तटस्थ भएर निर्वाचन गराउन मतदान अधिकृतलाई प्रमुख आयुक्त थपलियाको निर्देशन

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ र निष्पक्ष भएर पूरा गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिएका छन्

चितवन– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए।

मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गरे।

'निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउनुहोस्'
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले विवेकले मत हाल्न पाउने अवस्था सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई आग्रह गरेका छन्।

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका हुन्। 

उनले दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिइएको स्पष्ट परे। उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह गरे।

प्रमुख आयुक्त थपलियाले भने, “मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा (कुदृष्टि) लगाएमा, सम्झनुस्, त्यो तपार्ईँका विरुद्धको कुदृष्टि हो, त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस्।”