उद्धार जनशक्ति बढाउन गोताखोरको संख्या थप्दै सशस्त्र प्रहरी

कोशी प्रदेशका विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरुको खोजीमा परिचालित हुन अहिले ६ जना मात्रै गोताखोर छन्।

काठमाडाैँ– पानीमुनिको गहिराइमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ।

बराह बाहिनीले काेशी प्रदेश हेर्छ। सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै  बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी आइतबारदेखि गोताखोर तालिम सञ्चालनमा ल्याएको हो। बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वय र सहकार्यमा गोताखोर तालिम संचालनमा ल्याइएको जनाएको छ। बाहिनीले कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा.दीपक काफ्लेको उपस्थितिमा तालिम शुरूआत तथा पहिलो सत्र प्रथम प्रवचन कार्यक्रमको आयोजना गरेको छ।

कोशी प्रदेशमा विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरुको खोजीमा परिचालित हुने गोताखोरको संख्या ६ जना मात्रै छ। सोही संख्यालाई बढाउन तालिमको आयोजना गरिएको बराह बाहिनी पकलीले जनाएको छ। तालिम पश्चात तयार हुने दक्ष जनशक्ति आवश्यक्ताका आधारमा विभिन्न स्थानमा खटिने भएकाले प्रदेशमा खोज तथा उद्धारको कार्य छिटो र छरितो तवरले सम्पादन हुने बराह बाहिनीको विश्वास छ।

कार्यक्रमलाई सम्बोधनका क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपालले विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन दक्ष, साहसिक,  समर्पित र व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको बताए।