पथरी ११ ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकपमा फिदिम स्पोटिङ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै पथरी ११ फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।

ताप्लेजुङ– पथरी ११ फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। फिदिम स्पोटिङ क्लब पाँचथरलाई २–० गोलअन्तरले पराजित गर्दै पथरीले सेमिफाइनलको यात्रा तय गरेको हो। 

पथरीका दीपक राईले ३८औँ मिनेटमा गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। उनले लङ रेन्ज बल प्रहार गरेर जाली चुमाएका हुन्। यस्तै, ४६औँ मिनेटमा पथरीकै नीरज परियारले अर्को गोल थपे। कर्नरबाट प्रहार गरेको क्रस बललाई हेडिङमार्फत परियारले सुन्दर फिनिसिङ दिए। 

शनिबार भएको खेलको म्यान अफ द म्याच पनि नीरज नै बने। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। पथरीले अब सेमिफाइनलमा जुट विकास फुटबल एकेडेमी इटहरीसँग प्रतिस्पर्धा गर्ने छ।

यसैबीच आइतबार हुने क्वाटरफाइनल चरणको अन्तिम खेलमा रेडस्टार फुटबल क्लव विर्तामोड झापा र युनाइटेड खर्साङ फुटबल क्लब दार्जीलिङबीच दिउँसो ३ बजे खेल हुनेछ। सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता गत बिहीबारबाट शुरू भएको हो। 

लाखेजात्राको अवसर पारेर २०२९ सालदेखि शुरू भएको फुटबल प्रतियोगितालाई यस वर्षबाट भने ताप्लेजुङ गोल्डकपका रूपमा सञ्चालन गर्न थालिएको हो। फाइनल खेल २० गते हुनेछ।

विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउने छ। यस्तै उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ पाउने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।