रूपान्तरण अभियानपछि माओवादी केन्द्र ‘ट्र्याक’मा आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीले बीचमा बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो महसुस भएकाले त्यसलाई ट्र्याकमा ल्याउने उद्देश्यले अभियान थालिएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानले बिराएको बाटोबाट पार्टीलाई ट्र्याकमा ल्याउन सफल हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार चन्द्रागिरिमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीचमा पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो महसुस भएको भन्दै त्यसलाई फेरि ट्र्याकमा ल्याउने उद्देश्यले अभियानको शुरू भएको बताएका हुन्।  

“जनतासँग माओवादी विशेष रूपान्तरण महाअभियानको शुरूआत माओवादीले आफैँबाट गर्नुपर्छ। बीचमा कहीँ कतै बाटो बिराएको जस्तो, जनतासँग सम्बन्ध कमजोर भएको जस्तो थियो, अहिले फेरि हाम्रो बाटो ट्र्याकमा ल्याउने र जनतासँगको सम्बन्ध जीवन्त तुल्याउने उद्देश्यले अभियान थालेको हो,” उनले भने, “यसले देशमा सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्ने आशा छ।”

उनले संख्याको बलका आधारमा नभएर इतिहास र शहीदले बगाएको रगतको तागतमा ३२ सिट ल्याएर पनि आफू प्रधानमन्त्री बनेको टिप्पणी गरे। साथै विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन आफूलाई मिलेको भन्दै नेपालकै इतिहासमा यस्तो कहिल्यै भएको दाबी गरे।

“संख्याको बलको आधारमा म प्रधानमन्त्री भएको होइन। ३२ सिटले प्रधानमन्त्री हुने तागत राख्दैन। ९० सिट र ८० सिट भएका पार्टीहरूको अगाडि हाम्रो इतिहासको तागत शहीदले बगाएको रगत र बेपत्ताको त्याग र तपस्याको तागतले, राजनीतिक अजेन्डाको तागत र नेता कार्यकर्ता साथै मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतले ३२ सिट भए पनि प्रधानमन्त्री र देशको नेतृत्व गर्ने अवसर पायौँ,” उनले भने। 

माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले शनिबारदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गरेको छ। गत साउन तेस्रो साता काठमाडौँमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी दिने माओवादी केन्द्रको भनाइ छ। पार्टीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ। जसअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ लाई शनिबार अध्यक्ष दाहालले सम्बोधन गरेका थिए।