कानूनमन्त्री भन्छन्– अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुन्न

कानूनमन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको बताए।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै। तस्वीर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबन्डा नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा सांसद प्रेम सुवालले सत्तासीन दलहरूबीचको भागबन्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि? भनेर प्रश्न गरेका थिए।

मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबन्डा नहुने बताए। उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबीसमेत गरे।

“छिटो, छरितो रूपमा न्याय निरूपणका लागि सर्वोच्च अदालत आफैँले विभिन्न प्रयासहरू गरिरहेको छ भने आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रबन्धमार्फत न्याय सम्पादनलाई छिटो, छरितो बनाउनका लागि नेपाल सरकार क्रियाशील रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु,” उनले भने।

मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए।