बीआरआईलाई राष्ट्रको हितमा कसरी प्रयोग गर्ने सोच्नुपर्ने बेला आएको छ : सभामुख

दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको सभामुख देवराज घिमिरेको भनाइ छ।

काठमाडौँ– सभामुख देवराज घिमिरेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चीनको महत्त्वाकांक्षी कार्यक्रम ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’(बीआरआई)लाई देशले लाभ उठाउन सक्नेगरी अगाडि बढाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने भन्ने गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका हुन्।

उनले एमसीसीको बारेमा धेरै चर्चाहरू चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गरे। “यो एउटा प्रतिस्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ।

“एमसीसीको बारेमा धेरै चर्चाहरू चलिरहेका छन्, बीआरआईको बारेमा त्यस हिसाबको चर्चा नचले पनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनताको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ,” उनले भने। सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताए।

उनले भौगोलिक विकटताका बाबजुद पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए। यद्यपि, नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने उनको भनाइ छ।

सभामुख घिमिरेले राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताए। उनले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, संघीय समावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको उल्लेख गरे। उत्पादनमा वृद्धि गरी देशको अर्थ व्यवस्था उच्च बनाउनुपर्ने उनको भनाइ छ।