हत्या अभियोगमा प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ

प्रहरीले हत्या अभियोगमा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई पक्राउ गरेको छ।

सप्तरी– हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार राजविराजबाट मधेश प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जनाएको छ। विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साबिकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ। 

सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुर्‍याइ पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप छ। उक्त विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन नआएर सिंह फरार भएका थिए। फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको थिएन।

मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह नौ जनामाथि किटानी उजुरी हालेकी थिइन्। गोविन्द चौधरीको हत्याको आरोमा पक्राउ परेका सिंहलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।