ओपनर सञ्जय श्रेष्ठको शतकप्रेरित नेपालसँग कुवेत भेट्रान ४३ रनले पराजित

नेपालले दिएको २६१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्रै बनाउन सक्यो।

काठमाडौँ– ओपनर सञ्जय श्रेष्ठको शतकप्रेरित नेपाल भेट्रान्सले पाहुना टोली कुवेत बादशाह क्रिकेट क्लबलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले कुवेतलाई ४३ रनले पराजित गरेको हो।

यस जितसँगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।

आइतबार नेपालले दिएको २६१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्रै बनाउन सक्यो।

कुवेतका अदिथ कुमाराले ३२ बल खेल्दै सर्वाधिक ७१ रन बनाए। यस्तै, मुहम्मद हफिजले ३८, खुर्रम सहजाद २६, जमशेद अजमद १७ र राहिल खानले १६ रन बनाउँदा समिर भट्टी २६ रनमा अविजित रहे।

नेपालका युनील श्रेष्ठ र उदयबहादुर थापाले २/२ विकेट लिए। खिम थापा, रिकेश लामा र राजु बस्न्यातले १/१ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २६० रन बनाएको थियो।

नेपालका ओपनर सञ्जय श्रेष्ठले ५९ बलमा १४० रनको शतकीय इनिङ्स खेले। उनले पहिलो विकेटका लागि अर्का ओपनर कृतार्थ शाक्यसँग २१२ रनको साझेदारी गरे। शाक्य ५२ बलमा ९७ रन बनाउँदै अविजित रहे। यता, सुमन उदय ९ बलमा १३ रन बनाउँदै अविजित रहे। कुवेतका अदिथ कुमाराले १ विकेट लिए।

नेपाल भेट्रान क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको तेस्रो तथा निर्णायक खेल सोमबार कीर्तिपुरमै हुने छ।