नेपाल र बंगलादेशका उर्जा सचिवस्तरीय बैठकको तयारीका लागि नेपाल र बंगलादेशका अधिकारीहरूबीच उर्जा सम्बन्धी वार्ता काठमाडौंमा सुरू भएको छ।
काठमाडौं– नेपाल र बंगलादेशका अधिकारीहरूबीच उर्जा सम्बन्धी वार्ता काठमाडौंमा सुरू भएको छ। ८ भदौमा सह–सचिवस्तरीय बैठक बसेको छ। भोलि ९ भदौमा सचिवस्तरीय बैठक बस्दैछ।
सचिवस्तरीय बैठकमा प्रस्तुत हुने एजेन्डाबारे सह–सचिवस्तरीय बैठकले छलफल गरेको छ। बैठकमा तय गरिएका एजेन्डा सचिवस्तरीय बैठकबाट टुंगो लगाउने छ। सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले नेतृत्व गर्ने छन्। बंगलादेशका तर्फबाट विद्युत्, उर्जा, तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमानले नेतृत्व गर्ने अधिकारीहरूले जनाएका छन्।
नेपालको तर्फबाट बुधबार ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लूजी)ले नेतृत्व गरेका मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटवालले सहसचिवस्तरीय बैठकमा उर्जा व्यापारका लागि सहकार्य, आयोजनामा लगानीलगायतका विषयमा छलफल भएको बताए।
‘आज उर्जा व्यापारमा सहकार्य गरेर अघि जाने विषयमा नै छलफल भएको छ। भोलि सचिवस्तरीय बैठकले थप छलफल गरेर दुई पक्षीय निर्णय हुन्छ,’ उनले भने, ‘दुई देशबीच आपसी सहकार्यका माध्यमबाट विद्युत र उर्जालाई कसरी अगाडि बढाउने भन्ने विषयमा नै छलफल हुन्छ।’
बिहीबार बस्ने सचिवस्तरीय बैठकमा एजेण्डाको अनुकूलन, सन् २०२१ सेप्टेम्बर १३ देखि १४ तारिखसम्म भर्चुअल रुपमा भएको ज्वाइन्ट वर्किङ गु्रप (जेडब्लूजी) र ज्वाइन्ट स्टेयरिंग कमिटी (जेडब्लूसी) को तेस्रो बैठकले तय गरेका कार्यक्रमहरूमाथि समीक्षा हुनेछ। त्यस्तै, नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका सम्भावना, नेपालको जलविद्युत् आयोजनामा लगानीका सम्भावनाबारे छलफल हुने बताइएको छ।
त्यस्तै, नेपाल र बंगलादेशबीच सीमापार विद्युत् व्यापारका सम्भावना, नेपालको जलविद्युत् विकासमा बंगलादेशका कम्पनीहरूको सहभागिता, माथिल्लो कर्णालीबाट उत्पादन हुने ९०० मेगावाटमध्ये बंगलादेशले आयात गर्ने ५०० मेगावाट, नेपाल–बंगलादेशबीच नवीकरणीय ऊर्जा क्षेत्रमा विशेषगरी सोलार होम सिष्टममा सहयोग, द्विपक्षीय क्षमता वृद्धिसम्बन्धी उपक्रम, जेडब्लूजीको आगामी पाँचौं बैठक लगायत विषय पनि बैठकका एजेन्डा बन्ने छन्।
सुनकोशी–३ (६८३ मेगावाट) क्षमताको जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिएको छ। खिम्ती शिवालय (१५४७ मेगावाट) मा पनि उसले चासो देखाएको छ। बंगलादेशले नेपालमा जलविद्युत् आयोजना निर्माण गरी विद्युत लैजान चाहेको छ। बंगलादेशमा ऊर्जाको ठूलो माग र अभाव भएकै कारण उर्जा समस्या समाधान गर्न उसले लगानी गर्न चाहिरहेको हो।
अहिले बंगलादेशले भारतबाट १२ सय मेगावाट बिजुली आयात गर्दै आएको छ। तर, दुई देशबीच उर्जा व्यापारका लागि प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत व्यापारका लागि भारतको बाटो भएर लैजानुपर्ने प्राविधिक कारणले गर्दा समस्या देखिएको छ। भारतले अहिलेसम्म त्यसका लागि अनुमति दिइसकेको छैन। यस विषयमा पनि बिहीबार बस्ने सचिवस्तरीय बैठकमा छलफल हुने बताइएको छ।
अधिकारीहरूले भारतले सहमति नदिएसम्म आयोजना अघि बढाउन कठिन हुने बताइरहेका छन्। बंगलादेशले भारतलाई समेत सहभागी गराएर सुनकोशी–३ आयोजना निर्माण अघि बढाउनुपर्ने प्रस्ताव राखे पनि नेपालले बंगलादेश र नेपालले नै टुंगो लगाउनुपर्ने बताउँदैआएको छ।
सुनकोशी–३ अर्धजलाशययुक्त आयोजना हो। उक्त आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको भदौ ७ गते बंगलादेशको तर्फबाट त्यहाँका विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले अनुगमन गरिसकेको छ।
२०७५ साउन २५ मा भएका बैठकमा नेपालले जलविद्युत् क्षेत्रमा सहकार्यका लागि बंगलादेश समक्ष पाँच वटा जलविद्युत् आयोजनाको प्रस्ताव गरेको थियो। जसअन्तर्गत सुनकोशी– ३ मा बंगलादेशले पहिलो चरण अन्तर्गत चासो देखाएको हो। उक्त आयोजनाको अनुमानित लागत १ खर्ब ७४ अर्ब ९६ करोड रुपैयाँ लाग्ने भनिएको छ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुनेछन्। आयोजनाबाट ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्ने छ। यसका लागि ३ हजार ३०० हेक्टर निजी जग्गा अधिग्रहण गर्नु पर्नेछ। त्यसैगरी, ६५५ हेन्टर वन क्षेत्रको जग्गा पर्नेछ।
आयोजनाबाट ११ हजार ७०० जनसंख्या विस्थापित हुने देखिएको छ। वार्षिक रूपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदमा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
