व्याख्यात्मक घोषणा स्वीकारबिनै एमसीसी कार्यान्वयन हुँदै छ: एकीकृत समाजवादी

एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले परियोजनाको निरीक्षणका लागि पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको जानकारी दिए। 

काठमाडौँ– सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौताबिनै अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी कार्यान्वयन भइरहेको बताएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौताबिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले परियोजनाको निरीक्षणका लागि पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको जानकारी दिए। 

उनका अनुसार संयोजकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे रहेका छन्। सदस्यमा उपमहासचिव डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, पार्टी सचिव गरिमा शाह रहेका छन्। विषयविज्ञ एक जना राख्ने पनि पार्टीले निर्णय गरेको छ।

उनले समितिले व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंग बनाउन पहल गर्ने बताए। “हाम्रो पार्टी आज पनि व्याख्यात्मक घोषणालाई अंग बनाउन र अंग बनायो कि बनाएर भनेर र कसरी भोलि समस्या पैदा हुन्छन् भनेर त्यसको रेखदेख गर्नका लागि हाम्रो पार्टीले एउटा एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको हो। संसदीय अनुगमन समिति बनाउन र त्यसका लागि पहल गर्नेछ,” उनले भने।