राप्ती नदी बस्तीमा पस्ने डरले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन्। त्यहाँ नदीले दिनहुँ जसो कटान गरिरहेको छ।
राँझा– वर्षात् शुरू भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शंकर यादव राम्ररी निदाउन सकेका छन्। “बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ,” उनले भने, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षात्को समय जाग्राम बस्नुपर्छ।”
राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन्। राप्तीको तल्लो तटीय क्षेत्रमा नदीले दिनहुँ जसो जमिन कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको यादवको भनाइ छ।
राप्ती सोनारी गाउँपालिका–२ देखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका स्थानीय वर्षेनी त्रासमा छन्। कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डे दिपुले बताए। “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले गतवर्ष भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ,” पाण्डेले भने, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ।”
तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नम्बर वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गंगापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा जोखिम मडारिएको स्थानीय सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताए।
नदी नियन्त्रणका लागि वर्षा शुरू भएपछि थुपारेका ढुंगासँगै अघिल्ला वर्षमा बनाएका तटबन्धसमेत राप्तीले बगाएको छ। तारजालीबिनै खसालेका ढुंगा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडियाका दुर्गाप्रसाद पाण्डेले बताए। “२०७९ असोज २३ गतेको बाढीले यहाँको दुई हजार ५०० मिटर तटबन्ध र सडक भत्कायो,” पाण्डेले भने, “बचेको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ।”
जोखिमा रहेका वस्ती र घर–परिवारको सुरक्षाका लागि २०७९ असोज २८ गते नै जनताको तटबन्ध फिल्ड कार्यालयलाई पत्राचार गरे पनि चासो नदिएका कारण राप्ती सोनारीको वडा नम्बर ६, ७ र नरैनापुरको ५ र ६ नम्बर वडाका बस्ती डुबान र कटानको उच्च जोखिममा रहेको राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले बताए।
राप्ती नदीले राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगन्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको स्थानीय अगुवा माधव पौडेलले जानकारी दिए। “नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ,” पौडेलले भने, “नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आए पनि चासो नदिँदा कृषियोग्य जमिन तीव्र रूपले नदीको कटानमा परिरहेको छ।”
राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भंगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेको अर्का स्थानीय रामदास थारुको भनाइ छ। राप्ती नदीको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने उनले बताए। “नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ। कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ,” उनले भने, “खेतीयोग्य जमिन कटान गरेर नदी गाउँनजिक आइसकेको छ, हाम्रो पीडा सुनिदिने निकाय कोही भएन।”
जनताको तटबन्ध कार्यालयले जिल्लाको केही स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिरहेको छ। कार्यालयले प्रभावित क्षेत्रभन्दा पहुँचको आधारमा तटबन्ध योजना दिने गरेको स्थानीयको आरोप छ। दक्षिणतिरबाट राप्ती नदीले कटान गर्दै जाँदा गाउँ नै जोखिममा परेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्र ओलीले बताए। “राज्यले यही ठाउँबाट नदीजन्य पदार्थ संकलन गरेर करोडौँ राजस्व उठाउँछ। तर, नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदैन,” वडाध्यक्ष ओलीले भने, “यहाँका जनता वर्षौंदेखि राप्ती नदीबाट पीडित छन्। सरकारले अहिलेसम्म कुनै पनि तटबन्धको योजना दिएको छैन।”
आफ्नो वडामा पर्ने अगैयादेखि राजपुरसम्मको करिब २८ किलोमिटर क्षेत्रलाई राप्ती नदीले कटान गर्दै आएको उनले बताए। “गाउँपालिकाले राप्ती नदी नियन्त्रणका लागि आफूसँग पर्याप्त बजेट नभएको बताउँछ,” ओलीले भने, “नदी नियन्त्रण हुन नसक्दा जनता सधैँ त्रासमा बस्न बाध्य छन्।’
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले राप्ती नदीले धेरै ठाउँमा कटान गरेकाले गाउँपालिकाको बजेटबाट मात्र नदी नियन्त्रण गर्न सम्भव नभएको बताए। “गाउँपालिकाको सबै बजेट खर्च गर्दा पनि नदी नियन्त्रण गर्न सम्भव छैन,” उनले भने, “अहिले जनताको तटबन्ध कार्यक्रममार्फत काम भइरहेको छ। राप्ती नदी नियन्त्रणका लागि संघीय सरकारले नै ठूलो आयोजना बनाउनुपर्छ।”
राप्ती नदी संरक्षणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालन हुँदै आएको छ। तर, तटबन्धको कार्यक्रम द्रुत गतिमा नहुँदा संरक्षणको काम पनि प्रभावित भएको छ। राप्ती नदीमा आउने बाढीका कारण अति जोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुंगाको साहरामा नदी नियन्त्रणको काम गरिएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए।
बाढी र अन्य विपद्बाट यस वर्ष बाँकेका २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ। बाढीलगायत आगलागी, भूकम्प, शितलहरजस्ता विपद्बाट २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुने पूर्वानुमान गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
