माओवादी नेतृत्वको सरकार छ अपराध गरे पनि बचिन्छ भन्ने भ्रममा नपर्न गृहमन्त्री श्रेष्ठको चेतावनी

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो र ९ किलो सुनको तस्करी प्रकरणको अनुसन्धान जारी रहेको बताए। उनले माओवादी नेतृत्वको सरकार छ बचिन्छ भन्ने भ्रममा नपर्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी भएकै कारणले कुनै अपराधीले छुट नपाउने दाबी गरेका छन्।

शनिबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान कार्यक्रमलाई ललितपुरको बाँडेगाउँमा सम्बोधन गर्दै उनले अनुसन्धानले अपराधी पुष्टि गरेमा माओवादीका नेता–कार्यकर्ता नै भए पनि कानूनी कठघरामा ल्याउने बताएका हुन्।

उनले अहिले ६० किलो र ९ किलो सुनको तस्करी प्रकरणको अनुसन्धान जारी रहेको बताए। उनले माओवादी नेतृत्वको सरकार छ बचिन्छ भन्ने भ्रममा नपर्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।

“अहिले ६० किलो सुनको तस्करी र ९ किलो सुनको तस्करीको अनुसन्धान गरिरहेका छौँ। सरकारको कुरा के छ भने– जो सुकै परोस् दोषी र अपराधी छन् भने अनुसन्धानले त्यसको पुष्टि गर्छ भने कानूनको कठघरामा ल्याउने छौँ। कुन पार्टीको, कोसँग कस्तो सम्बन्धको मान्छे मतलब छैन,” उनले भने, “कोही माओवादी भएपछि अपराध गरे नि बचिन्छ होला माओवादीको नेतृत्वको सरकार छ सोच्नु पर्देन् अपराधी माओवादी भए पनि कारबाही हुन्छ।”

माओवादी नै नेपालको सबैभन्दा अग्रगामी र राम्रो पार्टी भएको उनको दाबी छ। उनले सामाजिक न्यायसमेतको समृद्धिको कार्यनीति लागू गर्न र समाजवादीको रणनीतिलाई अँगाल्न माओवादीको नेतृत्वले मात्र सम्भव भएको जिकिर गरे।

“माओवादी नै नेपालको सबै पार्टीमध्ये सबैभन्दा अग्रगामी र राम्रो पार्टी हो। र हाम्रो पार्टीले राष्ट्रिय कार्यभार पूरा गर्न सक्छ। अहिले सामाजिक न्यायसमेतको समृद्धिको कार्यनीति लागू गर्न र समाजवादीको रणनीतिलाई अँगाल्न नेपालमा हाम्रो पार्टीको नेतृत्वले मात्र सम्भव छ,” उनले भने।

मन्त्री श्रेष्ठले सरकारले अहिले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान चलाइराखेको भन्दै त्यसले आमजनतामा आशा पैदा गरेको जिकिर गरे।