स्पेनी प्रधानमन्त्रीले भने– हाम्रा खेलाडीले विश्वलाई पाठ सिकाएका छन्

चुम्बन प्रकरणले विवादित बनेका स्पेनी फुटबल महासंघका प्रमुख लुइस रुबियालेसले राजीनामा दिन अस्वीकार गरेका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्ना महिला फुटबल खेलाडीहरूले विश्वलाई पाठ सिकाएको बताएका छन्।  

विश्वकप फुटबलमा स्पेनी फुटबल महासंघका प्रमुख लुइस रुबियालेसको चुम्बनको विषयलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन्। “हाम्रा खेलाडीले दुई पटक जितेका छन्, पहिले खेलबाट र अहिले महिला र पुरुषबीच समानताको पाठ विश्वलाई सिकाएर,” उनले भने।

गत साता महिला विश्वकपको फाइनलमा विजयी भएपछि स्पेनी फुटबल महासंघका निलम्बित प्रमुख रुबियालेसले चुम्बन गर्न स्वीकृति नलिएको भन्दै स्पेनिस मिडफिल्डर जेनी हर्मोसो महिला खेलाडीको सामूहिक हडतालमा सामेल भएको थिइन्। 

प्रधानमन्त्री सान्चेजले खेलाडीको अडानको प्रशंसासमेत गरेका छन्।  

गत साता महिला खेलाडीको युनियन फुटप्रोले जारी गरेको एक वक्तव्यमा हर्मोसो र अन्य ८० खेलाडीले स्पेनिस फुटबल महासंघ (आरएफईएफ) मा वर्तमान नेतृत्व जारी रहे अन्तर्राष्ट्रिय आह्वान स्वीकार नगर्ने बताएका थिए।

उता, चुम्बन प्रकरणले विवादित बनेका रुबियालेसले धेरैको अपेक्षाविपरीत राजीनामा दिन अस्वीकार गरेका छन्। शुक्रबार स्पेनको खेल अदालतले रुबियालेसले जबर्जस्ती चुम्बन गरेको आरोपमा अनुसन्धान गर्न सहमति जनाएको थियो। 

रुबियालेसले भने ‘सत्य प्रमाणित गर्न’ आफ्नो बचाउ गर्ने बताएका छन्।