गुनासो सुनुवाइ संयन्त्रहरूले जनताको मुहार उज्यालो बनाउने गरी काम गर्न सकेनन् : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्वबोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक निकायमा स्थापना गरिएका गुनासो सुनुवाइ गर्ने संयन्त्रहरूले जनताको मुहार उज्यालो बनाउने गरी काम गर्न नसकेको बताएका छन्।

आइतबार ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

उनले आफूहरूलाई महत्त्वको नलाग्ने गुनासो जनताको दैनिक जीवनका लागि महत्त्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न पनि कर्मचारीलाई आग्रह गरे। सार्वजनिक निकायप्रतिको नागरिकका सुझाव अमृतसमान हुने उनको भनाइ थियो।

“अहिले हाम्रा विभिन्न सार्वजनिक निकायमा गुनासो सुनुवाइ गर्ने संयन्त्र रहेका छन्। तर सबै संयन्त्र अझै जनताको मुहार उज्यालो बनाउन सक्ने ऐनाको रूपमा रूपान्तरण हुन सकेका छैनन्,” उनले भने, “जनताका गुनासो तथा जिज्ञासालाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्वबोध गराउन सक्दैन।”

उनले सबै संयन्त्रलाई उत्तरादायित्वबोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जान सक्ने औँल्याए।

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” पछिल्लो समय प्रभावकारी रूपमा सञ्चालनमा हुन सकेको थिएन। आइतबारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ।

नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ। हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ।

त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको जनाइएको छ। गुनासो सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टिमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री दाहालले जानकारी दिए।