संविधान दिवस विविध कार्यक्रमसहित तीन दिन मनाउने सरकारको निर्णय

सरकारले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ।

काठमाडौँ– नेपाल सरकारले संविधान दिवस विविध रचनात्मक कार्यक्रमसहित तीन दिन मनाउने निर्णय गरेको छ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो।

सरकारले असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम गर्ने तय भएको छ। यस्तै, असोज ३ मा सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठमन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस मनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय भएको छ।

यस्तै, असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका र उपत्यकाबाहिर पनि विविध कार्यक्रम गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।