आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
ओलीले भने 'सत्ता गठबन्धन हुँडारको जत्था'
हाल निर्वाचन लक्षित अभियानका क्रममा देशका विभिन्न भागमा आउजाउ गरिरहेका रहेक नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्ता-गठबन्धनलाई ‘हुँडारको जत्था’ भनेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका गठबन्धन दललाई उनले 'असंवैधानिक ढंगले, गैरकानूनी ढंगले एमालेलाई चारतिरबाट टोकेर सिद्ध्याउन खोजेको' आरोप लगाएका थिए।
"जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघ, सिंह र स्यालले पहिले सिकारको हत्या गर्छ अनि मात्र मासु खान्छ, हुँडार यस्तो जनावर हो, जिउँदैमा टोक्दै खान्छ, कुनै जीव मर्दा उसले आधा खाइसकेको हुन्छ," चुनाव प्रचार क्रममा धरान पुगेका ओलीको टिप्पणी थियो।
यसका साथै दलको निर्णयविरुद्ध गएर स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई एमालेका मतदाताले भोट नदिने उनको ठोकुवा थियो। ‘‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने," पूर्वप्रधानमन्त्री ओलीले 'बागी' उम्मेदवारहरूलाई लक्षित गर्दै भने।
वाचा गर्न खप्पिस ओलीले धरानको जनतालाई कोशीको पानी पिलाउने आश्वासन पनि दिन भ्याए। खानेपानीका लागि कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी दिगो व्यवस्थापन गर्न सकिने बताएका थिए।
--------------
अझै गठबन्धनको औचित्य पुष्टि गर्दै प्रचण्ड
आम निर्वाचन सात घुम्ती पार गरेर दैलो आई पुग्दासम्म पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता-गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल अझै सत्ता र चुनावी साझेदारीको औचित्य प्रस्ट्याउँदै छन्।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका दाहालले आज आयोजित एक चुनावी सभामार्फत आफ्नो क्षेत्रका मतदातासमक्ष संविधान लोकतन्त्र विरोधीबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको भनेर पुनः प्रस्ट्याएका छन्।
आफ्नो हरेक भाषणमा झैँ उनले फेरि नेकपा (एमाले) का अध्यक्ष ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाएका थिए। ओलीकै कारण संविधान धरापमा परेको र आफ्ना अडानका कारण प्रतिक्रान्ति टरेको दाहालले टिप्पणी गरेका थिए।
--------------
१० दिनभित्र नहटे काठमाडौंका नदी किनारका सुकुम्बासी बस्ती भत्काउने चेतावनी
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ। शुक्रबार सूचना जारी गर्दै समितिले नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको छ।
‘काठमाडौं उपत्यकाभित्रका बागमती र यसका सहायक नदी किनारामा तोकिएको मापदण्डभित्र अनधिकृत रूपले बनाइएका घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनका कारण नदीको दुवै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचनामार्फत सूचित गर्दा पनि उक्त सूचनाको बेवास्ता गरी हालसम्म पनि नदीको दायाँबायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मंसिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधन हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, शुक्रबार जारी गरिएको सूचनामा भनिएको छ।
तोकिएको अवधिभित्र नदी किनारा खाली नगरेको खण्डमा समितिले काठमाडौं महानगरपालिका एवं अन्य सरोकारवाला निकायसँग सहयोगले लिएर अनधिकृत संरचना भत्काउने बताएको छ। क्षेत्र खाली गर्दा गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने चेतावनी पनि दिइएको छ।
--------------
चितवन–१ : ठूला दलमा आन्तरिक किचलो, असन्तुष्टलाई तान्दै स्वतन्त्र पार्टी
