साइकल लेन छुट्याउन कन्जुस्याइँ गरिँदै छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्य सरकारले नीति निर्माण गर्दा साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउँछन्।

काठमाडौँ– वरिष्ठ कलाकार हरिवंश आचार्यले शहरमा पैदलयात्री, साइकलयात्री र ह्विलचियरमैत्री सडकको आवश्यकता औँल्याएका छन्। 

काठमाडौँ आयोजित सडक अधिकार र स्वच्छ वायुका लागि नागरिक भेलामा आचार्यले शहरको भौतिक संरचना साइकलयात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताएका हुन्। नयाँ सडक संरचनाहरू बनिरहे पनि साइकल लेन छुट्याउन कन्जुस्याइँ गरिएको आचार्यको गुनासो छ।

“नयाँ संरचनाहरू बनिरहेका छन्, नयाँ रिङरोड बनिरहेका छन्, तर त्यसमा पनि साइकल लेन छुट्याउन कन्जुस्याइँ गरिरहेका छौँ। ह्विलचियरमैत्री सडकलाई प्राथमिकता दिनुपर्छ। शहरको नीति निर्माणमा साइकलयात्रा र ह्विलचियरयात्राका लागि राम्रो नीति बनाउनुपर्छ,” उनले भने।

उनले काठमाडौँका सडकहरूमा साइकल चलाउने वातावरण नभएको गुनासो गरे। उनले स्वच्छ वायुका लागि पनि साइकलयात्रा उपयुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए। उनले मानव स्वास्थ्यका लागि पनि साइकलयात्रा उपयुक्त हुने बताए। डिजेल तथा पेट्रोलका सवारीसाधनले बढाउने प्रदूषण घटाउन साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने उनको भनाइ छ।

उनले साइकल चलाएर हिँड्ने रहर पूरा गर्न नसकेको गुनासो गरे। “साइकल चलाउन सक्छु, तर साइकल चलाउने ठाउँ छैन। साइकल चलाउँदा खेरी ज्यानको माया मारेर चलाउनुपर्छ। मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाइकलले संसारलाई नै प्रदूषित गर्दिसक्यो। शहरमा हिँड्दा खेरी मोटरसाइकलले हान्दिएला भन्ने डर हुने बेला आइसक्यो। डरैडरले हिँड्नुपर्ने ठाउँमा साइकल लिएर हिँड्नुपर्ने एकदमै जोखिमपूर्ण हुन जान्छ,” उनले भने।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले पनि शहरमा यात्रुमैत्री सडक हुनुपर्ने आवश्यकता औँल्याए। उनले सडक सवारीसाधनको मात्रै नभएको पैदलयात्री, साइकल र ह्विलचियरयात्रीका लागि पनि भएको बताए। 

“सबैको सुरक्षामा ग्यारेन्टी हुने खालको सडक व्यवस्थापन गर्नुपर्छ। सुरक्षाको व्यवस्थापन गर्नुपर्छ। आज हाम्रो वायु प्रदूषण कसरी भइरहेको छ ? हामी सबैलाई थाहा छ। संसारमै प्रदूषणयुक्त शहर मध्ये नेपाल पनि एक हो। वायु प्रदूषण भइरहेको छ। सडकको क्षमताभन्दा बढी गाडी गुडाइरहेका छौँ। जसले धुवाँ अस्वाभाविक ढंगले फालिरहेको छ,” उनले भने।

पैदलयात्री, साइकल र ह्विलचियरयात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो।