५० प्रतिशत ऊर्जा सौर्य र वायुबाट लिने व्यवस्था गर्न इप्पानको माग

सौर्य ऊर्जा उत्पादनमा मुख्य समस्या जग्गा उपभोगको रहेको भन्दै इप्पानले समयाअनुकूल सरकारले नीतिहरू परिमार्जन गर्नुपर्ने माग गरेको छ।

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले कुल जडित क्षमताको ५० प्रतिशत ऊर्जा सौर्य र वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेपालमा जलविद्युत मात्रै नभएर सौर्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै कुल जडित क्षमताको ५० प्रतिशत ऊर्जा सौर्य तथा वायुबाट लिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो। 

शुक्रबार इप्पानले नेपालमा सौर्य ऊर्जाको नीति र अवस्था विषय अन्तरक्रिया कार्यक्रममा सरकारसँग यस्तो माग गरेको हो। इप्पानले अफ ग्रिड मोड अफ अपरेसनको व्यवस्था हटाउन पर्ने बताएको छ। नेपालमा १०.३० प्रतिशत हेक्टर खेतीयोग्य निजी जमिन बाँझो रहेको भन्दै बाँझो जमिनको १.२ प्रतिशत जग्गा सौर्य ऊर्जा उत्पादनको लागि काफी हुने इप्पानले जनाएको छ। पछिल्लो समय नेपालमा जलविद्युत‍्मा मात्रै प्राथमिकता दिइएको भन्दै खोला र नहर क्षेत्रको माथिल्लो भागको जग्गा सौर्य ऊर्जा उत्पादनका लागि उपलब्ध गराउने नीति लिन आवश्यक रहेको बताएको छ। 

सरकारले वैकल्पिक ऊर्जाको उत्पादन वृद्धिका लागि विद्युत् खरिद मूल्यमा पुनरावलोकन, घरायसी नेट मिटरिङलाई प्राथमिकता र जलविद्युत् आयोजना अनुमतिप्राप्त कम्पनीको सोही प्रसारण लाइन उपयोग गरी सौर्य आयोजना उत्पादन गर्नेलाई विद्युत् खरिदबिक्री सम्झौताको मासिक ऊर्जा संशोधन गर्नुपर्ने बताएको छ। 

इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकाससँगै वैकल्पिक सौर्य ऊर्जालाई पनि सँगै लैजान आवश्यक रहेको बताए। उनले नेपालमा करिब ४३ हजार मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सक्ने अवस्था रहेको बताउँदै जलविद्युतमा मात्रै नभएर सरकार र निजी क्षेत्र यसको विकासमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले पछिल्लो समय भारत र चीनसमेत सौर्य ऊर्जा उत्पादनमा लागि रहेको भन्दै नेपालमा पनि त्यो सम्भावना राम्रो रहेको बताए। 

अध्यक्ष कार्कीले अबका १० वर्षमा देशभित्रै १० हजार विद्युत् खपत गर्नुपर्ने भनाइ राखे। उनले नेपालले अबको १० वर्षमा बंगलादेशमा ५ हजार विद्युत् निर्यात गर्ने अपेक्षाका साथ अगाडि बढेको बताए। उनले भारत, बंगलादेश र चीनमा विद्युत् निर्यातको विषय आएकाले अबको १० वर्षमा ३० हजार विद्युत् निर्यात गर्न सक्नेगरी योजना बनाएर जानुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै, विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले दिउँसो उत्पादन हुने सोलारलाई स्टोर गरेर बेलुकाको पिक समयमा विद्युत् प्राधिकरणलाई दिनको लागि ठाउँ–ठाउँमा सोलार स्टोरेज प्रणाली राख्न सकिने बताए। उनले सोलारको ब्याट्री स्टोरेज गर्दा महँगो भए पनि विद्युत् प्रवर्द्धक र सरकार दुवैलाई फाइदा गर्ने बताए। उनले सोलारको स्टोरेजको लागि कार्ययोजना लिएर आउँदा जलविद्युतलाई १२ रुपैयाँ ४० पैसासम्ममा दिइरहेकाले सोलारमा पनि दिन सकिने बताए। जलविद्युतको विकासमा विद्युत् नियमनले गरेको जस्तै सौर्य ऊर्जामा पनि गर्न सकिने उनको भनाइ छ।

इप्पानले नेपालमा प्रतिमेगावाट ग्रिड जडित सौर्य आयोजनबाट न्यूनतम १ करोड २४ लाखदेखि १ करोड ५३ लाख आम्दानी गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेको छ। तर नेपालमा नीतिगत स्थिरता नहुँदा सौर्य ऊर्जा उत्पादनमा पनि समस्या रहेको भन्दै उत्पादन अनुमतिपत्रको समयावधि बढाउने पर्ने आवश्यकता रहेको बताएको छ। सौर्य ऊर्जा उत्पादनमा मुख्य समस्या जग्गा उपभोगको रहेको भन्दै इप्पानले समयाअनुकूल सरकारले नीतिहरू परिमार्जन गर्नुपर्ने माग गरेको छ।