आन्तरिक किचलोका कारण चितवन–१ मा एमाले उम्मेदवार सुरेन्द्र पाण्डे र कांग्रेस उम्मेदवार विश्व पौडेलले कार्यकर्ता परिचालन गर्न नसक्दा स्वतन्त्र पार्टीले भने आक्रामक चुनावी प्रचार गरिरहेको छ।मुकेश पोखरेलको रिपोर्ट, सविस्तारमा: चितवन–१ : ठूला दलमा आन्तरिक किचलो, असन्तुष्टलाई तान्दै स्वतन्त्र पार्टी
--------------
चितवन-२ को चुलिँदो चर्चा
नेपालमा निर्वाचनको मौसम शुरु भए लगत्तै केही चुनावी क्षेत्रहरू विशेष रूपमा चर्चित रहने गरेका छन्। यीमध्ये केही क्षेत्र ऐतिहासिक 'सिट' का लागि चर्चामा रहन्छन्, केही 'लेगेसी' को लडाइँले गर्दा, केही पुराना प्रतिद्वन्द्वीका बीच टक्करका कारण भने केही क्षेत्र चुनावी अंकगणित र सम्भावित हारजितको लेखाजोखाका कारण चर्चित हुन्छन्।
आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको पृष्ठभूमिमा यस्ता रोचक कन्स्टिट्युएन्सी मध्ये चितवनको क्षेत्र-२ पनि परेको छ - एउटा यस्तो क्षेत्र जहाँ पहिलेका निर्वाचनमा खासै हल्ला बिना निर्वाचन सम्पन्न हुन्थ्यो।
तर, यसपालि 'घण्टी अभियान'को केन्द्रबिन्दु रहेको यो क्षेत्र र यहाँ भइरहेका विभिन्न दलका चुनावी दौडाहालाई निकै रोचकताका साथ हेरिएको छ।
टिभीमा जनसरोकारका विषयमा कार्यक्रम चलाएर निकै लोकप्रिय भएका मिडियाकर्मी रवि लामिछानेले उम्मेदवारी दिएपछि यो क्षेत्रको चर्चा चुलिएको हो।
यस क्षेत्रमा पारम्परिक शक्तिहरू एमाले र कांग्रेसबाट कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। पोखरेलले चितवन-२ मा यस अगाडिका दुई आमनिर्वाचनमा लगालग जित हासिल गरेका थिए भने व्यवसायी पृष्ठभूमिबाट राज्यमन्त्री बनेका कांग्रेस नेता उमेश श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
अहिले यो क्षेत्रमा भइरहेका चुनावी गतिविधिहरू सञ्चारमाध्यममार्फत निकै चाखका साथ हेरिएका, सुनिएका र पढिएका छन् भने विभिन्न सामाजिक सञ्जालमा पनि चितवन -२ बारे निकै चासो देखिएको छ।
--------------
राप्रपाको राजधानीमा शक्ति प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा चुनाव प्रचारका क्रममा आमसभामा गरेको छ। कार्यक्रमलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताले सम्बोधन गरेका थिए।
उक्त सभामा राप्रपाका वरिष्ठ उपाध्यक्ष, काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रले माओवादी केन्द्र अबको केही वर्षभित्र पेन्डुलम बनेर विलय हुने बताएका थिए।
यसअघि राप्रपाको पोखरामा आयोजित सभालाई अभिनेत्री मनीषा कोइरालालगायतले सम्बोधन गरेका थिए। कोइरालाले सो कार्यक्रममा बीपीलाई अरूले नबुझे पनि राप्रपाका अध्यक्ष लिङ्देनले बुझेको भनेकी थिइन्।
--------------
प्रकाशमान सिंहका लागि घर दैलो गर्दै बाबुराम भट्टराई
राजनीतिमा स्थायी शत्रु र मित्र नहुने कथन आए दिन बन्ने, बिग्रिने र बदलिरहने राजनीतिक समीकरणले पुनः पुष्टि गरिरहन्छन्। आ-आफ्नै स्वार्थअनुसार बन्ने र आफू अनुकूल नाम दिइने यस्ता सम्बन्धमा कहिले एकअर्काको टाउकोको मूल्य तोक्ने विरोधी पनि एक्कासि मिल्न पुग्छन् भने कतै बिलकुलै विपरीत ध्रुवका सैद्धान्तिक रुझान भएका पक्षहरू एउटै बिन्दुमा उभिन पुग्छन्। यस्तो परिदृश्यमा निर्वाचनका बेला झन् धेरै 'उभार' आउँने गरेको छ- चाहे त्यो २०७४ को निर्वाचन ताका होस् वा हालको आसन्न निर्वाचन।
हाल चुनावी प्रचारका क्रममा दिनदिनै यस्ता रोचक दृश्य देख्न पाइन्छ, जहाँ कुनै बेला एक अर्कासँग पर-परसम्म सम्बन्ध नभएका हस्ती गठबन्धनको हवाला दिँदै हातेमालो गर्दै आपसको प्रसार गर्दै हिँडिरहेका हुन्छन्।
