जिब्रोमा ‘ब्रेक’ लगाउन जनप्रतिनिधिहरूलाई कांग्रेस सांसद खतिवडाको अनुरोध

कांग्रेस सांसद रामहरि खतिवडाले जनप्रतिनिधिहरूलाई आफ्नो पदीय मर्यादालाई ख्याल गरेर बोल्न अनुरोध गरेका छन्।

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो जिब्रोमा ‘ब्रेक’ लगाएर बोल्न अनुरोध गरेका छन्।

सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरू पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन सांसदले खतिवडाको जनप्रतिनिधिहरूलाई सुझाव दिएका हुन्।

उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरानका मेयर हर्कराज राईले सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। सांसद खतिवडाले जनप्रतिनिधिहरूलाई आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्न आग्रह गरे।

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले भने, “हामी राजनीतिज्ञहरू निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौँ। कोही आगै ओकल्छौँ, सिंहदरबार नै ध्वस्त पार्छौँ भन्छौँ। कोही जातीय राज्य चाहियो भन्छौँ। कोही धर्ममाथि आँच आउने काम गर्छौं । निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु।”

सांसद खतिवडाले गिरिबन्धु टी–स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे। उनले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै उनले भने, “गिरिबन्धु टी–स्टेटको बारेमा तुरुन्त भएको भ्रष्टाचारको छानबिन गरी कारबाही अघि बढाउन अनुरोध गर्न चाहन्छु।”