कोरोनाकालका बीमितलाई तत्काल रकम उपलब्ध गराउन ‘रुलिङ’ होस्: एमाले

सरकारले नागरिकका सरोकारको विषयमा बेवास्ता गरिरहेको एमाले सचेतक महेश बर्तौलाको आरोप छ।

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले कोरोनाकालका बीमितहरूको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्। सरकारले बीमाबापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गरेका हुन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सचेतक बर्ताैलाले भने, “विगत चार वर्षदेखि यो देशका एक लाख ५० हजारभन्दा बढी नागरिकहरूले कोरोनाको बीमा गरे। त्यसबापतको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न सकेको छैन। सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन। कुम्भकर्ण निन्द्रामा पर्‍यो। त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस्। तत्काल ती बीमितहरूले पाउनुपर्ने रकम प्राप्त गर्न सकून।” सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको सचेतक बर्तौलाको आरोप छ।

उनले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाइ गर्न पनि सरकारको ध्यानाकर्षण गराए। “मकवानपुरको त्यो मानव निर्मित इन्द्रसरोवर ताल हो। त्यहाँ १०४ मेगावाट बिजुली उत्पादन हुन्छ। त्यो ताल जहाँ ८५ लाख घनमिटर पानी आज त्यो पनि करिब ६२ लाख घनमिटर बाँकी छ। २३ लाख घनमिटर बराबरको पानी हिलो माटो, बेगरले भरिएको अवस्थामा छ। त्यसमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–तत्काल त्यो तालको सरसफाइ र त्यसको संरक्षण गरियोस्,” उनले भने।