काठमाडौँ प्रशासनले भन्यो,–सामाजिक संजालमा जथाभावी वक्तव्यबाजी नगर्नू

कुनै गुनासो भए जथाभावी वक्तव्यबाजी नगरेर तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन प्रशासनले अनुराेध गरेकाे छ।

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले काममा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार नगर्न र सामाजिक संजालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैमा अनुरोध गरेको छ।  

प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा यस्तो अनुरोध गरिएको हो। "असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक संजालमा व्यक्त भएका अभिव्यक्तिप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा भनिएको छ, "यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा अवरोध नपुर्‍याउन र सामाजिक संजालहरूमा जथाभावी वक्तव्यबाजी नगर्न नगरान सबैमा अनुरोध छ।"

शनिबार काठमाडौँ महानगरको गाडी रोकेको भन्दै मेयर बालेन्द्र शाहलेले फेसबुकमा आपत्तिजनक स्टाटस लेखेका थिए। आफ्नी श्रीमती सवार महानगरकाे गाडीलाई ट्राफिक प्रहरीले राेकेकाे भन्दै उनले आक्राेश पाेखेका थिए। 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा कुनै गुनासो भएमा जथाभावी वक्तव्यबाजी नगरेर तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन भनेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नु पर्ने नियमसमेत सम्झाएको छ।

यस्तै, लोकतन्त्र र विधिको शासनले कानूनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानूनको विरुद्ध गरिने गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।