्र थिए। २०४८ सालको निर्वाचन बहिष्कार गरेको तत्कालीन नेकपा मसालले २०५१ सालमा चुनावी मोर्चा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामबाट निर्वाचन लडेको थियो।
उक्त निर्वाचनमा केसी कांग्रेसका मीनबहादुर खत्रीसँग १९५ मतले मात्र पराजित भएका थिए। २०५६ को संसदीय निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी विजयी भए। २०७० सालको निर्वाचनमा केसी समानुपातिक सभाषद् भए। उनको क्षेत्र बागलुङ–२ बाट राजमोका राजेन्द्र ढुंगाना उम्मेदवार बने पनि कांग्रेसका प्रकाश पौडेलसँग पराजित भए। केसी २०७४ सालमा समानुपातिक उम्मेदवार भए। तर, राजमोले ‘थ्रेस होल्ड’ नकटाउँदा सांसद् बन्न पाएनन्।
राजमोले अधिकांश निर्वाचन एमालेसँगको तालमेलमा लड्ने गरेको थियो। २०७४ सालमा वामगठबन्धनमा सामेल भएको राजमो यसपटक सत्ता गठबन्धनमा छ। केसी पनि आफ्नो परम्परागत क्षेत्र छाडेर बागलुङ–१ बाट उम्मेदवार भएका छन्।
२०५६ सालदेखि नै बागलुङ–१ तालमेल गरिएको दललाई छाडेर राजमोले क्षेत्र नं. २ र ३ लिने गरेको थियो। तर, राजमोका एक केन्द्रीय सदस्य पहिलाको बागलुङ–२ नै अहिलेको क्षेत्र नं. १ रहेको बताउँछन्। “पहिला केसीजी उम्मेदवार बन्ने बागलुङ–२ का तत्कालीन २२ मध्ये १८ गाविस अहिलेको बागलुङ–१ मा छन्। उहाँको घर भएको गलकोट नगरपालिका मात्र क्षेत्र नं. २ मा पर्छ। त्यसैले क्षेत्र परिवर्तन भन्न मिल्दैन”, ती केन्द्रीय सदस्यले भने।
बागलुङमा निर्णायक मत भएका कारण राजमो जता ढल्कियो त्यही गठबन्धन बलियो हुने एमाले नेताहरू पनि बताउँछन्। स्थानीय मतदाता भने निर्वाचन क्षेत्र फेरेका कारण उनलाई चुनौती भएको बताउँछन्। बागलुङ-१ मा कांग्रेस बलियो भएको हुँदा त्यही बलमा चुनाव जित्ने आशामा उनी उम्मेदवार भएको स्थानीयको भनाइ छ।
पार्टीभित्रको असन्तुष्टिले चुनौती
केसीलाई अधिकांश समय जिल्लाबाहिरै बस्ने गरेको आरोप लाग्ने गरेको छ। राजमोले जितेर पनि विकासले गति लिन नसकेको भन्दै मतदाता पनि असन्तुष्ट छन्।
अभिवक्ता तथा राजनीतिक विश्लेषक राम शर्मा यसपटक बागलुङको चुनावी परिदृश्य भिन्न हुनसक्ने बताउँछन्। “बाहिरबाट हेरेजस्तो चित्रबहादुर केसीलाई त्यति सजिलो छैन। अहिले उहाँको पार्टी फुटको अवस्थामा छ”, शर्माले भने, “उहाँको बसाइ पनि धेरैजसो बाहिरै हुन भएकाले जनताले टुरिष्ट भन्न थालेका छन्।”

यसअघि गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई निलम्बन गरेर पार्टीबाटै निश्कासित गरेपछि राजमोप्रति कतिपय कार्यकर्ता असन्तुष्ट रहेको स्थानीय बताउँछन्। जिल्लाको दक्षिणी भेगमा राजमोको प्रभाव छ। थापा त्यही क्षेत्रका नेता हुन्।
गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई राजमोले दिएको समर्थन फिर्ता गर्ने पार्टीको निर्णय विपरीत उभिँदा थापा पार्टीबाट निश्कासित भएका हुन्। धेरैले उनी एमाले राजनीतिमा सक्रिय हुने अनुमान गरेका थिए। तर, उनी राजनीतिमा निस्क्रिय छन्। त्यही कारण त्यस क्षेत्रको राजमोको कतिपय मत एमालेतिर जानसक्ने शर्माको अनुमान छ।
केसीविरुद्ध बागलुङ–१ मा एमालेले सूर्य पाठकलाई उम्मेदवार बनाएको छ। उनी २०७४ सालमा यही क्षेत्रबाट विजयी हुँदा माओवादी केन्द्रसहित राजमोको पनि समर्थन थियो। उनले कांग्रेसकी चम्पादेवी खड्कालाई करिब १३ हजार मतले पराजित गरेका थिए।
कांग्रेससँग पहिलोपटक गठबन्धन
पछिल्लो समय केही स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बागलुङ–१ मा पनि परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल उम्मेदवार छन्। उनी यसअघि एमालेमा सक्रिय थिए।
यसअघि हरेक निर्वाचनमा कांग्रेस र राजमोकै प्रतिस्पर्धा हुने गरेको थियो। तर, यी दुई दल मिलेर निर्वाचन लडेका कारण यसपटक केसी सुरक्षित भएको दाबी राजमो नेताको छ।
“क्षेत्र नं.१ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिन्छ। सजिलै जितिहाल्ने अवस्था छैन। चुनाव भनिसकेपछि जातीय, भेगीय कुरा पनि आउँछन्” शर्माले भने। राजमोमा आएको फुटले पनि नतिजा फरक पर्न सक्ने उनी बताउँछन्।
हरेक चुनावमा तालमेल गर्दै आएको जनमोर्चाका कार्यकर्ताले इमान्दारीपूर्वक मत हाल्ने गरेकाले केसी बलियो उम्मेदवार भने भएको शर्माले बताए। तर, राजमोको फुटको असर सबैभन्दा बढी यही जिल्लामा पर्नु केसीका लागि चुनौती भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
