‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।

तस्वीर : सजिता ढकाल

ललितपुर – विनोद ढुंगेलले सम्पादन गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको पुस्तकको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठलगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। विभिन्न १९ विधागत पत्रकारितालाई समेटिएको पुस्तक शुक्रबार सञ्चार रजिस्ट्रार कार्यालयमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पुस्तकले नेपालको सञ्चार क्षेत्रमा आफ्नो अलग्गै स्थान राख्ने विश्वास व्यक्त गरे। “सञ्चारकर्मीहरू, पत्रकारहरू जो यसबारे जान्न चाहन्छन्, इच्छुक छन्, उनीहरूका लागि यो एउटा राम्रो संग्रहणीय र महत्त्वपूर्ण पाठ्य सामाग्री हो,” उनले भने। उनले विधागत पत्रकारिता हाते पुस्तक विश्वविद्यालयका तहको पाठ्यपुस्तकको रूपमा उपयोगी हुने समेत बताए।

उनले प्रदेशभित्रका सञ्चारमाध्यमले भोगिरहेका केही अप्ठ्याराहरूलाई सहजीकरण गर्न प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ संशोधन प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको, भदौ १८ गते प्रदेशसभा बैठकमा यो विषय छलफलको क्रममा अगाडि जाने जानकारी दिए। “सञ्चारमाध्यम व्यवस्थापन ऐन– २०७५ हामीले जुन संशोधन गर्नका निम्ति अहिले प्रदेशसभामा पठाएका छौँ र विश्वास छ त्यो संशोधन हुनेछ,” उनले भने।

पुस्तकबारे प्रकाश पार्दै सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारहरूलाई आ-आफ्नो ‘बिट’मा काम गर्न सजिलो होस् भन्ने उद्देश्यसाथ हाते पुस्तक प्रकाशन गरिएको बताए। उनले आफू पनि बिटमा पत्रकारिता गरेर आएको उल्लेख गर्दै समस्याबारे अवगत भएकाले यस्तो पुस्तक प्रकाशन गरेको जानकारी दिए। उनले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्बन्धित विषयमा लेखिदिन आग्रह गरेको तर साथ नपाएको गुनासो गरे। जसका कारण पुस्तकमा केही विषय छुट्न गएको उनको भनाइ छ।

“हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्बन्धित विषयमा लेखिदिनुस् भनेर अनुरोध गरेका थियौँ। स्वीकार्यताको एक-डेढ महिनापछि समय दिन भ्याउँदिनँ भनेर छाड्दिनुभयो। त्यस्तो धोका पाइसकेपछि अर्को मान्छेलाई लेख्न लगाउन सक्ने अवस्था नभएर केही विषयहरू छुटेका छन्,” उनले भने। उनले आगामी दिनमा प्राप्त हुने सल्लाह तथा सुझावलाई स्वागत गरिने पनि बताए।

कार्यक्रममा सञ्चारिका समूह नेपालकी निवर्तमान अध्यक्ष नीतु पण्डितले लैंगिक विभेदका आधारमा महिलाहरूले धेरै नै उत्पीडन खेप्नुपरेको उल्लेख गर्दै प्रदेश सञ्चार रजिस्टारको कार्यालयले महिला र बालबालिका छुट्टै विधाको रूपमा समावेश गरिदिएको भन्दै धन्यवाद व्यक्त गरिन्।

कार्यक्रम प्राध्यापक रामकृष्ण रेग्मी, कानून मन्त्रालयका सचिव ध्रुव गैडा, लेखक प्राध्यापक रामकृष्ण रेग्मी, पुस्तकका सम्पादक विनोद ढुंगेललगायतको पनि उपस्थिति रहेको थियो।