जोहानेसवर्ग आगलागी: १२ बालबालिकासहित ७६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ। यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन। 

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा  ७६ जनाको मृत्यु भएको छ। अन्य ८८ जना घाइते भएका छन्। 

शुक्रबार राति दुई जना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७६ पुगेको समाचार संस्था एपीले जनाएको छ। ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी जलेको स्वास्थ्यमन्त्री जो पहालाले जानकारी दिए। 

ज्यान गुमाउनेमा २० जना विदेशी नागरिक पनि छन्। कामको खोजीमा दक्षिण अफ्रिका पुगेका मलावी र तान्जानियाका आप्रवासीको मृत्यु भएको जनाइएको छ। प्रिटोरियास्थित तान्जानियाको उच्चायुक्तको कार्यालयले आफ्नो देशका पाँच जनाको जलेर ज्यान गएको पुष्टि गरेको छ।

शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीयहरू जबरजस्ती बसेका थिए। घरबारविहीन व्यक्ति कुनै औपचारिक भाडा सम्झौता बिना नै बसेका थिए।

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ। यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन। 

बिहीबार घटनास्थलको भ्रमण गर्नुभएका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त दुर्घटना भवन कब्जा गर्ने र घरबारविहीनलाई त्यहाँ बस्न अनुमति दिने आपराधिक तत्त्वका कारण भएको बताएका छन्। उनले महानगरको आवास समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एवं स्थानीय सरकारलाई संवेदनशील हुन आग्रह गरे। 

जोहानेसवर्गको आवास संकट समाधान गर्न सरकार गम्भीर नभएको भन्दै शहरका पूर्वप्रमुख हर्मन मशाबाले राष्ट्रपति रामाफोसाको आलोचना गरे। 

दक्षिण अफ्रिकामा घरबारविहीनहरू विविध कारणले बिग्रे भत्केका तथा राज्यले परित्याग गरेका भवनमा बलपूर्वक बस्ने गरेका छन्। त्यस्ता घर ‘ कब्जा गरिएका भवन’का रूपमा  चिनिन्छन्।