देउवाले मनोनीत गरे १५ विभाग प्रमुख, कुनमा को?

केन्द्रीय समितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभाग गठन गर्ने समयसीमाको अन्तिम दिन शुक्रबार देउवाले १५ विभागको प्रमुख तोकेका छन्।

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनीत गरेका छन्।

केन्द्रीय समितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभाग गठन गर्ने समयसीमाको अन्तिम दिन देउवाले १५ विभागको प्रमुख तोकेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद फौडेलका अनुसार केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय, पुष्पा भुसाल महिला, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार, किरण यादव तराई—मधेश समन्वय विभागको प्रमुखमा मनोनीत भएका छन्।  

यसैगरी, योगेन्द्र चौधरी थारु, गेहेन्द्र गिरी ज्येष्ठ नागरिक समन्वय, आंगेलु शेर्पा पर्यटन, डा. रणबहादुर रावल गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिन आदिवासी जनजाति, प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनीत भएको मुख्यसचिव पौडेलले जनाएका छन्। 

त्यस्तै, सभापति देउवाले रंगमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय एवं समन्वय तथा सीता थपलियालाईलाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनीत गरिएको छ।