आत्मालोचनासहित जनतामा गएका छौँ: प्रधानमन्त्री

माओवादीले शनिबार तीन महिने रूपान्तरण अभियान शुरू गरेको छ। सो क्रममा २५ लाख मतदाताको घरमा पुग्ने जनाएको छ।

काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी आत्मालोचनासहित शनिबारदेखि रूपान्तरण अभियानमार्फत जनतामाझ गएको बताएका छन्। 

शनिबार बिहान ‘जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान’को पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले आफूहरू सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफी माग्ने उल्लेख गरे। नेपाली समाजको परिवर्तनका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै उनले सो क्रममा गल्ती कमजोरी भएको हुन सक्ने बताए।

“हामीले जनतालाई विस्वास दिलाउनु पर्छ, नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्न सक्छ,” उनले भने, “कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ, हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित घरदैलोमा आएका छौँ।”

माओवादीले शनिबारदेखि तीन महिने रूपान्तरण अभियान शुरू गरेको छ। सो क्रममा २५ लाख मतदाताको घरमा पुग्ने जनाएको छ।