एशिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एशिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।

काठमाडौँ– एशिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।

क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा टस हारेर भारतविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो।

नेपालले पहिलो पावरप्लेमा राम्रो शुरूआत गरेको थियो। तर, ११औँ ओभरबाट नेपाली टोली ब्याटिङमा टिक्न सकेन। नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए। यस्तै, अर्का ओपनर आरिफ शेअले ९७ बलमा ८ चौकासहित ५८ रन बनाए। उनीहरूबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी भएको थियो।

कुशल १०औँ ओभरको पाँचौँ बलमा एज लागेर विकेट किपर इशान किशनबाट क्याच आउट भए। त्यसपछि क्रिजमा आएका भीम सार्की, कप्तान रोहितकुमार पौडेल र कुशल मल्ललाई जडेजाले आउट गरे।

क्रिजमा टिकेर खेलिरहेका आशिफ पनि ३०औँ ओभरको पाँचौँ बलमा सर्ट कभरमा विराट कोहलीबाट क्याच आउट भए। त्यसपछि, गुलशन झा पनि ३५ बलमा ३ चौका प्रहार गर्दै २३ रनमा आउट हुन पुगे।

दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाएका छन्। दीपेन्द्र र सोमपालले ५६ बलमा ५० रनको साझेदारी गरेका थिए।

सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्का प्रहार गरे। उनले सन्दीप लामिछानेसँग ३७ बलमा ३४ रनको साझेदारी गरे। सन्दीप भने ९ रन बनाएर रन आउट भए।

करण केसीले २ रन बनाउँदा ललितनारायण राजवंशी शून्य रनमा अविजित रहे।

रविन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए। शर्दुल ठाकुर, हार्दिक पाण्ड्या र मोहम्मद सामीले १/१ विकेट लिए।