एमालेमा गुटबन्दी नभएको उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको दाबी

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनीतिक, वैचारिक र सांगठानिक रूपले एकताबद्ध रहेको र यसलाई कसैले कमजोर पार्न नसक्ने उनीहरूको भनाइ थियो।

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीमा गुट नरहेको दाबी गरेका छन्। एमाले लुम्बिनी प्रदेश अधिवेशनका अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले पार्टीभित्र कुनै पनि प्रकारको गटबन्दी नभएको दाबी गरेका हुन्। 

उपाध्यक्ष पौडेलले आफू र महासचिव पोखरेलका बीच गुट रहेको भन्ने खबरबाट तरंगित नहुन नेता-कार्यकर्तालाई आग्रह गरे। लुम्बिनी प्रदेश अधिवेशनलाई केन्द्रित गरेर आफू र महासचिव पोखरेलबीच गुटबन्दी भएको चर्चा भइरहेको भन्दै उनले आफूले कुनै गुटबन्दीमा विश्वास नगर्ने दाबी गरे। पार्टीभित्र आफ्नो भविष्य नदेख्ने र दासत्वमा रमाउनेहरूले गुटबन्दी गर्दै हिँड्ने उनको भनाइ थियो।

“पार्टीभित्र आफ्नो भविष्य नदेख्नेहरूले गुटबन्दी गर्छन् विष्णु पौडेलले गुटबन्दीमा विश्वास गर्दैन,” उनले भने। ४५ वर्षको पार्टी जीवनमा कहिल्यै गुटबन्दी नगरेको उनको दाबी छ। उनले गुट हुर्काउने प्रवृत्तिलाई शुरूआतदेखि नै निमिट्यान्न पार्ने पनि बताए।

उपाध्यक्ष पौडेलले एमालेभित्र नेतृत्व, नीति र विधिको प्रश्नमा कुनै मतभेद नभएको स्पष्ट पारे। आफू र महासचिव शंकर पोखरेलका बीचमा लडाउने र एमालेभित्र विवाद होस् भन्ने चाहना राख्नेहरूका चाहना पूरा नहुने पनि उनले सुनाए।  

उनले बाहिर बसेर एमालेमा विग्रहको अपेक्षा गर्दै भविष्यवाणी गर्नेलाई नेता–कार्यकर्ताहरूले लुम्बिनी अधिवेशनको माध्यमबाट जवाफ दिनुपर्ने बेला आएको बताए।

सोही कार्यक्रम एमाले महासचिव पोखरेलले आफू र पार्टी उपाध्यक्ष पौडेललाई जोडेर पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे। उनले नेताहरूलाई जोडेर भइरहेको षड्यन्त्र कदापि पूरा नहुने बताए।

महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनीतिक, वैचारिक र सांगठानिक रूपले एकताबद्ध रहेको र यसलाई कसैले कमजोर पार्न नसक्ने बताए।

“प्रदेश अधिवेशनको बीचमा उपाध्यक्ष विष्णु पौडेल र मलाई जोडेर जुन प्रकारका समाचारहरू सम्प्रेषण भएका छन् सम्पूर्ण प्रतिनिधिहरूले त्यसलाई मिथ्या साबित गर्नुहुने छ। र यो अधिवेशनलाई एकताको अधिवेशनका रूपमा सम्पन्न गर्नुहुने छ,” उनले भने।

उनले अहिले पार्टीभित्र प्रतिस्पर्धा नगरी देशलाई समृद्ध बनाउनतर्फ लाग्नुपर्ने बताए। देशमा विदेशी शक्तिको इसारामा नाचिरहेको गठबन्धनलाई पराजित गर्नका तयारी गर्नुपर्ने उनको भनाइ छ।