एशिया कप: जितविहीन रहँदै नेपाल बाहिरियो, भारत र पाकिस्तान सुपर फोरमा

वर्षाका कारण खेल प्रभावित भएपछि २३ ओभरमा झारेर खेलिएको थियो। त्यसपश्चात् भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य भारतले कुनै विकेट नगुमाई २०.१ ओभरमा भेट्टायो।

काठमाडौँ– भारत र पाकिस्तानजस्ता बलियो टोली रहेको समूहमा परेको नेपाल एशिया कपबाट बाहिरिएको छ। 

सोमबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो। जितसँगै भारत र आयोजक पाकिस्तान सुपर फोरमा पुगेका छन्। समूह चरणको पहिलो खेलमा पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो। 

भारतसँगको खेल भने वर्षाको कारण रद्द हुँदा पाकिस्तानले १/१ अंक बाँडेको थियो। सोमबार नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो। तर, २.१ ओभरमा १७ रन बनाएर भारतीय ओपनर रोहित शर्मा र शुभमन गिल खेलिरहँदा वर्षाको कारण दोस्रोपटक खेल रोकिएको थियो। खेल करिब ४५ मिनेट रोकिएपछि २३ ओभरमा झारेर खेलिएको थियो। 

त्यसपश्चात् भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याएको भारतले कुनै विकेट नगुमाई २०.१ ओभरमा १४७ रन बनायो। भारतका कप्तान रोहितले सर्वाधिक ७४ रन बनाए। उनले ५९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। गिलले ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रन बनाए। 

नेपालले ६ रन भने ‘एक्ट्रा’ दिएको थियो। त्यसअघि क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर नेपालले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो। नेपालले पहिलो पावरप्लेमा राम्रो शुरूआत गरेको थियो। 

तर, ११औँ ओभरबाट नेपाली टोली ब्याटिङमा टिक्न सकेन। नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए। यस्तै, अर्का ओपनर आरिफ शेखले ९७ बलमा ८ चौकासहित ५८ रन बनाए। उनीहरूबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी भएको थियो। 

कुशल १०औँ ओभरको पाँचौँ बलमा एज लागेर विकेट किपर इशान किशनबाट क्याच आउट भए। त्यसपछि क्रिजमा आएका भीम सार्की, कप्तान रोहितकुमार पौडेल र कुशल मल्ललाई जडेजाले आउट गरे। क्रिजमा टिकेर खेलिरहेका आशिफ पनि ३०औँ ओभरको पाँचौँ बलमा सर्ट कभरमा विराट कोहलीबाट क्याच आउट भए। 

त्यसपछि, गुलशन झा पनि ३५ बलमा ३ चौका प्रहार गर्दै २३ रनमा आउट हुन पुगे। दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाएका छन्। दीपेन्द्र र सोमपालले ५६ बलमा ५० रनको साझेदारी गरेका थिए। सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्का प्रहार गरे। उनले सन्दीप लामिछानेसँग ३७ बलमा ३४ रनको साझेदारी गरे। 

सन्दीप भने ९ रन बनाएर रन आउट भए। करण केसीले २ रन बनाउँदा ललितनारायण राजवंशी शून्य रनमा अविजित रहे। 

रविन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए। शर्दुल ठाकुर, हार्दिक पाण्ड्या र मोहम्मद सामीले १/१ विकेट लिए।