यही सिलसिलामा आज शुक्रबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई काठमाडौं-१ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी प्रकाशमान सिंहका लागि मत माग्दै गरेको भेटिएका थिए। सिंहको क्षेत्रमा घरदैलो गर्दै उनले नेकाका नेतालाई भोट दिन मतदातासमक्ष अपिल गरेका थिए।
"सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा हुन्छ, तर यो निर्वाचन विशिष्ट छ। हामीले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ त्यसमाथि नै प्रहार भएकोले यो प्रतिगामी शक्तिका विरुद्ध हाम्रो अग्रगमनकारी शक्तिहरूको गठबन्धन हो यो," भट्टराईले प्रस्ट्याएका थिए।
"प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ, स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ। हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधान रक्षा हुन्छ। त्यसैले उहाँको पक्षमा मत माग्न आएको हुँ", भट्टराईले सिंहलाई मत दिनुपर्ने कारणबारे बताए।
--------------
सर्लाही–२ : सत्ता गठबन्धनकै दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
सत्ता गठबन्धनबाट लोसपाका राजेन्द्र महतो र माओवादी केन्द्रको चिह्न लिएका महेन्द्र राय यादव दुवै उम्मेदवार भएपछि कांग्रेस समर्थकको मत निर्णायक हुने भएको छ। पढ्नुहोस् रितेश त्रिपाठी र आदित्य नेपालको संयुक्त रिपोर्ट: सर्लाही–२ : सत्ता गठबन्धनकै दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
--------------
खुल्ला ठाउँमा आगो बाले महानगरको कारबाही
काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्न निषेध गर्दै सूचना जारी गरेको छ।
खुल्ला रूपमा आगो बाल्दा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको उक्त सूचनाका उल्लेखित छ।
कसैले यस निर्देशन विपरीत कतै आगो बालेमा वा फोहोर गरेमा काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन– २०७७ बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ।
--------------
अर्थ: मूल्यवृद्धिले कीर्तिमान बनाउँदा महँगो भयो भान्सा
गत भदौमा मूल्य वृद्धिदर ६ वर्षयताकै सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। धान्नै मुस्किल हुने गरी मूल्यवृद्धि हुँदा पनि सरकारले नियन्त्रण गर्न नसकेको सर्वसाधारणको गुनासो छ। विस्तृतमा केशु लामिछानेको रिपोर्ट: मूल्यवृद्धिले कीर्तिमान बनाउँदा महँगो भयो भान्सा
--------------
खेल : नेपाल बन्यो साफ यू–१५ महिला च्याम्पियनसिप उपाधि विजेता
नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि हात पारेको छ। शुक्रबार बंगलादेशमा आयोजित लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि हासिल गरेको हो।
नेपालका लागि सुशीला केसीले गोल गरेकी थिइन्। नेपालले पहिलो हाफमै १-० गोलको अग्रता लिएको थियो, तर बंगलादेशकी रुमा अख्तेरले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी गरेकी थिइन्।
उक्त प्रतियोगितामा नेपालले अपराजित रहँदै चार खेलबाट ३ जित र १ बराबरीसहित १० अंक जोडेको थियो भने आयोजक बंगलादेश २ जित र १ बराबरीसहित ७ अंकमा सीमित रहँदै दोस्रो भयो।
--------------
विदेश : दक्षिण कोरियामा फेरि बढ्यो कोभिड संक्रमित संख्या
बिहीबार मध्यरातसम्म कोभिड–१९ संक्रमितको संख्या ५४ हजार ५१९ जना थपिएपछि दक्षिण कोरियामा हाल कुल संक्रमितको संख्या दुई करोड ६० लाख ९१ हजार पुगेको छ। गएको २४ घण्टामा मात्र यहाँ ५४ हजार ५१९ जना संक्रमित थपिएका हुन्।
अघिल्लो हप्ता यहाँ बढीमा ४७ हजारमा मात्र संक्रमण देखिएको थियो भने यो साता संक्रमितको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो। पछिल्लो दिनमा मात्रै ४० जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
