बजेट अभावले तय कार्यक्रम पनि सम्पन्न गर्न नसक्ने अवस्थामा छौँ : मन्त्री आचार्य

बजेटकै अभावका कारण बालसुधार गृह, वृद्धा आश्रमसमेत आवश्यकताअनुसार बनाउन नसकिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको भनाइ छ।

काठमाडौँँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरू पनि सम्पन्न गर्न सक्ने अवस्था नरहेको बताएका छन्। बजेटकै अभावका कारण बालसुधार गृह, वृद्धा आश्रमसमेत आवश्यकताअनुसार बनाउन नसकिने मन्त्री आचार्यको स्पष्टीकरण थियो।

आइतबार संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले बालविवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरू मन्त्रालयसँग अन्तर सम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहेअनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गरे। उनले बालसुधार गृहको क्षमता वृद्धि गर्ने काम आवश्यक भए पनि त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो गरे।

“बाल सुधार गृहका कुराहरू गर्दा देशभरी आठ वटा छन्। चार वटा मन्त्रालयको व्यवस्थापनमा सञ्चालनमा छ। र, बाँकी ४ वटा यूसेफ भन्ने एउटा संस्थाले त्यसको व्यवस्थापन हेरेको छ। त्यहाँ क्षमताभन्दा बढी बच्चाहरूको संख्या छ। त्यसले त्यसको संख्या बढाउनुपर्ने आवश्यकता छ। अर्थ मन्त्रालयले बजेट नदिएको कारण त्यो काम गत वर्ष पनि हुन सकेन,” उनले भने।

बैठकमा बोल्दै समितिका सदस्यहरूले महिला, बालबालिका, ज्येष्ठ नागरिकहरूको समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले संवैधानिक व्यवस्थाअनुसार बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको उचित व्यवस्था हुने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरे। उनले समस्याको समाधान नहुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउने गरेको भन्दै आक्रोश व्यक्त गरे।

“यो लोक कल्याणकारी राज्य हो कि होइन? संविधानको गन्तव्य समाजवाद हो कि होइन? यस दृष्टिकोणले सरकारले कार्यक्रम ल्याओस्। यही कार्यक्रमले समाजवादतिर जान्छ त मुलुक?” उनले प्रश्न गरे। सांसद रिजालले लोककल्याणकारी राज्यको अवधारणाअनुसार अघि बढ्न पनि सरकारलाई सचेत गराए।